logo
२०८१ मंसिर १२ बुधवार



बेलहिया नाकाबाट हुने आयात घट्यो

अर्थ |


बेलहिया नाकाबाट हुने आयात घट्यो


लक्ष्मण पौडेल

भैरहवा, पुस २९ गते । रुपन्देहीको बेलहिया नाकाबाट हुने आयातमा करिब ६० प्रतिशत गिरावट आएको छ । नेपाल राष्ट्र बैङ्कले ल्याएको नयाँ प्रावधानका कारण आयात घटेको सम्बद्ध निकाय र व्यक्तिले बताएका छन् । राष्ट्र बैङ्कले अब प्रतीतपत्र (एलसी) खोल्दा आयातकर्ताले विलासिताका वस्तुमा शतप्रतिशतसम्मा मार्जिन राख्नुपर्ने व्यवस्था गर्दै पुस ५ गते निर्देशन जारी गरेको थियो । आयात उच्च भएका कारण तरलता अभाव हुँदै शोधनान्तर घाटा बढेको र विदेशी विनियम सञ्चितिसम्म घटेका कारण अहिले केही वस्तुको आयात निरुत्साहित गर्ने नीति लिएको राष्ट्र बैङ्कले जनाएको थियो ।
राष्ट्र बैङ्कले विलासिताका वस्तु आयातमा अनिवार्य एलसी खोलेर शतप्रतिशत र केहीमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गर्दै परिपत्र गरेको थियो । यही कारण विलासिताका वस्तुको आयातमा गिरावट आएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत तीर्थराज पासवानले जानकारी दिनुभयो ।

“राष्ट्र बैङ्कको परिपत्र आउनुअघिसम्म भैरहवा भन्सारमा दैनिक छ÷सात सय मालवाहक गाडी जाँचपास हुन्थे तर पुस पहिलो सातादेखि यो सङ्ख्या घटेर २५० हाराहारीमा झरेको छ,” उहाँले भन्नुभयो । भैरहवा भन्सार कार्यालयले पुस महिनाका लागि दैनिक ३० करोड ४२ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको थियो तर अहिले दैनिक छ करोड रुपियाँको हाराहारीमा मात्र राजस्व सङ्कलन गरिरहेको छ । सूचना अधिकृत पासवानले राष्ट्र बैङ्कले नयाँ प्रावधान ल्याउनुअघि भन्सार कार्यालयले दैनिक ८० करोड रुपियाँसम्म राजस्व सङ्कलन गरेकोे तथ्याङ्क रहेको बताउनुभयो ।

मुख्यतः मसला, चकलेट, पेयपदार्थ, सुर्तीजन्य वस्तु, कस्मेटिक सामान, काठ र फर्निचर, जुत्ता चप्पल, टोपी, हेलमेट, टायल, मार्बल, ग्रेनाइट, सिसाका सामान, आर्टिफिसियल ज्वेलरी, तासलगायतका वस्तुमा शतप्रतिशत र हलुका सवारीसाधन कार, जिप, भ्यान, मोटरसाइकल, स्कुटर आयातका लागि एलसी खोल्दा नै ५० प्रतिशत बैङ्कमा भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

व्यापारीले भारतबाट सामान ल्याएर बेच्ने र केही समयपछि पैसा पठाउने गरेकामा राष्ट्र बैङ्कको यो व्यवस्थाअनुसार अग्रिम पैसा फसाउँदा पुँजी ‘ब्लक’ हुने उद्योगी व्यवसायीको भनाइ छ । राष्ट्रिय उद्योग व्यापार सङ्घ रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले नयाँ व्यवस्थाले साना व्यवसायी झनै मर्कामा परेको बताउनुभयो । यसअघि उद्योगी व्यवसायीले बैङ्क ग्यारेन्टीमा एलसी खोलेर, टीटी अग्रिम झुक्तानी र उधारोमा सामान आयात गर्दै आएका थिए । हालको व्यवस्थाले अनिवार्य शतप्रतिशत रकम पहिल्यै बैङ्क दाखिला गर्नुपर्ने भएकाले उधारो र एलसीमार्फत काम गर्ने करोबारबाट पछि हटेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?