logo
२०८१ बैशाख २३ आईतवार



मासु पसलले उकासिएको जिरेलको जीवन

अर्थ |
प्रदेश |


मासु पसलले उकासिएको जिरेलको जीवन


बाबुराम शर्मा
चरीकोट, माघ १७ गते । पढाइको सिलसिलामा सदरमुकाम चरीकोट पसेर व्यवसायमा लाग्नुभएका दोलखाको वैतेश्वर गाउँपालिका–८ क्षत्रपाका शान्तबहादुर जिरेल अहिले करोडौँ रुपियाँको मालिक बन्नु भएको छ । सयवटा कुखुरापालनबाट सुरु गरेको व्यवसाय विस्तार गर्दैजाँदा करिब डेढ दशकको अन्तरालमा करोडौँ रुपियाँको मालिक बन्न उहाँ सफल हुनु भएको हो । उहाँकाअनुसार २०६४ सालमा २६ हजार ऋणबाट सयवटा कुखुरापालन शुरु गरेको उहाँले सुनाउनुभयो ।

एक वर्ष गरेको यो व्यवसायले ऋण तिरेर पनि उत्तिकै नाफा आएपछि झन उत्साह बढेर लगनशील भई कुखुरापालनसँगै बङगुर पनि पालन सुरु गरिएको बताउनुभयो । किस्मत प्रालि कृषि फार्ममा २४० वटा बङगुर र किबीखेतीमा गरिएको छ । गाउँमा स्याउ खेती पनि प्रारम्भ गर्नुभएको बताउनुभएको छ ।

२०६६ मा मासु पसल र माछापालन पनि सुरु गर्नुभएको थियो । यिनै व्यवसायबाट चरिकोट बजारमा करोडभन्दा बढीको लगानीमा किस्मत रेस्टुरेन्ट एन्ड गेष्ट हाउस सञ्चालनमा ल्याउनुभएको छ । उहाँले भन्नुभयो, “यिनै व्यवसायबाट लामो सङघर्षले यो अवस्थामा पुगिएकाले अब यिनैलाई ब्राण्ड बनाएर निरन्तरता दिने सोच पलाएको छ ।”

अहिले उहाँलाई गेष्ट हाउसबाट पनि राम्रो आक्म्दानी भइरहेको छ । मासु पसलबाट आम्दानी राम्रै भइरहेको छ । व्यवसायलाई बलियो बनाउन बङगुरपालनले पनि सहयोग पुगेको उहाँले बताउनुभयो । “एउटा बङगुरले १२ वटासम्म बच्चा दिन्छ । ४५ दिने पाठी सात हजार रुपियाँमा बिक्री हुनेगरेको छ” उहाँले भन्नुभयो ।

कृषि फार्म सञ्चालन रहेको स्थलमा १२ रोपनी उहाँको जग्गा छ । जसमध्ये एक रोपनी आफ्ैँले जोडेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ बङगुरपालन तथा किबी खेती गरिएको छ । ११ रोपनी जग्गा वार्षिक १० हजारमा भाडामा लिइएको हो । अहिले सबै आम्दानी र सम्पत्ति गर्दा तीन करोडभन्दा माथि रहेको छ ।”
आर्थिक अवस्था कमजोर रहेका जिरेल पहिले दैनिक गुजारा चलाउन जिल्लाकै जनहित सहकारीमा अढाइ हजारमा नोकरी गर्नुहन्थ्यो । कक्षा ११ अध्ययनका लागि सदरमुकाम छिर्नुभएका जिरेल नोकरीसँगै कुखुरा स्याहार्दै अघि बढ्नुभयो । जिरेल कुखुरापालनबाट अरुको राहत होस् भनी अहिले चल्ला र दाना ढुवानी पनि गर्नेगरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब इच्छुक किसानलाई उकास्न लागेको छु । आफैँले दिएका चल्ला हुर्केपछि आफैँले लिन्छु । उहाँहरुलाई बजारको समस्या छैन । यिनै कुखुरा आप्mनै पसलमा मासुमा बिक्री हुन्छन् ।” ईच्छा र चाहना हुनेहरुलाई लगानी कहिल्यै बाधक नहुने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?