logo
२०८१ मंसिर १२ बुधवार



सहुलियतपूर्ण कर्जा कृषि क्षेत्रमा बढी

अर्थ |


सहुलियतपूर्ण कर्जा कृषि क्षेत्रमा बढी


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ६ गते । मङ्सिर मसान्तसम्म दुई खर्ब ४१ अर्ब ८३ करोड १४ लाख ७४ हजार रुपियाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार विभिन्न १० शीर्षकमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह गर्नका लागि उक्त ऋण स्वीकृत भएको हो । यस्तो ऋण प्रवाह गर्न राष्ट्र बैङ्कले ११ अर्ब १५ करोड ८० लाख रुपियाँभन्दा बढी ब्याज अनुदान दिएको छ ।

चालू आर्थिक वर्षको मङ्सिरसम्ममा उक्त सहुलियतपूर्ण कर्जा स्वीकृत भएको हो । यस अवधिमा सबैभन्दा बढी कर्जा व्यावसायिक कृषि तथा पशुपक्षी शीर्षकमा स्वीकृत भएको छ । यस क्षेत्रमा एक खर्ब ५४ अर्ब ८६ करोड रुपियाँभन्दा बढी कर्जा प्रवाह भएको हो । त्यस्तै, महिला उद्यमशिलताको क्षेत्रमा पनि ८२ अर्ब ३६ करोड ८९ लाख रुपियाँभन्दा बढी स्वीकृत भएको राष्ट्र बैङ्कले जनाएको छ । कपडा उद्योग सञ्चालनका लागि पनि दुई अर्ब ८५ करोड ८० लाख ९७ हजार रुपियाँको सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ । प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिमसम्बन्धी कर्जा भने दुईवटा मात्र गएको छ । यस्तो कर्जा तीन लाख १६ हजार रुपियाँमात्र भएको छ ।

यस्तो कर्जा सबैभन्दा बढी ‘क’ वर्गका वाणिज्य बैङ्कबाट स्वीकृत भएका छन् । वाणिज्य बैङ्कबाट एक लाख १५ हजार ७४४ वटा ऋण प्रवाह भएका छन् भने ‘ख’ वर्गका बैङ्कबाट १९ हजार १६५ ऋण प्रवाह भएको देखिन्छ । ‘ग’ वर्गका बैङ्कबाट एक हजार ६९३ र ‘घ’ वर्गका बैङ्कबाट १११ ऋण प्रवाह भएका छन् ।

युवा वर्गलाई सहुलियतपूर्ण ऋण प्रदान गरेर विदेश पलायन हुनबाट रोक्न सरकारले निकै प्रयास गरे पनि मङ्सिरमा यस्तो कर्जा भन्ने जम्मा २० वटा मात्र स्वीकृत भएको छ । शिक्षित युवा स्वरोजगार कर्जा ‘क’ र ‘ख’ वर्गका बैङ्कबाट जम्मा १५० वटा मात्र गएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।
सरकारले धितोसहित र विनाधितोको व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च तथा प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि सहुलियतपूर्ण ऋणका लागि ब्याज अनुदान दिँदै आएको छ । त्यस्तै, भूकम्पपीडितको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालन कर्जा, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम र युवा वर्ग स्वरोजगारका लागि पनि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?