logo
२०८१ मंसिर १२ बुधवार



महामारीका कारण सुस्ताउँदै उद्योग

अर्थ |


महामारीका कारण सुस्ताउँदै उद्योग


नवराज कट्टेल

विराटनगर, माघ ६ गते । सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा कार्यरत मजदुरमा कोरोनाको तेस्रो लहरको प्रभाव बढेसँगै औद्योगिक क्षेत्र सुस्त बनेको छ । कोभिडको तेस्रो लहर र मौसमी रुघाखोकीको प्रभावमा मजदुर परेपछि त्यसको असर उत्पादनमा पर्न थालेको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं बोहोरा ग्रुपका सञ्चालक अविनाश बोहराका अनुसार मजदुर बिरामी परेर काममा आउन छाडेका छन्, जसको असर उत्पादनमा पर्ने उद्योगी बोहराले जानकारी दिनुभयो ।

बोहराले भन्नुभयो, “प्रशासन र उद्योगमा कार्यरत कर्मचारी र मजदुरमा समस्या बढ्दै गएको छ । बिरामी भएको कारण देखाउँदै २५ प्रतिशत मजदुर काममा आउन सकेका छैनन् । ” कोभिडको तेस्रो लहरसँगै मौसममा आएको खराबीका कारण पनि कतिपय मजदुरको स्वास्थ्यमा समस्या आउने गरेको उद्योगीले बताउँछन् ।

अन्नपूर्ण सिमेन्टका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राउतले उद्योग परिसरलाई सुरक्षित राख्न खोज्दा पनि सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बताउनुभयो । जुट उद्योग सङ्घका अध्यक्ष एवं उद्योग सङ्गठन मोरङका उपाध्यक्ष राजकुमार गोल्छाले बिरामीका कारण अनुपस्थित हुने मजदुरको सङ्ख्या बढ्दै जाँदा उत्पादनमा कटौती गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

जुट उद्योगमा कार्यरत मजदुरको सङ्ख्या धेरै हुने भएकाले सामाजिक दूरी व्यवस्थापनको उपाय अपनाउँदै सिफ्ट प्रणालीमा उत्पादनको काम गरिरहेको उहाँले बताउनुभयो । “धेरै दिनसम्म त अनुपस्थित छैनन्, सातदेखि १० दिनसम्म अनुपस्थित भएका मजदुर काममा फर्कने र अन्यलाई त्यस्तै समस्या देखिएपछि बिदामा बस्ने अवस्था छ,” उद्योगी गोल्छाले भन्नुभयो ।

कोभिड सङ्क्रमणको जोखिमका कारण पूर्वका अधिकांश उद्योगले उत्पादन कटौतीको योजना बनाउन थालेका छन् । यस्तै स्थिति रहेमा झन्डै ५० प्रतिशत उत्पादन कटौती हुनसक्ने अनुमान गरिएको छ । बजारमा चहलपहल घट्दै जाँदा वस्तुको खपत कम हुने भएकाले पनि औद्योगिक उत्पादनमा कटौती हुने उद्योगीको भनाइ छ ।

महासङ्घका केन्द्रीय सदस्य राउतले भन्नुभयो, “निर्माण क्षेत्रमा मजदुर अभाव हुन्छन्, त्यसले निर्माणका सामग्रीको खपतमा प्रभाव पार्छ । क्रमशः बजारको गतिविधि घट्दै जाँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्ने देखिन्छ । ” रेमिट्यान्स घट्नु, बैङ्कमा तरलता अभाव हुनु र पुँजीगत खर्च हुनसक्ने दोस्रो लहरको प्रभाव भएको महासङ्घका केन्द्रीय सदस्य बोहराको बुझाइ छ । “तेस्रो लहर यही गतिले बढ्दै गयो भने समग्र अर्थतन्त्रलाई धक्का दिने खालको प्रभाव आगामी आर्थिक वर्षमा देखिन्छ,” बोहराले भन्नुभयो ।

यसैगरी उद्योग सङ्गठन मोरङले बढ्दो कोरोना प्रभावलाई ध्यानमा राख्दै ‘सार्वजनिक स्थलमा मास्क लगाऔँ, कोरोना भगाऔँ’ अभियान सुरु गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सङ्गठनले मास्क वितरणको काम सुरु गरेको कार्यकारी निर्देशक चुडामणि भट्टराईले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?