कमल शर्मा
दैलेख, माघ १२ गते । नौमुले गाउँपालिकामा निर्माण भएका दुईवटा जलविद्युत् आयोजनाको सफल परीक्षण भएको छ । नौमुले गाउँपालिका–३ द्वारीमा निर्माण भएको ३.७५ मेगावाट क्षमताको द्वारी जलविद्युत् आयोजना र सोही गाउँपालिकाको वडा नं. ४ मा निर्माण भएको ४.५ मेगावाट क्षमताको पदमखोला जलविद्युत् आयोजनाको सफल परीक्षण भएको हो ।
दुई वर्षअघि निर्माण सम्पन्न भएको द्वारी हाइड्रोपावर र भर्खरैमात्र निर्माण सम्पन्न भएको पदमखोला हाइड्रोपावरको परीक्षण गरिएसँगै दैलेख अब अँध्यारोमुक्त हुने आशा पलाएको छ । द्वारी र पदमखोला हाइड्रोपावरबाट उत्पादन भएको बिजुली सिधै राष्ट्रिय प्रसारणमा जान थालेपछि दैलेखका बासिन्दाले बत्तीको सुविधा पाउन सकेका थिएनन् । कम्पनीले गरेको विद्युत् खरिद सम्झौतामा समेत आपतकालीन अवस्थामा आइसोलेसन (अफग्रिड) मोडमा विद्युत् उत्पादन गरेर जिल्लालाई प्रदान गर्नुपर्ने प्रावधान राखिएको छ ।
त्यही प्रावधानअनुसार दुवै आयोजनाले ग्रिड लाइनमा बत्ती नआएको बेलामा आइसोलेसन मोडबाट विद्युत् उत्पादन गरेर जिल्ला सदरमुकाम दैलेखमा वितरणका लागि परीक्षण थालेका थिए र त्यसको परीक्षण सफल भएको नेपाल विद्युत् प्राधिकरण, विद्युत् वितरण केन्द्र दैलेखले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण दैलेख केन्द्र दैलेखका प्रमुख गौरव पाण्डेले कोहलपुर–सुर्खेत लाइन अवरुद्ध हुँदा दैलेखमा समेत विद्युत् अवरुद्ध हुने समस्या अब समाधान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पावरहाउस निर्माण गरेको भारतीय कम्पनीबाट इन्जिनियरले आइसोलेसन मोड सञ्चालन गर्ने काम सुरु गरिएको र अब विद्युत् नियमित हुनेछ ।
” पहिलो चरण अर्थात् यही माघ १५ गतेभित्र दैलेख सदरमुकाम पूर्ण लोडसेडिङमुक्त हुनेछ भने चैतभित्र दुल्लु क्षेत्र र असारसम्म जिल्ला नै लोडसेडिङमुक्त बनाउने अभियानको थालनी गरिएको दैलेख शाखाका प्रमुख पाण्डेले जानकारी दिनुभयो । उहाँले दुईवटै हाइड्रोबाट ८.२५ मेगावाट विद्युत् उत्पादन हुने भए पनि अहिले पानीको बहाव घटेसँगै उत्पादनमा समेत कमी आएको बताउनुभयो । उहाँले अहिले दुई मेगावाट विद्युत् उत्पादन भएको जानकारी दिनुभयो ।