logo
२०८१ मंसिर १३ बिहीवार



दुग्ध उद्योग स्थापना

अर्थ |


दुग्ध उद्योग स्थापना


जाजरकोट समाचारदाता

जाजरकोट, पुस २४ गते । जाजरकोटमा पहिलोपटक दुग्ध चिस्यान केन्द्रसहितको डेरी उद्योग स्थापना भएको छ । रातोपाण्डा युवा कृषि सहकारी संस्थाले भेरी नगरपालिका–११, पुल मटेलामा दुग्ध उद्योग स्थापना गरेको हो । नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बिहीबार सो डेरीको उद्घाटनसमेत गर्नुभयो । उहाँले दुग्ध चिस्यान केन्द्र स्थापना भएपछि कृषकले उत्पादन गरेको दूधले जिल्लाभित्र तथा बाहिरको बजारसम्म पहँुच प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सहकारीका अध्यक्ष ढोले घर्तीले स्थानीय कृषकले उत्पादन गरेको दूध सङ्कलन गरी जिल्लाभित्र र बाहिर बिक्री गर्ने उद्देश्यले एक हजार लिटरको चिस्यान केन्द्रसहितको डेरी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । कृषि क्षेत्र विकास कार्यक्रमबाट चिलिङ भ्याट प्राप्त गरेपछि जिल्लाका कृषकले उत्पादन गरेको दूधलाई सदुपयोग र बजारीकरणमा सहज बनाउन सहकारीले डेरी स्थापना गरेको हो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख जरबहादुर भक्रीले जिल्लामा पहिलोपटक दुग्ध चिस्यान केन्द्र स्थापना हुनु यहाँका पशुपालकका लागि खुसीको विषय भएको बताउनुभयो ।
उहाँले जिल्लामा अब व्यावसायिक पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्ने अपेक्षा गर्नुभयो । कृषि क्षेत्र विकास कार्यक्रमका खेम भट्टले यातायातको पहँुच भएका दूध उत्पादन क्षेत्रमा चिलिङ भ्याट स्थापना गरी दूध सङ्कलन, भण्डारण र बिक्री वितरणमा प्रोत्साहन गर्न सकियो भने दुग्ध उत्पादन कृषक लाभान्वित हुने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?