गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ८ गते । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा लगानी बढाउन बैङ्कहरूलाई आग्रह गर्नुभएको छ। कृषि विकास बैङ्कको ५५औँ वर्ष प्रवेशको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै उहाँले कृषि क्षेत्रलाई व्यवसायीकरण र उत्पादनमुखी बनाउने कार्यमा बैङ्कहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । अर्थमन्त्री शर्माले कृषि विकास बैङ्कले स्थापना कालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभई कृषिलाई पहिलो प्राथमिकता दिई कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।
नेपाल सरकारले अगाडि सारेका लोककल्याणकारी र उत्पादनमुखी कार्यलाई प्राथमिकता दिई समग्र वाणिज्य बैङ्किङ व्यवसाय सञ्चालन गर्नुपर्ने अवस्था रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “कृषिमा लगानी बढाई, स्वरोजगार बन्न बैङ्कले सहयोग गर्नुपर्छ, कृषिमा लगानी बढाउनु आजको आवश्यकता हो। ” सोही अवसरमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले पनि बैङ्कले कृषिलाई पहिलो प्राथमिकता दिएर नै आफ्नो बैङ्किङ व्यवसाय सञ्चालन गरेको बताउनुभयो । गत वर्षको मौद्रिक नीतिले कृषि क्षेत्रमा थप लगानीको अवसर सिर्जना गर्न कृषि विकास बैङ्कलाई कृषि क्षेत्रको नेतृत्व बैङ्कका रूपमा रहने गरी कृषिबन्ड जारी गर्ने अवसर प्रदान गरेअनुरूप कृषिबन्ड जारी गरिसकेको उहाँले बताउनुभयो।
किसानको सुविधाका लागि किसान क्रेडिट कार्डको व्यवस्था गरेको र आगामी दिनमा वाणिज्य बैङ्किङलगायत कृषि र किसानको प्रगतिका लागि समेत टेवा पुग्ने खालका कार्यक्रम सञ्चालन गर्न गभर्नर अधिकारीले सुझाव दिनुभयो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैङ्कले करिब १५ लाख निक्षेपकर्ताको एक खर्ब ५८ अर्ब रुपियाँ निक्षेप सङ्कलन, एक लाख ५६ हजार ऋणीलाई करिब एक खर्ब ७५ अर्ब रुपियाँ कर्जा प्रवाह गरेको जानकारी दिनुभयो । बैङ्कले करिब ४० प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह गरेको जानकारी दिँदै उहाँले सुन कर्जा, सुन खरिद बिक्री, विदेशी मुद्रा खरिद बिक्री, लकर सेवा, प्रतीतपत्र कारोबार, ट्रस्ट रिसिप्ट कर्जा, जमानत कारोबार, सेयर धितोमा कर्जा प्रदान गरिरहेको बताउनुभयो।
करिब तीन लाखको हाराहारीमा रहेका सेयरधनीलाई २१ प्रतिशतको प्रतिफल उपलब्ध गराउन सफल भएको भन्दै बैङ्कका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कुशल एवं प्रभावकारी बैङ्किङ सेवा प्रवाहका माध्यमबाट उच्च गुणस्तरयुक्त सम्पत्तिको निरन्तर सिर्जना र त्यसबाट प्राप्त प्रतिफल बैङ्कका सबै हिस्सेदार समक्ष न्यायपूर्ण ढङ्गबाट वितरण गर्न सम्पूर्ण बैङ्क परिवारका तर्फबाट प्रतिबद्धता व्यक्तसमेत गर्नुभयो। सो अवसरमा २० वर्ष र २५ वर्ष सेवा अवधि पूरा गर्ने कर्मचारी, बैङ्कका उत्कृष्ट ग्राहकको नामावली, कार्यसम्पादनमा उत्कृष्ट अङ्क ल्याई पुरस्कृत हुने कर्मचारीको नामावलीसमेत घोषणा, सम्मान तथा पुरस्कृतसमेत गरिएको थियो।