कैलाली समाचारदाता
धनगढी, पुस २९ गते । कञ्चनपुरको भीमदत्त नगरपालिका मझगाउँमा रहेको विमानस्थलको स्तरोन्नति हुन थालेको छ । बुधबार एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी, प्रतिनिधि सभा सदस्यहरू दीपकप्रकाश भट्ट, निरुदेवी पाल र प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनारलगायतले संयुक्त रूपमा विमानस्थलको स्तरोन्नति कार्यको शुभारम्भ गर्नुभएको हो ।
यो विमानस्थल लामो समयदेखि बन्द रहेको थियो । सो विमानस्थलको स्तरोन्नतिमा एक हजार ५०० मिटरको धावन मार्ग, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्डलगायतका आवश्यक संरचना निर्माण हुने भएको छ । कञ्चनपुर क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. दीपकप्रकाश भट्टका अनुसार संरचना निर्माण सकिएलगत्तै महेन्द्रनगर–काठमाडौँ उडान सुरु हुनेछ । विमानस्थल स्तरोन्नतिका लागि सङ्घ सरकार, प्रदेश सरकार, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाको संयुक्त लगानी रहेको छ ।