गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सामूहिक खेती पद्धति अपनाउन कृषकलाई सुझाव दिनुभएको छ । खेतीयोग्य जमिन घडेरी बनाउँदा खेती हुने जमिन घट्ने क्रम बढेको भन्दै त्यसलाई रोक्न र उत्पादकत्व वृद्धि गर्न समूहिक खेती प्रणाली प्रभावकारी हुने बताउनुभएको हो ।
ललितपुर महानगरपालिका–२१ मा रहेको नख्खु खोलामा खोकना राजकुलो मुहान निर्माणको शिलान्यास गर्दै मन्त्री भुसालले यसका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताउनुभयो । ललितपुरको उत्तर–पश्चिममा अवस्थित खोकना राजकुलो सिँचाइ प्रणाली करिब ३०० वर्ष अघिदेखि सञ्चालनमा आएको मानिन्छ । कृषि उत्पादनमा मुख्य गरी तोरीको तेल र संस्कृतिका हिसाबले परिचित सो क्षेत्रमा सहज सिँचाइ व्यवस्थाका लागि राजकुलो मुहान मर्मत गर्न लागिएको हो । सो राजकुलोको सञ्चालन विगतमा गाउँका मुख्य व्यक्तिबाट हुँदै आएकामा हाल खोकना राजकुलो व्यवस्थापन समिति गठन गरेर सञ्चालन गरिँदै आएको छ ।
स्थानीय कृषकको मागलाई ध्यानमा राखेर आवश्यकता र पहिचानका आधारमा चालू आर्थिक वर्ष मन्त्रालयले मुहान संरक्षणका लागि एक करोड ३२ लाख रुपियाँ र नहर निर्माणका लागि ४० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । संविधानमा उल्लेख गरिएको समाजवादको यात्राका लागि जनताको जीवनस्तर माथि उठ्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भन्नुभयो, “हामीले भनेको समाजवाद हाम्रै सीप र परिश्रमबाट आउने हो । त्यसका लागि हामीले निरन्तर सिर्जनशील काम गर्नुपर्छ । ”
कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले ऐतिहासिक खोकना राजकुलोको संरक्षण र संवद्र्धनमा मन्त्रालयले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै स्थानीय उपभोक्ताले सही सदुपयोग गरेर उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । राजकुलोबाट छम्पी, ठेचो, बुङ्मती, भैँसीपाटी र खोकनाका दुई हजार घरधुरीको करिब १० हजार रोपनी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।