logo
२०८१ बैशाख ७ शुक्रवार



आन्तरिक उडानमा अहिलेसम्मकै धेरै यात्रु

अर्थ |


आन्तरिक उडानमा अहिलेसम्मकै धेरै यात्रु


काठमाडौँ, पुस २६ गते । आन्तरिक हवाई सेवा प्रदायकले सन् २०२१ मा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्ख्यामा हवाई यात्रुलाई सेवा दिएका छन् । कोभिड–१९ सङ्क्रमणका कारण सन् २०२० को धेरै समय जहाज थन्क्याउन बाध्य आन्तरिक हवाई सेवा प्रदायकले सन् २०२१ मा ३५ लाख ४१ हजार ८८८ यात्रु बोकेका हुन् । सन् २०२० मा १४ लाख ५७ हजार ५३९ यात्रुले आन्तरिक उडान गरेका थिए । एकै वर्षको अन्तरमा दोब्बरभन्दा बढी यात्रुले आन्तरिक उडान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्याङ्कले देखाउँछ ।

कार्यालयका अनुसार सन् २०२१ मा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फबाट १७ लाख ९७ हजार यात्रु बाहिरिएका छन् । सोही अवधिमा १७ लाख ४४ हजार यात्रु भित्रिएका छन् । सन् २०२१ मा बुद्ध एयरले सबैभन्दा धेरै १९ लाख १३ हजार यात्रु बोकेको छ । त्यसपछि यती एयरले आठ लाख एक हजार यात्रु बोकेको छ । धेरै यात्रु बोक्नेको तेस्रो स्थानमा श्री एयरलाइन्स छ, जसले पाँच लाख ४० हजार यात्रुलाई उडान सेवा दिएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका लागि आन्तरिकतर्फ सन् २०२१ भने सुखद देखिदैँन । आफूसँग रहेका चारवटा चिनियाँ जहाज पनि नउडाउने निर्णय गरेको निगमले चालू हालतमा रहेको एउटा ट्विनअटरबाट मात्र सेवा दिइरहेको छ । सीमित जहाजबाट मात्र निगमले सन् २०२१ मा जम्मा २० हजार २०० यात्रुलाई मात्र उडान गराएको छ । निगमले सन् २०२० मा आन्तरिकतर्फ २३ हजार ६०० यात्रुलाई सेवा दिएको थियो ।

कोरोना सङ्क्रमणपछि हवाई सेवा प्रदायकले अपनाएको स्वास्थ्य प्रोटोकलका कारण यात्रा सुरक्षित भएकाले आन्तरिक उडानतर्फ आकर्षण बढेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रबन्धक सूर्य खत्रीले बताउनुभयो । “कोरोना सङ्क्रमणको समयमा अन्य सार्वजनिक सवारीको तुलनामा हवाई यात्रा सुरक्षित भएकाले पनि आन्तरिकतर्फ चाप बढेको देखिन्छ,” उहाँले भन्नुभयो । देशभित्रै कतिपय प्रमुख सडक निर्माणको क्रममा रहेको र बाढी पहिरोजस्ता प्राकृतिक विपत्तिले पनि हवाई यात्रा नियमित किसिमको उडानमा बदलिएको उहाँको भनाइ छ ।
सन् २०२१ का आन्तरिक उडानमा अधिकांश नेपाली यात्रु नै रहेको उहाँले बताउनुभयो । तथ्याङ्कअनुसार सन् २०२१ भर ८१ हजार १७२ वटा उडान भएका छन् । यी उडानबाट दुई हजार ४३७ टन कार्गो ढुवानी भएको तथ्याङ्कमा उल्लेख छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?