logo
२०७९ असार २० सोमवार



स्वरोजगार बन्दै अपाङ्गता भएका महिला

अर्थ |


स्वरोजगार बन्दै अपाङ्गता भएका महिला


गाईघाट समाचारदाता

गाईघाट, माघ ३ गते । शारीरिक अपाङ्गता भएका यहाँका महिला घरेलु उद्यमतर्फ आकर्षित भएका छन् । सीप सिकेर सानातिना उत्पादन आफैँले गर्दा स्वरोजगार बन्ने र आयआर्जन हुने भएकाले फरक क्षमताका महिला घरेलु उद्योगतर्फ आकर्षित भएका हुन् ।
सवारी दुर्घटनामा दुवै खुट्टा गुमाएकी उदयपुरको त्रियुगा नगरपालिका–१०, बोक्सेकी २९ वर्षीया कल्पना नेपाली बाँसको मुढा बनाउनुहुन्छ । घरेलु तथा साना उद्योग कार्यालय उदयपुरबाट सीप सिकेर उहाँले दुई वर्षदेखि यो व्यवसाय गरिरहनुभएको हो । मुढा बिक्रीबाट मासिक २० हजार रुपियाँसम्म कमाइ हुने गरेको र त्यसैबाट आफ्नो घरखर्च चलेको नेपालीले बताउनुभयो ।

त्रियुगा नगरपालिका–११, गाईघाटकी शान्ता परियार पनि चार वर्षदेखि ढाकाको टोपी उत्पादन गर्दै आउनुभएको छ । सात वर्षअघि प्यारालाइसिस भएपछि दुवै खुट्टा काम नलाग्ने भएपछि उहाँले यो पेसामा हात हाल्नुभएको हो । “प्यारालाइसिस भए पनि हिम्मत हारिनँ र बिस्तारै ढाकाको टोपी बुन्ने काम सुरु गरेँ र अहिले राम्रै आम्दानी गरिरहेकी छु,” परियारले भन्नुभयो ।

ढाकाको टोपीबाट मासिक २५ हजार रुपियाँ कमाइ हुने गरेको उहाँले बताउनुभयो । हातले बुनेका ढाका टोपीको माग बजारमा धेरै छ । बुट्टा हेरेर ५०० देखि चार हजार रुपियाँसम्ममा ढाकाको टोपी बिक्री हुने गरेको छ । गएको तिहारमा टोपी बेचेर डेढ लाख रुपियाँ कमाएको उहाँले बताउनुभयो ।
गाईघाट बजारकी शान्ता चौधरी पनि ढाका कपडाबाट विभिन्न सामग्री तयार गर्दै आउनुभएको छ । उच्च रक्तचापका कारण प्यारालाइसिसबाट देब्रे खुट्टा नचलेपछि घरमा बसेर समय खेर फाल्नुको साटो उद्यमीतर्फ आकर्षित भएकी चौधरीले हस्तकलामा राम्रै सीप हासिल गर्नुभएको छ ।
त्यही सीपबाट मासिक ३० हजार रुपियाँसम्म आम्दानी लिने गरेकी चौधरीलाई भने उत्पादित वस्तुको बजार अभाव रहेको पिरलो छ । “हामी सामान उत्पादन गर्छौं तर कहाँ लगेर बिक्री गर्ने भन्ने सधैँ चिन्ता भइरहन्छ । उचित मूल्य र बजार पाइन्छ कि पाइँदैन भन्ने चिन्ताले सधैँभरि सताइरहेको हुन्छ,” उहाँले भन्नुभयो ।

ताप्ली गाउँपालिका–३, इनामेकी ३९ वर्षीया हर्कमाया मगरलाई पनि बजारको चिन्ता छ । “बजारीकरणको कसैले जिम्मा लिने हो भने जति पनि उत्पादन गर्न सकिन्छ,” बाँसबाट विभिन्न सामग्री उत्पादन गर्दै आउनुभएकी मगरले भन्नुभयो ।
घरेलु उद्यमप्रति आकर्षण बढे पनि बजारीकरणमा भने कुनै पनि निकायले ध्यान नदिँदा उद्यमीहरूमा निराशा पैदा भएको गाईघाट बजारमा कोसेली हाउस सञ्चालन गरिरहनुभएका रुद्रबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “घरघरमा उद्यमी तयार भएका छन् र सामग्री पनि उत्तिकै तयार हँुदै आएको छ तर सोचेअनुरूप बजार नहुँदा उद्यमीले उचित मूल्य पाउन सकेका छैनन् । ”

त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले अपाङ्ता भएका स्थानीय महिलाले उत्पादन गरेका उत्पादनलाई प्रवद्र्धन गर्न प्रदर्शनी तथा बिक्री कक्षका लागि ठाउँ तयार गर्न नगरपालिकाले तयारी गरिरहेको बताउनुभयो । अपाङ्गता भएका महिलाको सीप र कलाबाट उत्पादित वस्तुको प्रयोग बढाउन सके बजारमा आयात प्रतिस्थापनमा समेत ठूलो सहयोग पुग्ने चौधरीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?