logo
२०८१ मंसिर १२ बुधवार

  बन्दाबन्दीले फेरियो व्यवसाय  



 राजमार्ग छेउ थपिए खुला पसल, स्थानीय उत्पादनले पायो बजार

अर्थ |


 राजमार्ग छेउ थपिए खुला पसल, स्थानीय उत्पादनले पायो बजार


हरि कोइराला
उर्लाबारी, पुस २९ गते । बन्दाबन्दीले गाउँमा सञ्चालन गरेको चियापसल बन्द भएपछि मोरङ बेलबारी–१० का मेघराज बस्नेतले पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको चिसाङ–भाउन्ने सडक किनारमा तरकारी पसल सुरु गर्नुभयो । टाउको लुकाउने साधारण घर र अलिकति पाखोबारी मात्र भएका बस्नेतले ब्यापार सुरु गरेको अब चैतमा दुई बर्ष लाग्छ । बन्दाबन्दी सकिए पछि उहाँ सडकको ब्यापारबाट गाउँमा चियापसल गर्न फर्किनुभएन ।

अहिले मेघराज बस्नेत मात्र होइन । उहाँ जस्ता ३० भन्दा बढी ब्यापारी सडक किनारमा मौसम अनुसारको ब्यापार गरिरहेका छन् । मोरङको भाउन्ने र चिसाङ खोला पूर्व र पश्चिममा केरा र मकैको ब्यावसायिक खेती हुने गरेको छ । केरा र मकै मात्र होइन । निगुरो, तरुल र मौसमी तरकारी पनि त्यहाँको ब्राण्ड बनिसकेको छ । मेघराज बस्नेतले भन्नुभयो–मकै बाह्रै महिना उत्पादन हुन्छ । किसानको बारीमै गएर प्रतिकट्ठा आठ हजारदेखि ११ हजार सम्ममा हरियो मकै किन्न पाइन्छ ।

राजमार्गको दुबैतर्फ घना जङ्गल छ । दाउरा ल्यायो, भट्टी लगायो ,अनि पोलेका मकै बेच्यो । अझ चिसाङ खोलाले बगाएर ल्याएका सालका दाउरामा पोलेको मकै खोज्ने ग्राहक धेरै हुन्छन् । २१ महिना भयो, मेघराजले ब्यावसाय थालेको , त्यसयता कहिलै खालि हात घर फर्केको उहाँलाई सम्झना छैन् ।
५१ वर्षीय मेघराजको परिवारमा श्रीमतीसहित चार छोरी र एक छोरा छन् । सडक व्यापारमा परिवारका सबै सदस्यको उत्तिकै सहभागिता छ । मेघराजले भन्नुभयो– कहिले म आउँछु, कहिले श्रीमती । हरिया मकै ठेक्का गर्न गाउँ पनि पस्नपर्‍यो ।

उहाँले दैनिक खर्च कटाएर एक हजारदेखि १२ सय रुपियाँ कमाइ भइरहेको बताउनुभयो । मेघराज कै छेउमा टेकबहादुर याक्खाले तरुल , हरिया मकै र केराको ह्रास लगाएर ब्यापार गर्नुहुन्छ । उहाँकी छोरी नजिकै भट्टी लगाएर मकै पोल्नुहुन्छ । टेकबहादुरले भन्नुभयो– ३ बजे पछि श्रीमती पनि काम सघाउन आउँछिन् । पाँच जनाको परिवार सडक ब्यापारबाटै पालि रहनु भएका याक्खाले भन्नुभयो,काठमाडौंबाट आउने गाडी रोकेर पोलेका मकै खाएर जान्छन् । बिहान हरिया मकै किन्नेको भीड लाग्छ । मौसम अनुसारका तरकारी र निगुरोको सिजनमा ब्यापार झनै चल्ने गरेको उहाँले सुनाउनुभयो ।

शम्भू बस्नेतको पनि परिवार सडकमै मकै पोल्ने र बिक्री गरेर पैसा कमाउनेमा मस्त छ । शम्भुले भन्नुभयो ,बन्दाबन्दीले ब्यावसायिक बनायो । आफै मकै पनि उत्पादन गर्नुहुने बस्नेतले भन्नुभयो – विगतमा मकै किनिदेउ भनेर काँटावालालाई ढोग्नुपथ्र्यो । मकैको खर्च उठाउन गाह्रो थियो । अहिले हरिया मकै बिक्री गर्न थालेपछि ६०/६५ दिनमा एक कट्ठाको मकैबाट घोगा बेच्दा १० हजार आफै पोलेर बेच्दा १८ हजार रुपियाँ आम्दानी लिन सकिन्छ । बस्नेतले भन्नुभयो–जङ्गलको बीचमा भएकोले पानीको समस्या छ । बनले टहरा नबनाउनु भएपछि हरेक ब्यापारीले ग्राहकको सुविधाका लागि बस्ने मुडा , कुर्सीको बन्दोबस्त मिलाएका छन् ।

बस्नेत र याक्खा प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँहरू अरु ३० जना सडक किनारको ब्यापारमै रमाउनुभएको छ । बन्दाबन्दीले अर्थतन्त्र थलिएका बेला सुरु भएको कृषि उपजसँग सम्बन्धित सडक बजार फष्टाएपछि अहिले बेलबारी ८,१० र ११ का र कानेपोखरी ५ र ७ का किसान ब्यावसायिक केरा र मकैखेती बिस्तारमा लागेका छन् । बेलबारी – १० का किसान केशव भण्डारीले भन्नुभयो–हरिया मकै बिक्रीका लागि बजारको अभाव छैन । किसानहरू ३ बाली मकै फलाएर बेच्न थालेको भण्डारीले सुनाउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?