logo
२०८१ मंसिर ७ शुक्रवार



सुर्खेतमा पुनः प्याराग्लाइडिङ

पर्यटन |


सुर्खेतमा पुनः प्याराग्लाइडिङ


सुर्खेत समाचारदाता

सुर्खेत, माघ २४ गते । सुर्खेतमा पर्याप्त जनशक्ति र पुँजीको अभावमा सात वर्ष अगाडि सञ्चालन भएर बन्द भएको प्याराग्लाइडिङ उडान शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले बाबु एड्भेन्चर ग्रुपसँग व्यावसायिक साझेदार गरेपछि शनिबारदेखि सुर्खेतमा प्याराग्लाइडिङ पुनः सञ्चालनमा आएको हो ।

शाहीले २०७१ सालमा वेलकम प्याराग्लाइडिङमार्फत सुर्खेतमा प्याराग्लाइडिङ उडान सञ्चालन गर्नुभएको थियो । उहाँले विगतमा पुँजी तथा जनशक्तिको अभाव हुँदा एक वर्षमै बन्द गर्नुपरेको भन्दै अब भने नियमित उडान हुने जानकारी दिनुभयो । कर्णाली प्रदेशलाई साहसिक पर्यटनबाट चिनाउन सकिने भन्दै आफूले प्याराग्लाइडिङ उडान थालेको र अब विगतको भन्दा ५० प्रतिशत सहुलियत दिइने बताउनुभयो ।

वीरेन्द्रनगर नगरपालिका–१४ को बयलकाँडा गढीदेखि वीरेन्द्रनगर–१ को कृष्ण सामुदायिक वनको क्षेत्रसम्म प्याराग्लाइडिङ उडान गरिनेछ । शाहीका व्यावसायिक साझेदार बाबु एड्भेन्चर ग्रुपका सञ्चालक प्याराग्लाइडिङ चालक सानुबाबु सुनुवारले सुर्खेतमा पुनः प्याराग्लाइडिङ उडान सञ्चालन गर्न पाएकामा खुसी व्यक्त गर्दै अब यसले निरन्तरता पाउने बताउनुभयो । उहाँका अनुसार सुर्खेतमा दैनिक १२ उडान गरिनेछ ।

विगतमा सात हजार शुल्कमा गरिँदै आएको उडान आगामी जेठसम्म ५० प्रतिशत अर्थात् ३५ सय रुपियाँ सेवा शुल्क लिइनेछ । सुर्खेत प्याराग्लाइडिङका लागि उत्कृष्ट स्थल भएकाले दुई वर्षपछि यहाँ अन्तर्राष्ट्रिय साहसिक खेलकुदको आयोजना गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । कर्णालीमा साहसिक पर्यटनको राम्रो सम्भावना र अवसर भएकाले आफूले प्याराग्लाइडिङ सिक्न चाहने प्रशिक्षार्थीलाई पनि सिकाउने सुनुवारको भनाइ छ ।

करिब सात वर्षपछि सुर्खेतमा प्याराग्लाइडिङ उडान सुरु गरिएकामा सुर्खेत उद्योग वाणिज्य सङ्घले पनि स्वागत गरेको छ । सङ्घका महासचिव लक्ष्मण कँडेलले प्याराग्लाइडिङले प्रदेश राजधानीमा पर्यटन विकासमा टेवा पुग्नुका साथै निरन्तरताको सुझाव दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?