logo
२०८१ बैशाख ७ शुक्रवार

  नवलपरासीको धौवादी डाँडामा फलाम उत्खनन्  



दुई करोड टन फलाम निकाल्न सकिने

अर्थ |


दुई करोड टन फलाम निकाल्न सकिने


काठमाडौं, माघ २१ गते । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका– ५ को धौवादी डाँडामा रहेको फलाम खानी उत्खननका लागि प्रशासनिक कार्य अन्तिम चरणमा पुगेको छ ।

सरकारले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलामखानीबाट फलाम निकाल्न धौवादी फलाम कम्पनी लिमिटेड नै गठन गरिसकेको छ । अहिले सो कार्यालय काठमाडौंको खानी तथा भूगर्भ विभागको कार्यालय लौनचौर परिसरमा छ ।

हुप्सेकोटको धौवादी फलाम खानीबाट निकाल्न सकिने परिणाम र गुणस्तरका बारेमा सरकारले चीनको सिचूआन इन्स्टिच्यूट अफ मेटालजिकल जीओलजी एण्ड एक्स्प्लोरेशन छेन्दुमा पाँच टन फलाम परीक्षणको लागि पठाएको र सो परीक्षण सफल भएको धौवादी फलामखानी कम्पनी लिमिटेडका निर्देशक जनकराज चन्दले बताउनुभएको छ ।

‘यसलाई फेरि सम्भाव्यता अध्ययन गर्नुपर्ने हुन्छ । यही साता डाटाको मूल्याङ्कन गर्न अन्तार्राष्ट्रिय स्तरको आसयपत्र निकालिनेछ । नेपालमा मूल्याङ्कन गर्ने कुनै कम्पनी भेटिएन,’ निर्देशन चन्दले भन्नुभयो, ‘यसकारण अन्तर्राष्ट्रिय स्तरमा आशयपत्र निकाल्दै छौँ । यसले कति लागत लाग्छ, कति कामदार आवश्यक पर्दछ र कस्ता नटबोल्ट लाग्छ भन्ने कुरा थाहा हुन्छ ।’

निर्देशक चन्दका अनुसार पहिलो चरणमा पूर्वपश्चिम १० किलोमिटर क्षेत्रभित्रको फलामको परिणाम यकिन गरिनेछ । त्यसका लागि पाँच फरक–फरक स्थानमा ड्रिलिङ गर्नुपर्नेछ । अहिले चार वटाको ड्रिलिङ सकिएको उहाँको भनाइ छ । उत्खननसम्बन्धी आर्थिक विनियमावली र प्रशासनिक नियमावली उद्योग मन्त्रालयमा पठाइसकेको निर्देशक चन्द बताउनुभयो ।

‘समितिले आर्थिक नियमावली र प्रशासनिक नियमावली उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइसकेको छ । अब त्यहाँबाट अर्थ मन्त्रालयमा पठाउनुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो ।

चार वर्ष अघि हुप्सेकोटको धौवादीमा ४१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको लामो फलाम खानी भेटिएपछि सरकारले फलाम उत्खनन गरेर कारखाना सञ्चालन गर्न प्रक्रिया अघि बढाएको थियो ।

फलामको परिमाण यकिन भइसकेपछि हालको बजार मूल्यसँग प्रतिस्पर्धा गर्न सक्ने लागतबारे काम सुरु हुनेछ  । प्रारम्भिक अनुमानमा दुई करोड टन फलाम निकाल्न सकिने देखिएको छ । जमिनको कति मुनिसम्म फलाम छ भन्ने जानकारी ड्रिलिङबाट पत्ता लाग्ने छ । उत्खननको लागि चाहिने डाटाहरु निकालिसकिएको उहाँले बताउनुभयो ।

कारखाना सुरु भएपछि भारतबाट आयात हुने कच्चापदार्थको २५ देखि ३० प्रतिशत फलामको माग घट्ने निर्देशक चन्दले बताउनुभयो । भारतीय बजारसँग मूल्यमा प्रतिस्पर्धा गर्न र लागत घटाउन भने मुख्य चुनौती छ ।

साविक देउरालीको नाम्जाकोट हुँदै दक्षिणमा रुम्से र उत्तरको बौदीकाली गाउँपालिकाको नरमको ल्हापेसम्म यो फलाम खानी फैलिएको छ ।

भूगर्भविद्हरुले गरेको अध्ययनमा यहाँको कच्चा पदार्थमा ५८ प्रतिशतसम्म फलाम निकाल्ने तत्व भेटिएको छ भने फलाम खानीका लागि ६० प्रतिशत हेमटाईडेवर उत्तम र ३० देखि ६० प्रतिशत मुनि मध्यम खालको मानिने भएकाले यहाँको फलाम खानी उत्खनन गर्ने प्रशस्त सम्भावना भएको हुँदा सरकारले समेत यसलाई बढी महत्व दिएको छ ।

चीनको रिपोर्ट आएपछि यसै साता उत्खननको लागि टेण्डर आह्वान गरिने उहाँको भनाइ छ । नेपालका कुनै पनि कम्पनीले उत्खनन गर्न सक्ने आधार नदेखिएकाले विदेशी कम्पनीले नै उत्खनन गर्ने निर्देशक चन्दको भनाइ छ । त्यसपछि उत्खनन्को डिपिआर तयार गरेपछि मात्र कति घर विस्थापित हुन्छन् भन्ने थाहा हुने चन्द बताउनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?