सिन्धुली समाचारदाता
मरिण (सिन्धुली), पुस २४ गते । अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत बजेट खर्च हुन नसक्दा विकास निर्माणका काममा ढिलाइ भइरहेको बताउनुभएको छ । सिन्धुलीको मरिण गाउँपालिका–४, साहानमा आयोजित तेस्रो मरिण महोत्सव–२०७८ लाई सम्बोधन गर्दै मन्त्री शर्माले सरकारको अहिलेसम्म ३४ प्रतिशत मात्रै बजेट खर्च भएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “समग्रमा पुँजीगत बजेट मात्रै कम खर्च भएको छ । पुँजीगत खर्चलाई बढाउन हामीले ताकेता गरिरहेका छौँ । ”
सुनकोसी–मरिण डाइभर्सनका लागि बिहीबार १० अर्ब रुपियाँ बजेट स्वीकृत गरी सिँचाइ मन्त्रालयमा पठाएको जानकारी दिँदै उहाँले सुरुङको काम, हेडवक्र्ससहित सबै काम गर्ने भनेर उक्त बजेट पठाएको हो । उक्त आयोजनालाई पैसाको अभाव हुन सरकारले हुन दिइन्न भन्नुभयो । मन्त्री शर्माले सरकारले कोभिडको मारमा परेका गरिबलाई १० हजार रुपियाँका दरले राहत दिन हरेक स्थानीय तहमा बजेट पठाइसकेको जानकारी दिनुभयो ।
मरिण गाउँपालिका र उद्योग वाणिज्य सङ्घ मरिण शाखाको संयुक्त आयोजनामा भएको उक्त महोत्सवमा बागमती प्रदेश सांसद लेखनाथ दाहाल, मरिण गाउँपालिकाका प्रमुख पानीराज बम्जन, नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका सदस्य कविराज खत्रीलगायतका वक्ताले महोत्सवको महŒवमाथि प्रकाश पार्नुभएको थियो । स्थानीय कृषि उत्पादन, ऐतिहासिक तथा सांस्कृतिक, धार्मिक स्थलको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले सुरु भएको उक्त महोत्सव पुस २३ गतेदेखि माघ ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न किसिमका एक सयवटा स्टल राखिएको छ ।