logo
२०८१ मंसिर १२ बुधवार



नवीकरणीय ऊर्जामा लगानी गर्न आग्रह

अर्थ |


नवीकरणीय ऊर्जामा लगानी गर्न आग्रह


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गर्नुभएको छ । युनाइटेड अरब इमिरेट्सको अबुधाबीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था (आइरिना)को १२औँ सम्मेलनलाई आइतबार भर्चुअल सम्बोधन गर्दै मन्त्री भुसालले कम लागतमा उन्नत, स्वच्छ ऊर्जा उत्पादन बढाउन नेपाललाई वित्तीय तथा प्राविधिक सहयोग आवश्यक रहेको बताउनुभयो ।

नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र कम विकसित मुलुक नेपालले विगत र वर्तमानमा विश्वव्यापी कार्बन खपतमा महत्त्वपूर्ण योगादन गरेको जानकारी दिनुभयो । नवीकरणीय ऊर्जाका क्षेत्रमा विश्वसामु नेपालले दरिलो प्रतिबद्धता व्यक्त गर्दै आएको जानकारी गराउँदै मन्त्री भुसालले सन् १९९६ देखि यस क्षेत्रमा राज्यले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी)जस्तो छुट्टै निकाय स्थापना गरेर नवीकरणीय ऊर्जा प्रवद्र्धनलाई विशेष प्राथमिकता दिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हरित जलवायु कोषबाट आधुनिक, प्रभावकारी एवं जलवायुमैत्री स्वच्छ खाना पकाउने ऊर्जा प्रवद्र्धन लागि २१ मिलियन अमेरिकी डलर अनुदान स्वीकृत भएको छ । ”

आगामी सन् २०४५ सम्म नेपाल शून्य कार्बन उत्सर्जन गर्ने मुलुकका रूपमा परिचित हुनेगरी दीर्घकालीन लक्ष्य प्रस्तुत गरिएको बताउँदै मन्त्री भुसालले अन्तर्राष्ट्रियस्तरमा पनि स्वच्छ ऊर्जा व्यापार गरेर कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान गरेको जानकारी गराउनुभयो । मन्त्री भुसालले भन्नुभयो, “आर्थिक एवं प्राविधिक रूपमा नेपालमा ४२ हजार मेगावाट जलविद्युत् उत्पादनको सम्भावना छ । यो नवीकरणीय ऊर्जा हो, वर्षमा ३०० दिन पारिलो हुने भएकाले सौर्य ऊर्जा उत्पादनको सम्भावना पनि छ । ”

अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संस्था (आइरिना) एक अन्तरसरकारी सङ्गठन हो । विभिन्न देशका लागि नवीकरणीय ऊर्जा क्षेत्रसँग सम्बन्धित दिगो ऊर्जाको भविष्य, विशिष्टता केन्द्र, नीतिगत परामर्श, प्रविधि, वित्तीय ज्ञान, क्षमता अभिवृद्धिजस्ता विषयमा सहयोग गर्दछ । युनाइटेड अरब इमिरेट्स् (यूएई)को अबुधाबीमा प्रधान कार्यालय रहेको यस संस्थामा विश्वका १८० राष्ट्र आबद्ध छन् । सन् २००९ को जनवरीमा स्थापना भएको यस संस्थाले प्रमुख रूपमा नवीकरणीय ऊर्जाको स्रोत तथा प्रविधि प्रवद्र्धनमा सहयोग गर्दछ भने आबद्ध सदस्य राष्ट्रको नवीकरणीय ऊर्जाको लक्ष्य हासिलमा सघाउ पु-याउँछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?