विजयकुमार साह
ढल्केबर, माघ ६ गते । बँदेल, नीलगाई र बाँदरलगायतका वन्यजन्तुले अन्न तथा तरकारी बाली खाएर सखाप पार्न थालेपछि धनुषाका किसानले नयाँ जुक्ति अपनाएका छन् । यहाँका किसानले खेतबारीमा झिलिमिली बिजुली बत्ती बालेर वन्यजन्तुको उपद्रोबाट बालीनाली जोगाउन नयाँ उपाय लगाएका हुन् ।
दीपावलीमा घर झिलिमिली बनाउन प्रयोग गरिएका बिजुली बत्ती अहिले यहाँका किसानले जङ्गली जनावर धपाउन उपयोगमा ल्याएका हुन् । झिलिमिली बत्ती देखेर बँदेल, नीलगाई र बाँदरलगायतका वन्यजन्तु खेतबारीमा नआउने र उत्पादन गरेको अन्न तथा तरकारी बाली जोगिने किसानले बताएका छन् ।
दिउँसो रेखदेख गर्न सकिने भए पनि राति खेतबारीमै बस्न नसकिने हुँदा जङ्गली जनावर धपाउन झिलिमिली बत्ती तथा उज्यालो प्रकाश दिन बल्ब बाल्ने गरेको मिथिला नगरपालिका–६, ढल्केबरका किसान नेमलाल महतोले बताउनुभयो । झिलिमिली बत्ती बालेदेखि वन्यजन्तु खेतबारीमा नआएको र बालीनाली सुरक्षित रहने गरेकोे उहाँले सुनाउनुभयो ।
किसान नेमलालले आफ्नो टोल देखाउँदै भन्नुभयो, “यो टोलमा ३०० भन्दा बढी किसानका घर छन् । बालीनाली जोगाउन सबैले यही तरिका अपनाएका छन् । साँझ पर्ने बेला घरसँगै खेतबारीको पनि बत्ती बालिन्छ । ” तिहारमा घर ल्याएको झिलिमिली बत्ती अहिले तरकारी बारीमा प्रयोग गरेको अर्का किसान सोमप्रसाद लामाले बताउननुभयो ।
खेतबारीमा पिलिक–पिलिक बत्ती बलेको देखेर वन्यजन्तु डराएर आउँदैनन् र बालीनाली जोगिने गरेको छ । खेतबारीमा बाल्न प्रयोग गरेको बिजुलीका कारण उत्पादनमा लागत बढे पनि बाली जोगाउन गरिएको थुप्रै प्रयास खेर नगएको उहाँले बताउनुभयो । “बालीनाली जोगाउन बलिया घेराबेरा लगायो, नीलगाई र बँदेलले भत्काइदिन्छ । अन्तिम विकल्पका रूपमा झिलिमिली बत्ती बाल्न थालेका हौँ,” लामाले भन्नुभयो ।
जिल्लाको उत्तरी क्षेत्र मिथिला, धनुषाधाम, र गणेशमान चारनाथ नगरपालिका तथा बटेश्वर गाउँपालिकाका किसानले उब्जाएकोे अन्न तथा तरकारी नीलगाई, बँदेल, बाँदर र दुम्सीले नोक्सानी गर्ने गरेका छन् । नजिकै रहेको जङ्गलबाट हुलका हुल आउने नीलगाई र बँदेलबाट यहाँका किसान वर्षौंदेखि पिरोलिँदै आएका छन् ।
वन्यजन्तुको उपद्रोबाट हैरान भएका यहाँका किसानले वन कार्यालय र स्थानीय प्रहरी प्रशासनलाई पटकपटक गुहारे पनि नियन्त्रण भएको छैन । अहिले किसानले आफ्नै थालेको प्रयास प्रभावकारी बनेको छ । किसानले अपनाएको यो तरिका बाली जोगाउनसँगै वन्यजन्तु मारिने घटनामा कमी आएकोे छ ।
सबडिभिजन वन कार्यालय धनुषाका वन अधिकृत सुनीलकुमार कर्णले वन क्षेत्रमा खानेकुराको अभाव भएपछि बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्तीमा पस्ने गरेको तथा बालीनालीमा नोक्सानी पु¥याउने गरेको बताउनुभयो । वन्यजन्तुलाई दीर्घकालीन रूपमा वन क्षेत्रमै रोक्न फलपूmललगायतका बोटबिरुवा रोप्ने योजना अगाडि सारिएको उहाँले बताउनुभयो ।