logo
२०८१ मंसिर ११ मंगलवार



मूल्य बढाउन डीडीसीको प्रस्ताव

अर्थ |


मूल्य बढाउन डीडीसीको प्रस्ताव


गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २३ गते । दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको छ । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले किसानका लागि प्रतिलिटर दूधको मूल्य ६.५२ वृद्धि गरी ५६.०४ रुपियाँ बनाउने निर्णय गरेको थियो । किसानका लागि दूधको मूल्य वृद्धि मन्त्रिपरिषद्ले गरेपछि डीडीसीले उपभोक्ता मूल्य बढाउन कृषि मन्त्रालयमा प्रस्ताव गरेको हो । यसअघि पनि दूधको उपभोक्ता मूल्य डीडीसीले तय गथ्र्यो । डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले किसानका लागि दूधको मूल्य निर्धारण मन्त्रिपरिषद्ले गरेपछि आफूहरूले उपभोक्ता मूल्य प्रतिलिटर १० रुपियाँ वृद्धि गर्नुपर्ने प्रस्ताव मन्त्रालयमा गरेको जानकारी दिनुभयो ।

डीडीसीले मूल्य वृद्धिका लागि प्रस्ताव गरे पनि हालसम्म मन्त्रालयबाट त्यसको कुनै प्रतिक्रिया नआएको उहाँले बताउनुभयो । हाल दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपियाँ रहेको छ, त्यसमा १० रुपियाँ वृद्धि गरेपछि ८६ रुपियाँ हुने डीडीसीले जनाएको छ । सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले भन्नुभयो, “देशभर उपभोक्ताको मूल्य समान भने छैन । बुटवलमा प्रतिलिटर ७२ रुपियाँ छ भने नेपालगञ्ज र धनगढीमा ७० रुपियाँ र काठमाडौँ उपत्यकामा ७६ रुपियाँ रहेको छ । त्यसमा १० रुपियाँ वृद्धि गरेपछि सबैको लागत उठ्न सक्ने भएकाले त्यस्तो प्रस्ताव गरिएको हो । ”

मूल्य वृद्धि गर्ने १० रुपियाँमध्ये प्रतिलिटर सात रुपियाँ किसानलाई र तीन रुपियाँ डेरी उद्योगीलाई जान्छ । ८६ रुपियाँ प्रतिलिटरमा दुई रुपियाँ मुनाफा राखिएको डीडीसीको दाबी छ । राष्ट्रिय दुग्ध विकास बोर्डले तयार पारेको प्रतिवेदनअनुसार किसानबाट खरिद गरिने कच्चा दूधको उत्पादन लागत प्रतिलिटर मूल्य ५७.१४ रुपियाँ देखाइएको छ । प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपियाँ सिफारिस गरिएको छ । त्यसमा प्रशोधन लागत प्रतिलिटर ३०.५० रुपियाँ कायम गरिएको छ ।

त्यसैगरी किसानका लागि प्रतिलिटर दूधको मूल्य ५६.४ रुपियाँ कायम गरिएको छ । त्यसअघि प्रतिलिटर ४९.५२ रुपियाँ थियो । दूधको मूल्य फ्याट र एसएनएफको आधारमा गरिएको छ । हाल दूधको न्यूनतम फ्याट ४ प्रतिशत र एसएनएफ (घृतांशबाहेकको ठोस पदार्थ) ८ प्रतिशत कायम गरिएको छ । फ्याटको मूल्य १३.५ प्रतिशतले प्रतिलिटर २७.२४ रुपियाँ र एसएनएफको मूल्य १३ प्रतिशतले प्रतिलिटर २८.८ रुपियाँ गरी दूधको मूल्य ५६.०४ रुपियाँ कायम गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?