logo
२०८१ मंसिर १२ बुधवार



सत्र घण्टा विद्युत् कटौती

अर्थ |


सत्र घण्टा विद्युत् कटौती


राजन राउत

हुम्ला, माघ ८ गते । हुम्लाका व्यवसायीले लामो समयदेखि लोडसेडिङ खेप्दै आएका छन् । पानीको प्रवाह कम भएका कारण यहाँको हिल्दुम साना जलविद्युत् आयोजनाले पूर्ण क्षमताको विद्युत् उत्पादन गर्न नसक्दा व्यवसायीले लोडसेडिङको मार खेप्दै आएका हुन् । हिल्दुम विद्युत् वितरण केन्द्रका प्रमुख साजन ऐडीले पानीको स्रोत कमी भएकै कारण आयोजना २०६५ सालमा सञ्चालनमा आएदेखि लोडसेडिङ गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

५०० किलोवाट उत्पादन गर्ने लक्ष्यका साथ उक्त आयोजना निर्माण भएको थियो । यसका लागि आयोजनाको पावर हाउसमा दुईवटा मेसिन जडान गरिएका छन् । ती दुवै मेसिनबाट पूर्ण रूपमा विद्युत् उत्पादन भने कहिल्यै भएन । बढी उत्पादन भएका बेला ३२० किलोबाट मात्र विद्युत् उत्पादन भएको उहाँले बताउनुभयो । हाल आयोजनाले विद्युत् आपूर्ति गर्दै आएका सिमकोट र खार्पुनाथ गाउँपालिकामा एक मेगावाट विद्युत्को माग छ तर अहिले बढीमा २०० किलोवाट मात्र उत्पादन केन्द्रले गर्दै आएको छ । त्योसँगै उपभोक्ताले बढी विद्युतीय सामग्री प्रयोग गरेका कारण लोडसेडिङको समस्या भोग्नुपरेको उहाँको भनाइ छ । उत्पादन कम भएपछि केन्द्रले पानीको स्रोत हेरी दुईदेखि १७ घण्टासम्म लोडसेडिङ गर्दै आएको छ ।

हुम्लामा विद्युत्का दुई हजार १०० भन्दा बढी उपभोक्ता छन् । फर्निचर उद्योग सञ्चालक दशरथ रावतले लोडसेडिङको समस्या खेप्दै आएको बताउनुभयो । लोडसेडिङको तालिकासमेत नआउने भएका कारण विद्युत् आपूर्ति हुने समय कुरेर उद्योगमा कामदारले काम गर्ने गरेको जानकारी उहाँले दिनुभयो । लोडसेडिङ भएको बेला काम बन्द गरेर कामदार बस्नुको विकल्पसमेत नभएको बताउँदै उहाँले उद्योगलाई लोडसेडिङले मार पारेको गुनासो गर्नुभयो ।

यस्तै अर्का व्यवसायी सरोज रावतले २०६५ सालबाटै आफ्नो व्यवसायले लोडसेडिङ भोग्दै आएको बताउनुभयो । उहाँले सुरुका दिनमा यो अवधिमा व्यवसाय बन्द गरे पनि पछि भने जेनेरेटर सञ्चालन गरेर काम गरेको जानकारी दिनुभयो । यसरी जेनेरेटरबाट व्यवसाय गर्दा उपभोक्तालाई मार पर्ने उहाँले बताउनुभयो ।
यहाँका व्यवसायीले एकप्रति फोटोकपीको जलविद्युत्को प्रयोग गर्दा पाँच रुपियाँ र जेनेरेटरको प्रयोग गर्दा १० रुपियाँ लिने गरेका छन् ।

गत कात्तिक÷मङ्सिरमा विद्युत् सेवा अवरुद्ध हुँदा जेनेरेटरबाट मोबाइल चार्ज गरेको एउटा मोबाइलका लागि १०० रुपियाँ तिर्नुपरेको सेवाग्राही कलबहादुर रावलले बताउनुभयो । विद्युत्बाट उद्योग व्यवसाय सञ्चालन गर्ने सिमकोट र खार्पुनाथ गाउँपालिकामा ७० भन्दा बढी रहेका छन् । ती सबै उद्योगी व्यवसायीका लागि लोडसेडिङ साझा समस्या हो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?