logo
२०८१ मंसिर ११ मंगलवार



इँटा उद्योगमा बीस करोडको क्षति,बीमा गर्न पाउनुपर्ने माग

अर्थ |


इँटा उद्योगमा बीस करोडको क्षति,बीमा गर्न पाउनुपर्ने माग


सिराज खान

नेपालगञ्ज, माघ २३ गते । हिउँदे वर्षाका कारण बाँकेका इँटा व्यवसायीले करिब २० करोड रुपियाँभन्दा बढीको क्षति बेहोर्नु परेको छ । पोल्नका लागि तयार पारेर राखिएका ९० प्रतिशतभन्दा बढी काँचो इँटा वर्षाका कारण नष्ट भएकाले करिब २० करोड रुपियाँको नोक्सानी भएको नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेले जनाएको छ ।

नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका सचिव सूर्यमणि पौडेलले केही दिन पहिले र अहिलेको वर्षाले बाँकेका ६० वटा इँटा व्यवसायीका अधिकांश काँचो इँटा काम नलाग्ने गरी नष्ट पारेको बताउनुभयो । उहाँले एउटै व्यवसायीको पोल्न तयार पारेका पाँच लाखदेखि १० लाखसम्म इँटा पानीले गलेर काम नलाग्ने भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लगातार परेको पानीले भट्टामा लागेको आगोसमेत निभिसकेकाले फेरि आगो लगाउँदा क्षति अझै बढ्ने बताउनुभयो । ”

नेपाल इँटा उद्योग व्यवसायी सङ्घका पूर्वअध्यक्ष प्रकाश शाहले वर्षाका कारण आफ्नो मात्रै करिब २५ लाख रुपियाँको इँटा गलेर नष्ट भएको गुनासो गर्नुभयो । तयारी इँटामा क्षति भएर इँटा उत्पादन घटेका कारण मूल्य बढ्ने व्यवसायीको भनाइ छ । इँटा उत्पादकले सिजनमा सात राउन्डसम्म इँटा उत्पादन गर्ने गरेका छन् । “एक पटकमा छदेखि दस लाखसम्म इँटा तयार पारिन्छ तर यस पटक सुरुमै क्षति भएको छ,” नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका सचिव पौडेलले भन्नुभयोे ।

इँटाको बीमा गर्न नपाएका कारण व्यवसायीले बर्सेनि वर्षाको समयमा ठूलो नोक्सानी बेहोर्नुपरेको नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेले जनाएको छ । आकस्मिक रूपमा हुने वर्षाको क्षतिबाट जोगिनका लागि काँचो इँटाको बीमा गर्नुपर्ने माग सङ्घले लामो समयदेखि गर्दै आएको छ ।

सर्लाहीमा लाखौँको क्षति
सर्लाही समाचारदाताका अनुसार वर्षाले सर्लाहीसहित तराईका जिल्लामा लाखौँ मूल्यको इँटा नष्ट भएको छ । दुई दिनसम्म परेको झरीका कारण चाङ लगाएर राखिएको काँचो इँटा भिजेर नष्ट भएको सर्लाही इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष मेथुर चौधरीले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति सर्लाहीको सभापतिसमेत रहनुभएका इँटा भट्टा सञ्चालक चौधरीले हरिपुर नगरपालिकास्थित लक्ष्मीपुरमा रहेको आफ्नो दुईवटा इँटा उद्योगमा गरी करिब डेढ करोड रुपियाँ बराबरको इँटा नष्ट भएको गुनासो गर्नुभयो । उहाँले वर्षाका कारण अन्य इँटा उद्योगीको ५० लाखदेखि ७५ लाख रुपियाँसम्म नोक्सान भएको बताउनुभएको छ । सर्लाहीमा ९३ वटा इँटा उद्योग रहेका छन् ।

त्यस्तै बेमौसमी वर्षाले तरकारी र अन्य बालीनालीमा पनि क्षति पु¥याएको किसानले गुनासो गरेका छन् । वर्षाले बारीभरि पाकेर राताम्मे भएको गोलभेँडा नष्ट गरेपछि सर्लाहीको उत्तरी भेगका किसान चिन्तित भएका छन् । बजार ल्याउने बेला भएको दर्जनौँ क्रेट गोलभेँडा वर्षाको पानीले नष्ट पारेको लालबन्दी नगरपालिका–११, हीरापुरका किसान जोगेन्द्र महतोले बताउनुभयो । यस्तै पाकेर भिœयाउने बेला भएको तोरी, लहरीलगायतका बालीनालीमा पनि वर्षाले क्षति पु-याएको किसानले गुनासो गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?