logo
२०८१ मंसिर १२ बुधवार



राष्ट्र बैंकको नयाँ प्रावधानले आयातमा करिब ६० प्रतिशतले गिरावट

अर्थ |
प्रदेश |


राष्ट्र बैंकको नयाँ प्रावधानले आयातमा करिब ६० प्रतिशतले गिरावट


लक्ष्मण पौडेल
भैरहवा, पुस २८ गते । रुपन्देहीको बेलहिया नाकाबाट हुने आयातमा करिव ६० प्रतिशतले कमी आएको छ । भैरहवा भन्सार कार्यालयका अनुसार नेपाल राष्ट्रबैंकले ल्याएको नयाँ प्रावधानका कारण आयात घटेको हो ।

राष्ट्र बैंकले १८ वटा शीर्षकका विलासिताका वस्तुहरुको आयातमा अनिवार्य एलसी खोलेर शतप्रतिशत र दुईवटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्दै परिपत्र गरेको थियो । जसकाकारण विलासिताका वस्तुहरुको आयातमा भारी गिरावट आएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत तीर्थराज पासवानले जानकारी दिनुभयो । “राष्ट्रबैंकको परिपत्रअघिसम्म भैरहवा भन्सारमा दैनिक ६–७ सय मालवाहक गाडी जाँचपास हुन्थे, तर पुस पहिलो सातादेखि यो सङ्ख्या घटेर २५० मा झरेको छ”–उहाँले भन्नुभयो ।

नेपाल राष्ट्र बैक केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापन विभागले पुस ५ गतेबाट लागू हुनेगरी ‘क’ वर्गको वाणिज्य बैक र ‘ख’ वर्गको विकास बैकलाई विभिन्न २० वटा हार्मोनिक कोड अन्तर्गतको वस्तुको एलसी खोल्दा अनिवार्य तोकिएको मार्जिन प्रतिशत लिनु भनी परिपत्र गरेको छ । सोही परिपत्रसँगै भैरहवा भन्सारसहित मुलुकका सबै भन्सार कार्यालयमा भारत तथा तेस्रो मुलुकबाट हुने आयात घटेको छ ।

भैरहवा भन्सार कार्यालयले पुस महिनाको लागि दैनिक ३० करोड ४२ लाख लक्ष्य पाएको थियो । तर अहिले दैनिक ६ करोडको हाराहारीमा मात्र राजस्व संकलन गरिरहेको छ । सूचना अधिकृत पासवानले राष्ट्र बैंकले नयाँ प्रावधान ल्याउनुअघि भन्सार कार्यालयले दैनिक ८० करोड रुपियाँसम्म राजस्व सङ्कलन गरेकोे बताउनुभयो ।

मुख्यतया मसला, चकलेट, पेयपदार्थ, सुर्तीजन्य वस्तु, कस्मेटिकका सामान, काठ र फर्निचर, जुत्ता चप्पल, टोपी हेलमेट, टायल, मार्वल, ग्रेनाइट, सिसाका सामान, आर्टिफिसियल ज्वेलरी, तासलगायतका वस्तुमा शतप्रतिशत र हलुका सवारी साधन कार, जीप, भ्यान, मोटरसाइकल, स्कुटरमा ५० प्रतिशत एलसी खोल्दा नै बैकमा भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

भैरहवा भन्सार कार्यालयका अनुसार परिपत्र लागू भएसँगै पछिल्लो १५ दिनमा इलेक्ट्रिक कार, जीप र भ्यानमा ९७ प्रतिशत, चकलेटमा ८० प्रतिशत, काठको फ्ल्याकमा ८० प्रतिशत, माटोको घडामा ९३ प्रतिशत, सिमेन्टको ब्लकमा ९५, फोटोको फ्रेममा १०० र जीप कार भ्यानमा ४३ प्रतिशत कमी आएको छ ।

उद्योगी व्यवसायीहरुले भने अहिलेको व्यवस्थाले साना व्यवसायी मर्कामा परेको बताएका छन् । भारतबाट सामान ल्याएर बेच्ने र केही समयपछि पैसा पठाउने गरेकोमा यो व्यवस्थाले अग्रिममै पैसा फसाएर पूँजि नै ब्लक हुने उद्योगी व्यवसायीको भनाइ छ । राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले नयाँ व्यवस्थाले साना व्यवसायी झनै मर्कामा परेको बताउनुभयो ।

यसअघि उद्याोगी व्यवसायीले बैंक ग्यारेन्टीमा एलसी खोलेर, टिटी अग्रिम झुक्तानी र उधारोमा सामान आयात गर्दैआएका थिए । हाल जारी व्यवस्थाले अनिवार्य शतप्रतिशत रकम पहिल्यै बैंक दाखिला गरेकोले उधारो र एलसीमार्फत काम गर्नेहरु करोबारबाट पछि हटेका हुन् ।

भैरहवा भन्सार एजेन्ट सङ्घका अध्यक्ष मधु पन्थीले विलासी वस्तुको आयात घटाउनका लागि ल्याइएको नयाँ प्रावधान राम्रो रहेको बताउनुभयो । “यसले स्वदेशको उत्पादनलाई प्रोत्साहन गरी विलासी वस्तुको आयात घटाउन सहयोग पुग्छ”–उहाँले भन्नुभयो । यसले सरकारको राजस्व संकलनमा भने असर पुग्ने र लक्ष्य हासिल हुन गाह्रो हुने उहाँले बताउनुभयो ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर प्रादेशिक कार्यालयका कामु निर्देशक जीवनप्रकाश पाण्डेले देश भित्रको विदेशी मुद्राको सञ्चितीलाई सन्तुलनमा राख्न अग्रिम रकम बैकमा दाखिला गरेर मात्रै एलसी खोल्नुपर्ने व्यवस्था लागू गरिएको बताउनुभयो । यही अवस्था रहेमा विदेशी मुद्राको सञ्चिती घटेर जाने र अत्यावश्यक वस्तु पनि आयात गर्न नसकेर अर्थतन्त्रमा गम्भीर समस्या आउने सम्भावनालाई दृष्टिगत गर्दै जोखिम रोक्न यो निर्णय भएको निर्देशक पाण्डेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?