धादिङ समाचारदाता
धादिङ, माघ १ गते । धादिङको नीलकण्ठ नगरपालिका–९, हटिया गाउँलाई लायन्स नमुना उद्यमी गाउँ बनाइने भएको छ । लायन्स नमुना उद्यमी गाउँ कार्य समिति धादिङलगायतका लायन्स क्लबले एक कार्यक्रमको आयोजना गरी ४९ घरपरिवार रहेको हटिया गाउँलाई नमुना उद्यमी गाउँ बनाइने कार्यको थालनी गरेको हो । गरिबीको रेखामुनि रहेका वर्गलाई लक्षित गरी आयआर्जन बढाएर आत्मनिर्भर बनाउने उद्देश्यले उद्यमी परियोजना सुरु गरेको लायन्स क्लबका विश्वेश्वर आचार्यले बताउनुभयोे ।
लायन्स क्लबले विभिन्न जिल्लामा उद्यम विकासका लागि काम गर्दै आएकामा धादिङ जिल्लामा पहिलोपटक लायन्स क्लबले नीलकण्ठ नगरपालिकाको हटिया काम सुरु गरेको हो । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर बनाउने अभियान सुरु गरिएको उहाँ बताउनुहुन्छ । पाँच वर्षको अवधिमा हटिया गाउँलाई नमुना उद्यमी गाउँ बनाउने लक्ष्य रहेको छ । पहिलो चरणमा कृषि क्षेत्रको विकास गरिनेछ ।
कुखुरापालन, बाख्रापालन, मौरीपालनलगायत स्थानीय सम्भावनाका आधारमा होमस्टे र उत्पादित सामानलाई बजारीकरण गर्ने कार्य गरिने भएको छ । भ्युटावर नजिक रहेको हटिया गाउँमा नेवार र गुरुङ जातिको सांस्कृतिक परम्परा रहेकाले पर्यटन विकासबाट आयआर्जन गर्न सकिने उहाँको भनाइ छ । कार्यक्रममा नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले हटियालाई नमुना उद्यमी गाउँ बनाउने लायन्सको अभियानमा सबै सहयोग गर्नुपर्ने बताउनुभयो । क्लबले बाख्रापालन, ट्याक्टर, धान झार्ने मेसिनलगायत कृषि औजारहरू र लुगा सिलाउने मेसिन वितरण गरेको छ ।