logo
२०८१ मंसिर १२ बुधवार



पुँजीगत खर्च बढाउन ताकेता

अर्थ |


पुँजीगत खर्च बढाउन ताकेता


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २८ गते । लक्ष्यअनुसार पुँजीगत खर्च नभएपछि अर्थ मन्त्रालयले विगत केही महिनायता खर्च बढाउने प्रयत्न गरिरहेको छ । विभिन्न मन्त्रालयहरूसँग बारम्बार छलफल गरेर पुँजीगत खर्च बढाउन अर्थमन्त्री जनार्दन शर्मा स्वयंले आग्रह गरिरहनुभएको छ । यसै सन्दर्भमा मङ्गलबार पनि अर्थमन्त्रीले बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न आग्रह गर्नुभएको छ । त्यसका लागि आफूले सबै किसिमको सहयोग गर्ने उहाँको भनाइ थियो ।

मन्त्रालयमा हालसम्मको खर्चको समीक्षा बैठकमा उहाँले आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा सबै पुँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई सचिवहरूलाई आग्रह गर्नुभएको हो । आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको भन्दै उहाँले जसरी पनि खर्च गर्न आग्रह गर्नुभयो ।

‘आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यसका लागि मैले रातको १२ बजे पनि तपाईंहरूलाई सहयोग गर्न तयार छु । ’ मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्न बताउनुहुँदै जसरी पनि खर्च बढाउन आग्रह गर्नुभएको हो । ठूला योजनामा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । ठूला योजनाहरूमा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने उहाँको भनाइ छ ।

त्यस्तै उहाँले विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । हरेक मन्त्रालयमा फाइल बोकेर हिँड्दा ढिला हुने भएकाले अब डिजिटल माध्यममा लैजानुपर्ने उहाँको सुझाव थियो । ‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई/चार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ’, उहाँले भन्नुभयो, ‘यसलाई डिजिटल माध्यममा लैजानुप-यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुप¥यो । टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ । ’ सोमबारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च ९.३९, चालु खर्च ३८.९ र वित्तीय खर्च २५.४१ प्रतिशत खर्च भइसकेको छ । समग्रमा हालसम्म २९.११ प्रतिशत बजेट खर्च भइसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?