logo
२०८१ मंसिर १२ बुधवार



सहकारीमा महिला सहभागिता बढ्दै

अर्थ |


सहकारीमा महिला सहभागिता बढ्दै


बाबुराम देवकोटा

सिन्धुलीमाढी, माघ ४ गते । कमलामाई नगरपालिका–५, मधुटारकी सुजता बरालले सहकारीमा लागेपछि आर्थिक उन्नति मात्रै होइन सामाजिक सम्मान पनि पाउनुभएको छ ।
“तीन वर्षअघिसम्म पाँच रुपियाँ जुटाउन हम्मेहम्मे हुन्थ्यो, आफ्नो आम्दानी एक सुको थिएन । अहिले आफैँ व्यवसायी बनेर आम्दानी गरिरहेकी छु,” उहाँले भन्नुभयो । सहकारीबाट एक लाख रुपियाँ ऋण लिएर बरालले सुरु गर्नुभएको किराना पसल अहिले पाँच लाख रुपियाँभन्दा बढीको भएको छ ।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा रहेको सौगात लघुउद्यम सहकारी संस्थामा सुजतासहित ३५० जना महिला आबद्ध छन् । २०६४ सालमा स्थापना भएको यो सहकारीमा महिला मात्र आबद्ध छन् । बरालको अनुभव छ, “कमाउन थालेपछि समाजमा महिलालाई हेर्ने दृष्टिकोण नै फरक हुँदो रहेछ । ”

यो सहकारी संस्थामा महिलाको आकर्षण धेरै छ । गाउँमै सहकारी संस्था गठन भई बचत तथा कर्जा लगानी गर्न थालेपछि प्रायः घरधन्दामा मात्र सीमित रहने महिलाको सहकारीतर्फ आकर्षण बढेको हो । अन्य सहकारी संस्थामा पनि महिलाको सहभागिता उत्साहजनक छ ।
कमलामाई नगरपालिका–४, ढुङ्ग्रेबासस्थित सिन्धुलीगढी बचत तथा ऋण सहकारी संस्थामा रहेका कुल ९८५ जना सदस्यमध्ये ७९४ जना महिला सदस्य रहेका छन् ।

सो संस्थाका सहसचिव शकुन्तला राई सहकारी संस्थाले भनेकै बेला सस्तो ब्याजमा बिनाधितो कर्जा दिने भएकाले महिलाको गर्जो टर्न थालेको बताउनुभयो । सानोतिनो आर्थिक समस्याका लागि पनि साहुको दैलो चाहर्नुपर्ने अवस्था सहकारीले अन्त्य गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक कारोबारका लागि महिलालाई सहकारीले विश्वास गर्नाले पनि सहकारीप्रति उनीहरूको सहभागिता बढेको हो । ”
कमलामाई नगरपालिका–३, चपौलीस्थित जलकन्या महिला बचत तथा ऋण सहकारी संस्था विगत १० वर्षभन्दा बढी समयदेखि महिलाकै भरमा चल्दै आएको छ । सहकारीमा ६४६ जना सेयर सदस्य छन् । कमलामाई नगरपालिका सामाजिक विकास शाखाका अनुसार उक्त नगरपालिकाभरिमा १३१ वटा सहकारी रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?