logo
२०८१ मंसिर १२ बुधवार



दुई वर्षमै चाैंरीको सङ्ख्या दोब्बर

अर्थ |


दुई वर्षमै चाैंरीको सङ्ख्या दोब्बर


राजन राउत

हुम्ला, पुस २९ गते । चाैंरीपालनमा बढी सम्भावना भएको उत्तरी नाम्खा गाउँपालिका–६, लिमीमा दुई वर्षमै चौँरीको सङ्ख्या दोब्बर पुगेको छ । चाैंरीपालन व्यवसायमा किसानलाई आकर्षित गर्न लिमीमा चौँरी स्रोत केन्द्र स्थापना भएपछि चाैंरीको सङ्ख्या दोब्बर भएको हो । चाैंरीपालन विस्तारका लागि २०७६ सालमा स्रोत केन्द्रको स्थापना गरिएको थियो । चार जना चाैंरीदारले स्रोत केन्द्र हेर्दै आएका छन् । केन्द्रबाट छुर्पी, घिउलगायतका दुग्धजन्य वस्तु बिक्रीबाट पनि स्रोत केन्द्रको आम्दानी सुरु भइसकेको छ ।

भेटेरिनरी अस्पताल तथा पशु विकास कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढथापाले दुई वर्षअघि स्थापना भएको लिमीको चाैंरी स्रोत केन्द्रमा सङ्ख्या दोब्बर पुगेको बताउनुभयो । उहाँले स्थापना कालमा ७० वटा चाैंरी खरिद गरेर स्रोत केन्द्र सञ्चालनमा आएकामा अहिले त्यो सङ्ख्या बढेर १४२ पुगेको जानकारी दिनुभयो । अझै धेरै चौँरी गाई ब्याउने अवस्थामा भएकाले यो सङ्ख्या आगामी जेठ असारसम्म अझै बढ्ने बताउनुभयो ।

सम्भावना भएकै कारण कार्यालयले लिमीमा स्रोत केन्द्र स्थापना गरेर व्यावसायिक चाैंरीपालन सुरु गरेको उहाँले बताउनुभयो । यसका लागि दुई वर्ष लगातार एक/एक करोड रुपियाँ बजेटको व्यवस्था गरिएको छ । यस वर्ष पनि चाैंरीपालनकै लागि ५० लाख रुपियाँ बजेटको व्यवस्था कार्यालयले गरेको र त्यसबाट पनि चाैंरीको सङ्ख्या पनि थपिने भएको छ ।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङ लिमीकै तुम्लिङमा स्थापना भएको स्रोत केन्द्रमा चाैंरीको सङ्ख्या छोटो समयमा उल्लेख्य वृद्धि भएको बताउनुभयो । उहाँले खासै आम्दानी नहुने देखिएपछि युवा पुस्ता चाैंरीपालनबाट व्यवसायबाट पलायन हुन थालेकामा फेरि यसतर्फ आकर्षित हुन थालेकोे जानकारी दिनुभयो । विगतमा एउटै घरमा ३० देखि ४० वटा चाैंरी हुने गरेकामा पछिल्लो समय त्यो सङ्ख्या घटेर तीन/चारवटामा झरेको छ । कतिपयले त चाैंरी पाल्नै छोडेको जानकारी दिँदै उहाँले पुनः स्थानीयवासीमा आकर्षण बढ्न थालेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?