सिराज खान
नेपालगञ्ज, माघ ७ गते । बाँकेको महिला व्यावसायिक बाख्रापालनमा सक्रिय रहेका छन् । जिल्लाका पाँच स्थानीय तह राप्तीसोनारी, वैजनाथ, खजुरा, कोहलपुर र जानकीका १३ हजार ५०० महिलाले विभिन्न समूह गठन गरेर बाख्रापालन गरिरहेको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेले जनाएको छ । महिलाले बाख्रापालन गरेर पाँच वर्षको अवधिमा २१ करोड ७५ लाख ७९ हजार रुपियाँको १८ हजार ३२८ वटा खसीबोका बिक्री गरेको सो सङ्घका व्यावसायिक प्रबन्धक नवीनकुमार साहुले बताउनुभयो । सो बिक्रीबाट चार करोड ३५ लाख १५ हजार ८३२ रुपियाँ बचत भएको सङ्घले जनाएको छ ।
व्यावसायिक प्रबन्धक साहुले १७ वटा सामाजिक महिला उद्यमी सहकारीमा आबद्ध ५८३ वटा समूहका १३ हजार ५०० महिलाले सो अवधिमा पाँच लाख ३५ हजार ६७६ किलो बराबरको खसीबोका बिक्री गरेको जानकारी दिनुभयो । बाँकेको राप्तीसोनारी, वैजनाथ, खजुरा र जानकी गाउँपालिका तथा कोहलपुर नगरपालिकाका महिलाले व्यावसायिक रूपमा बाख्रापालन गरेर गएको दसैँ र तिहारमा मात्र एक करोड १८ लाख रुपियाँ मूल्यका खसीबोका बिक्री गरेको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेका अध्यक्ष वसन्ती सुनारले बताउनुभयो । उहाँले गएको दसैँमा एक हजार ३०० खसी बिक्री गर्ने लक्ष्य लिइएकामा यहाँका महिलाले ८१५ वटा खसी बिक्री गरेको बताउनुभयो ।
सहकारीमा आबद्ध महिलाले बाख्रापालन गरी उत्पादन गरेका खसीबोका, बाँके बर्दियाबाहेक काठमाडौँ, पोखरा र सुर्खेतलगायत अन्य सहरमा जाने गरेको छ । सदस्य महिलाहरूसँग सङ्घले नै खसी बोका खरिद गरेर प्रतिकिलो १५ रुपियाँ नाफा खाएर बजारमा बिक्री गर्ने गरेकाले उनीहरूलाई बजार खोज्ने समस्या पनि नरहेको सङ्घले जनाएको छ ।