logo
२०८१ जेष्ठ ५ शनिवार



स्थानीय तहमा बैकल्पिक माध्यमबाट पठनपाठन गरिदै

अर्थ |
प्रदेश |


स्थानीय तहमा बैकल्पिक माध्यमबाट पठनपाठन गरिदै


बाबुराम देवकोटा
सिन्धुलीमाढी, माघ २ गते । सिन्धुलीमा कोरोना भाईरसको सङक्रमण जोखिम बढेसँगै बन्द गरिएका सामुदायिक विद्यालयले बैकल्पिक माध्यमबाट पठनपाठन सुरु गरेका छन् । कोरोना भाईरसको सङक्रमण जोखिम बढेसँगै माघ १५ गतेसम्म बन्द गरिएका सामुदायिक विद्यालयले विद्यार्थीलाई पढाईसँग बैकल्पिक माध्यमबाट पढाई सुरु गरेको जनाएका छन् । त्यसका लागि सामुदायिक विद्यालयहरुले १५ दिने शैक्षिक क्यालेण्डर बनाएका छन् ।

कमलामाई नगरपालिका– १३ स्थित प्रभात माध्यमिक विद्यालय रानीबासले विदाको सदुपयोग गर्न कक्षा १ देखि ७ सम्मका विद्यार्थीलाई गृहकार्य दिएर पठाएको जनाएको छ । विद्यालयका प्रधानाध्यापक अरुणकुमार थिङले भन्नुभयो, ‘पहिलो चरणमा कक्षा ७ सम्मका विद्यालर्थीलाई प्रत्येक विषयको १० वटाका दरले प्रश्नपत्र तयार गरी दिएर पठाएका छौं । कक्षा ८ देखि १२ का विद्यार्थीलाई पनि तयारी गर्दैछौं ।’

विदाको समयमा गृहकार्य र घुम्ती कक्षामा जोड दिएको जानकारी दिदै उहाँले एक साताका लागि सबै कक्षाका विद्यार्थी लाई गृहकार्य दिएको बताउनुभयो । त्यसपछि टोलैपिच्छे गएर घुम्ती कक्षा सञ्चालन गर्ने योजना बनाएको पनि उहाँले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिका– ५ स्थित जनज्योती मावि फोस्रेटारले पनि विदाको समयमा विद्यार्थीलाई पढाईसँग जोड्न शैक्षिक क्यालेण्डर बनाएको छ । त्यस समयमा कक्षाको तह हेरी अनलाइनकक्षा सञ्चालन, अर्धवार्षिक परीक्षाको उत्तरपुस्तिका चेकगरी नतिजा प्रकाशन, रिपोर्ट कार्ड भर्ने, विद्यालयको वार्षिक योजना तथा अन्यको मध्यावधि मुल्याङकनलगायतका काम गर्ने योजना बनाएको विद्यालयले जनाएको छ ।

विद्यार्थीलाई स्वास्थ्य मापदण्ड पालना गर्न लगाई बोलाएर दुई साताको गृहकार्य दिएर पठाएको सहायक प्रधानाध्यापक योगेन्द्र अधिकारीले बताउनुभयो । जिल्लाका अन्य स्थानीय तहले पनि विद्यालय बन्दको समयमा बैकल्पिक पठनपाठनको व्यवस्था मिलाएको बताएका छन् । विदा अवधिमा सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको सिकाईमा आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाएको गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?