logo
२०८१ मंसिर १२ बुधवार



खाने तेलको निर्यात यथावत्

अर्थ |


खाने तेलको निर्यात यथावत्


नवराज कट्टेल

विराटनगर, माघ १२ गते । भारतले अप्रशोधित खाने कच्चा तेलको भन्सार महसुल कटौती गरे पनि नेपालबाट हुने खाने तेलको निर्यातमा प्रभाव परेको छैन । गत असोज २६ गते भारतले अप्रशोधित कच्चा तेल आयातमा लाग्दै भन्सार महसुल २४ दशमलव ७५ प्रतिशतबाट कटौती गरेर कच्चा पामोलिनको आठ दशमलव २५ तथा सोया र सनफ्लावरको पाँच दशमलव पाँच प्रतिशत निर्धारण गरिएको थियो ।

भारतीय उद्योगीले कच्चा तेल आयातमा सहुलियत पाएपछि नेपालबाट भारत जाने प्रशोधित खाने तेलले प्रतिस्पर्धा गर्न नसकी नेपालको निर्यातमा गिरावट आउने अनुमान गरिएको थियो । नेपालबाट निर्यात हुने प्रशोधित खाने तेल शून्य भन्सार दरमा निर्यात हुन्छ । विराटनगर भन्सार कार्यालयले उपलब्ध गराएको तीन आर्थिक वर्षको पहिलो छ महिनाको तुलनात्मक तथ्याङ्कमा पाम तेलको निकासी केही घटेको भए पनि सूर्यमुखी र भटमासको तेलको निकासी भने वृद्धि भएको छ । तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पुस मसान्त सम्ममा नौ अर्ब ८४ करोड २४ लाख रुपियाँ मूल्यबराबरको ४५ हजार ५८६ टन प्रशोधित पाम तेल भारत निकासी गरिएको छ ।

भारतले बन्द गरेका कारण गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो अर्धवार्षिक अवधिमा प्रशोधित पाम तेल निकासी भएन । तर, आव २०७६/७७ को पुस मसान्त सम्ममा पाँच अर्ब ४३ करोड १४ लाख रुपियाँ मूल्यको ५२ हजार ५५९ टन पाम तेलको निर्यात भएको थियो ।

उत्पादनमा ह्रास र ढुवानी भाडा अन्तर्राष्ट्रिय स्तरमै आकासिएपछि खाने तेलको मूल्यवृद्धि भएको छ । यसैका कारण पाम तेलको निकासीमा ह्रास आए पनि मूल्यवृद्धि भएको बताइन्छ । अन्तर्राष्ट्रिय बजारमा साढे दुई वर्षअघि प्रतिटन ५५० डलरमा पाइने कच्चा पामोलिनको मूल्य अहिले १४ सय डलर पुगिसकेको उद्योगीहरू बताउँछन् । कच्चा पामोलिन मलेसिया र इन्डोनेसियाबाट पैठारी गरिन्छ । प्रशोधित पाम तेल विशेषतः भारतका विहार, युपी र पश्चिम बङ्गालका लागि निर्यात गरिन्छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा विराटनगर नाकाबाट भटमासको प्रशोधित तेलको निर्यात वृद्धि भएको छ । उक्त अवधिमा ११ अर्ब २२ करोड ९५ लाख रुपियाँको ४९ हजार ३०१ टन भटमासको प्रशोधित तेलको निकासी गरिएको छ ।
आव २०७७/७८ को प्रथम छ महिनामा चार अर्ब ८८ करोड ५९ लाख रुपियाँको ३३ हजार ४९० टन भटमासको प्रशोधित तेलको निकासी गरिएको छ । त्यस्तै, आव २०७६/७७ को सोही अवधिमा एक अर्ब ५३ करोड चार लाख रुपियाँको ११ हजार ९७५ टन भटमासको प्रशोधित तेल निकासी गरिएको थियो । पछिल्लो तीन आर्थिक वर्षको पुस मसान्तसम्मको अर्धवार्षिक तथ्याङ्कमा भटमासको प्रशोधित तेलको निकासी वृद्धि हुँदै गएको छ ।

सूर्यमुखीको प्रशोधित तेलको निकासी पनि वृद्धि भएको छ । चालू आर्थिक वर्षको प्रथम अर्धवार्षिक अवधिमा यसको निकासी ६३ करोड चार लाख रुपियाँको तीन हजार १३५ टन भएको छ । आव २०७७/७८ को सोही अवधिमा १७ करोड १५ लाख रुपियाँको एक हजार ११९ टनमात्र सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको थियो । आव २०७६/७७ मा भने यसको भारत निकासी भएन ।

भन्सारको तथ्याङ्कमा निकासी उस्तै देखिए पनि उद्योगीले पछिल्लो समय तेलको कच्चा आयातका लागि एलसी नखोलिएको दाबी गर्दै आएका छन् । पशुपति खाद्यतेल उद्योगका सञ्चालक अमित शारडाले निकासी गर्ने उद्देश्यले तीनप्रकारकै तेलको कच्चा तेलको पैठारीका लागि एलसी खोल्न छोडिएको दाबी गर्नुभयो ।

भारतले घटाएको कच्चा तेलको महसुल दर आगामी मार्चसम्म लागू हुने र त्यसपछि भारतमा पुरानै महँगो भन्सार महसुल दर कायम हुने नेपाली उद्योगीको अनुमान छ । यसो भएमा नेपालबाट गरिने निर्यात सहज हुन्छ । नेपालबाट साफ्टा सम्झौताअन्तर्गत शून्य प्रतिशत भन्सार दरमा तीनवटै प्रकारका प्रशोधित तेलको निकासी भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?