गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १२ गते । अर्थतन्त्रमा चाप रहे पनि खराब अवस्थामा नपुगेको अर्थ सचिव मधुकुमार मरासिनीले बताउनुभएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि पुँजीगत खर्च पनि बढेकाले बैङ्क तथा वित्तीय संस्थामा तरलता अभाव हट्दै जाने चर्चा गर्दै उहाँले यो वर्ष लक्ष्यअनुसार आर्थिक वृद्धि हासिल हुने दाबी गर्नुभयो ।
७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सले मङ्गलबार आयोजना गरेको एक कार्यक्रममा उहाँले कोभिड–१९ को दोस्रो लहरपछि आर्थिक गतिविधि स्वाभाविक चलायमान हुन खोजेकाले अर्थतन्त्रमा केही चाप देखिएको बताउनुभयो । ७.११ प्रतिशतको मूल्यवृद्धि, आठ खर्ब ८० अर्ब रुपियाँको व्यापार घाटा, विपे्रषणमा गिरावट आएकाले अर्थतन्त्रमा केही चाप बढेको उहाँको भनाइ थियो ।
विदेशी विनिमय सञ्चिती केही घटे पनि कम्तीमा छ महिनालाई आयात धान्न सकिने अवस्थामा रहेकाले आत्तिनु नपर्ने अर्थ सचिव मरासिनीले बताउनुभयो । कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आयात निरुत्साहित र निर्यात प्रवद्र्धन हुनेगरी व्यापार सहजीकरण हुनुपर्ने बताउनुभयो । आयात रोक्नुभन्दा पनि व्यवस्थित गर्नुपर्ने उहाँको भनाइ थियो ।
सरकारी नीति एकद्वार हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाइरहेकाले भन्सार प्रशासनमा पनि डिजिटल प्रणालीको व्यवस्था गर्नुपर्ने मल्लले बताउनुभयो । अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक भएको र अर्थतन्त्र नै जोखिमको दिशामा रहेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सो कार्यक्रममा चेम्बरले भन्सार विभागका निर्देशक रामप्रसाद रेग्मीलाई सम्मान पनि गरेको छ ।