logo
२०८१ मंसिर १२ बुधवार



धानको बीउ परिवर्तन आवश्यक

अर्थ |


धानको बीउ परिवर्तन आवश्यक


शान्ता अधिकारी

चितवन, माघ ५ गते । धान उत्पादन वृद्धि गर्न हाल प्रयोग भइरहेको बीउ परिवर्तन गर्नुपर्ने विज्ञहरूले औँल्याएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनले यहाँ आयोजना गरेको कार्यक्रममा विज्ञहरूले धानको उत्पादन र उत्पादकत्व वृद्धिका लागि आधुनिक प्रविधि र उन्नत जातको बीउ प्रयोग अपरिहार्य भइसकेको धारणा व्यक्त गर्नुभएको हो । चैते धान लगाउने पूर्वसन्ध्यामा आयोजना गरेको उक्त कार्यक्रममा धान उत्पादक कृषक, प्रशोधक (मिलर) र प्राविधिक तथा वैज्ञानिकको सहभागिता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम (नार्क)का वैज्ञानिक डा. रामवरण यादवले धानको बीउ परिवर्तन अहिलेको पहिलो आवश्यकता रहेको बताउनुभयो । उहाँले पछिल्लो समयमा विकास भएको प्रविधिको प्रयोग, वर्णशङ्कर जातको बीउको प्रयोग धान उत्पादनका लागि आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “उत्पादन क्षेत्र साघुँरिँदै, जमिन घट्दै गइरहेको यो अवस्थामा नयाँ प्रविधि प्रयोग नगर्ने हो भने धानको उत्पादन वृद्धि गर्न सकिँदैन । नेपाललाई धान उत्पादनमा आत्मनिर्भर बनाउन, कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरणसँगै सिँचाइ सुविधा वृद्धि र बीउ परिवर्तन अनिवार्य छ । ”
एक नेपालीले वार्षिक सरदर १३७.५ केजी चामल खपत गर्ने गरेको तथ्याङ्क छ । त्यसलाई आधार मान्दा नेपालका लागि ६७ लाख मेट्रिक टन धान आवश्यक पर्छ भने धान उत्पादन ५६ लाख मेट्रिक टनको हाराहारीमा हुँदै आएको छ । धानमा वर्णशङ्कर जातको बीउ प्रयोग, सिँचाइ र चैते धान खेतीलाई वृद्धि गरेको खण्डमा मुलुक धान उत्पादनमा आत्मनिर्भर बन्न सक्छ ।

नेपालका तराई र भित्री मधेसका जिल्ला धान उत्पादनको हिसाबले महत्त्वपूर्ण जिल्ला हुन् । केही हिमाली जिल्लाबाहेक प्रायः सबै जिल्लामा धान खेती हुने गरेको छ । नेपालको कुल गार्हस्थ उत्पादनमा धानको योगदान ७ प्रतिशत छ भने कृषिमा धानको योगदान १५ प्रतिशत हाराहारीमा छ । तर पनि यो खेतीमा व्यावसायिक रूपमा लाग्ने कृषक १० देखि १२ प्रतिशतमात्र छन् । नेपालमा आफ्ना लागि धान उत्पादन गर्ने ५० प्रतिशतभन्दा बढी छन् भने बढी भए बिक्री गर्नेको प्रतिशत ३८ देखि ४० प्रतिशत छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?