logo
२०८१ मंसिर ७ शुक्रवार



बैङ्क प्रणाली बाहिर हुन्डीको कारोबार

अर्थ |


बैङ्क प्रणाली बाहिर हुन्डीको कारोबार


काठमाडौँ, पुस २८ गते । बैङ्क प्रणाली बाहिर नगदको अवैध कारोबार बढ्दा त्यसको नकारात्मक असर वैदेशिक रोजगार र त्यसको कमाइले धानेको अर्थतन्त्रमा परेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा वैदेशिक रोजगारमा जाने श्रमिकको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगार ९९ प्रतिशतले बढेको छ तर विप्रेषण आप्रवाह (रेमिट्यान्स) भने पछिल्लो समय क्रमिक रूपमा घट्दै गएको देखिएको छ । जानेको प्रतिशत बढेको तीन महिनामा नै उनीहरूले पठाउने रेमिट्यान्स मापनको आधार नबन्न सक्छ । तर पहिले विदेशमा रहेकाले पनि बैङ्क प्रणालीभन्दा बाहिरी माध्यमको प्रयोग गरी पैसा पठाउँदा वैध कारोकारबाट देखिने रेमिट्यान्स घटेको हो । रेमिट्यान्स घट्नुको मुख्य कारण हो अवैध रूपमा हुने हुन्डीको कारोबार ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार चालू आवको तीन महिनामा रेमिट्यान्स ७.६ प्रतिशतले कमी आएको छ । अमेरिकी डलरसमेत ७.७ प्रतिशतले कमी आएको छ । आव २०७७÷७८ मा विदेश जानेको सङ्ख्या ९६.८ प्रतिशत वृद्धि भई ६६ हजार ३१६ भयो । पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यासमेत ७८.६ प्रतिशतले वृद्धि भई ३४ हजार ८२३ पुग्यो तर बैङ्किङ माध्यमबाट आउने रेमिट्यान्स भने यो पछिल्लो वर्ष ८.१ प्रतिशतले घट्यो । गत वर्षको तुलनामा यस वर्षको तीन महिनामा मात्र वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दोब्बर भएको छ । पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २८६.१ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष २३ प्रतिशतले बढेको रेमिट्यान्स यस वर्ष भने १८.१ प्रतिशतले कमी आएको छ ।

गत वर्ष १४.५ प्रतिशतले बढेको अमेरिकी डलर आयात यस वर्ष १७.५ प्रतिशतले कमी आएको छ । गत वर्ष बैङ्कमार्फत हुने मुद्रा ट्रान्सफर २० प्रतिशतले बढेकोमा यस वर्ष १६.४ प्रतिशतले कमी आएको छ । यो तथ्याङ्कले विदेशी मुद्राको अधिकांश रकम हुन्डीमार्फत नेपाल आउन थालेको स्पष्ट हुन्छ । विदेशी मुद्रा अपचलनबारे अनुसन्धान गर्ने निकायका अनुसार पछिल्लो समय अदृश्य रूपमा हुने हुन्डी कारोबारका कारण नेपाल भित्रिने रेमिट्यान्समा कमी आएको हो । परिदृश्य यस्तो रहे पनि मुलुकको अर्थतन्त्र नै धराशायी पार्ने गैरकानुनी हुन्डी कारोबार नियन्त्रण गर्ने न त कानुन छ न त कुनै संरचना । जसका कारण गैरकानुनी हुन्डी कारोबार थप मौलाउँदै गएको देखिएको छ ।

अर्थतन्त्रको प्रमुख हिस्सा मानिने विदेशी मुद्रा रेमिट्यान्स क्रमिक रूपमा घट्दै जाने र अवैधानिक रूपमा यसको कारोबार हुने क्रम बढे पनि यस्तो कारोबार नियन्त्रण गर्ने ठोस कानुन बनेकै छैन । वित्तीय प्रणालीको नियमन र अनुगमन गर्ने निकाय नेपाल राष्ट्र बैङ्कले जारी गरेका निर्देशनात्मक सूचनाका आधारमा नै यसको अनुगमन तथा नियन्त्रण भइरहेको छ । नेपाल राष्ट्र बैङ्कले हुन्डीलगायतका अवैध कारोबार नियन्त्रणमा आफ्नो प्रत्यक्ष भूमिका नहुने जनाएको छ । तथापि विदेशी मुद्रा र कारोबारलाई बैङ्क प्रणालीमार्फत ल्याउन प्रोत्साहन गर्ने गरी राष्ट्र बैङ्कले विभिन्न सहुलियत दिने गरेको छ ।

रेमिट्यान्स बैङ्कमार्फत ल्याउनेलाई एक प्रतिशत बढी ब्याज दिने र वैदेशिक बचतपत्रको १० प्रतिशत ब्याजको व्यवस्था, नेपाली बढी भएका विदेशी मुलुकमा विभिन्न बैङ्कका सम्पर्क कार्यालय खोल्न लगाउने जस्ता योजना अघि सारेको भए पनि ती योजनासमेत प्रभावकारी बन्न सकेका छैनन् ।
नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले हुन्डीलगायतका गैरकानुनी मुद्रा कारोबार नियन्त्रणमा प्रशासनिक पक्षको सक्रियता प्रभावकारी हुने बताउनुहुन्छ । “हुन्डीको कारोबार नियन्त्रणमा राष्ट्र बैङ्कको प्रत्यक्ष भूमिका त छैन, तर यसको नियन्त्रणका लागि राष्ट्र बैङ्कले गर्नुपर्ने आवश्यक कारबाही बढाउने छ,” उहाँले भन्नुभयो ।

कानुनी व्याख्या नै नभएका कारण ठूलो परिमाणमा विदेशी मुद्राको कारोबार हुन्डीमार्फत हुने गरेको पाइएको छ । कतिपय व्यापारिक संस्थाले विदेशी सामान खरिद गर्दा विदेशी बैङ्कमा खाता खोल्ने र सामानको खरिद मूल्य (बिल बिजक) कम देखाउनेसमेत गरेको पाइएको छ । राजस्व छल्ने उद्देश्यले हुने यस्तो कारोबारको ठूलो रकम हुन्डीमार्फत सामान खरिद गर्ने राष्ट्रमा पु¥याएर भुक्तानी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

राजस्व अनुसन्धान विभागका निर्देशक अर्जुनप्रसाद कोइरालाले विदेशी मुद्राको अपचलन गरी हुन्डीमार्फत हुने कारोबार नियन्त्रण गर्ने कानुनी व्यवस्था नै नभएको बताउनुभयो । उहाँले कानुनमै स्पष्ट व्याख्या नभएका कारण विभागलगायतका निकायले गरेको अनुसन्धान र मुद्दा अभियोजन पक्षसमेत कमजोर हुने गरेको बताउनुभयो । हुन्डीलगायतका गैरकर छलीको कारोबार विभिन्न माध्यमबाट हुने गरेको उहाँले बताउनुभयो ।

शङ्कास्पद मुद्राको कारोबारबारे राजस्व अनुसन्धानबाट अनुसन्धान हुने गरेको छ । राष्ट्र बैङ्कअन्तर्गतको फाइनान्सियल इन्फरमेसन युनिट (एफआईयू)ले समेत यसबारे सूक्ष्म निगरानी गर्दछ । कानुनी अभावका कारण यस्ता गतिविधिको अनुसन्धान र मुद्दा अभियोजनसमेत कमजोर हुने गरेका छन् । पक्राउ परेका अधिकांश हुन्डी कारोबारीहरू कानुनी अस्पष्टताका कारण सजिलै छुट्नेसमेत गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?