logo
२०८१ मंसिर १२ बुधवार



महको मूल्य बढ्दै, उत्पादन घट्दै

अर्थ |


महको मूल्य बढ्दै, उत्पादन घट्दै


जाजरकोट समाचारदाता

जाजरकोट, माघ ३ गते । पकेट क्षेत्र मानिएको क्षेत्रमै यस वर्ष मह उत्पादन घटेको छ । सरकारले केही वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मौरी जोन कार्यक्रम सञ्चालन गरेर किसानलाई अनुदान तथा प्राविधिक सहयोग गर्दै आएको छ तर मह उत्पादन भने घटेको छ ।
जाजरकोटमा गत वर्ष करिब १० टन मह उत्पादन भएकामा यस वर्ष एक टन मात्र उत्पादन भएको कृषि प्राविधिक तथा कृषि विकास कार्यालयका सूचना अधिकारी टोपेन्द्र नेपालीले बताउनुभयो ।

नलगाड नगरपालिका–१, पालीका हरिबहादुर बुढाले गत वर्ष ८७५ किलोग्राम मह बिक्री गरी पाँच लाख रुपियाँभन्दा बढी आम्दानी गर्नुभएको थियो तर यसपालि मह उत्पादन घटेपछि उहाँ निराश हुनुभयो । गत वर्ष ३०० केजीभन्दा बढी मह उत्पादन गर्ने सोही ठाउँका मनबहादुर रानाको ६० घारबाट यस वर्ष २० केजी पनि उत्पादन भएन ।

बुढा र राना जस्तै जिल्लाभर एक हजार १०० भन्दा बढी किसानको समस्या उस्तै छ । व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका किसान मह उत्पादन घटेपछि चिन्तित भएका छन् । गत असोज कात्तिक महिनामा धेरै पानी परेपछि चिउरी र अन्य फूलको रस बगाउँदा मह उत्पादन हुन नसकेको बताइएको छ ।

जिल्ला कृषि विकास कार्यालय जाजरकोटले फूल पर्याप्त नहुँदा उत्पादन घटेको जनाएको छ । मौरीलाई चरन क्षेत्रको अभाव, वनविनाश, अतिक्रमण, जलवायु परिवर्तनलगायतका कारण मह उत्पादन घट्दै गएको कार्यालयको भनाइ छ । सूचना अधिकारी नेपालीले बेमौसमी वर्षात्ले मौरी क्षेत्रका चिउरी र अन्य मौसमी फूलको रस वर्षाले बगाउनु, विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधिक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नुलगायतका समस्याले मह उत्पादन घटेको बताउनुभयो । मह उत्पादन घटेपछि मूल्य भने वृद्धि भएको छ । गत वर्ष प्रतिकेजी ६०० रुपियाँ मूल्य पर्ने मह यो वर्ष प्रतिकेजी एक हजार हाल्दा पनि नपाउने अवस्था छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?