नारद कोहार
तौलिहवा, माघ ५ गते । धर्मकाँटा नभएको भन्दै टायल्स र मार्बल आयातमा रोक लगाइएपछि कपिलवस्तुको सुठौली भन्सार नाकाको राजस्व सङ्कलन प्रभावित भएको छ । असोज अन्तिममा भन्सार विभागले सो नाकाबाट टायल्स र मार्बल आयातमा रोक लगाइएको हो । यो भन्सार कार्यालयले वार्षिक डेढ अर्ब रुपियाँभन्दा बढी राजस्व उठाउँदै आएको थियो ।
भन्सार प्रमुख अभिषेक कन्ठले आफ्नै धर्मकाँटा नभएको भन्दै भन्सार विभागले टायल्स र मार्बलको आयातमा रोक लगाएपछि राजस्व सङ्कलन घटेको जानकारी दिनुभयो । यो भन्सार कार्यालयको चालू आर्थिक वर्षका लागि एक अर्ब ९५ करोड रुपियाँ लक्ष्य रहेको छ । चालू आर्थिक वर्षको पहिलो छ महिनाका लागि ९६ करोड रुपियाँ लक्ष्य रहेकामा ८६ करोड रुपियाँ अर्थात् लक्ष्यको ८९ दशमलव ६३ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ । पुस महिनाका लागि १८ करोड रुपियाँको लक्ष्य दिइएकामा १० करोड ७५ लाख रुपियाँ मात्र सङ्कलन भएको छ ।
यस्तै मङ्सिरमा १७ करोड ९८ लाख रुपियाँ लक्ष्य रहेकामा १५ करोड ५९ लाख तथा कात्तिकमा १६ करोड ६६ लाख रुपियाँ लक्ष्य रहेकामा १२ करोड २२ लााख रुपियाँ सङ्कलन भएको थियो । भन्सार विभागको निर्देशन आउनुअघि भने यो कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठाउँदै आएको थियो ।
टायल्स आयातमा ३० प्रतिशत भन्सार महसुल, ५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर तथा मार्बलको आयातमा २० प्रतिशत भन्सार महसुल, १५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ । विभागलाई यसबारे अवगत गराएपछि धर्मकाँटा सञ्चालनका लागि बजेटसमेत आएको तर जग्गा अभावले धर्मकाँटा सञ्चालनमा ढिलाइ भएको उहाँले बताउनुभयो ।