logo
२०८१ जेष्ठ २ बुधवार



अदुवा विक्री नहुँदा किसान मर्कामा

अर्थ |
प्रदेश |
समाज |


अदुवा विक्री नहुँदा किसान मर्कामा
तस्बिर – प्रतीक इच्छुक शर्मा



प्रतीक इच्छुक शर्मा
सल्यान, माघ २४ गते । अन्नबाली छोडेर व्यवसायिक अदुवा खेती गर्दै आएका सल्यानका किसान यसपाली समस्यामा छन् । यस वर्ष उत्पादित अदुवा विक्री नहुँदा यहाँका किसान अदुवाको चाना र सुठाे बनाउन बाध्य छन् । बागचौर नगरपालिका २ का सुरेश वलीले यस वर्ष ४० क्विन्टल अदुवा उत्पादन गर्नुभयो । तर उत्पादित गरेको अदुवा अहिलेसम्म विक्री भएको छैन ।

उहाँले अहिले अदुवालाई सुठाे बनाउनुभएको छ । उहाँले भन्नुभयो ‘घर खर्च चलाउने आय आर्जनको रुपमा व्यावसायिक अदुवा खेती गर्दे आए पनि यो वर्ष विक्री नहुँदा समस्या भएको छ । अदुवा विक्री नहुँदा सुठाे बनाएर राखेका छौँ । पछि भाउ पाइन्छ कि ?’

यस्तै, शारदा नगरपालिका १४ माल्नेका दीपक गिरीले पनि १० रोपनीमा उत्पादन गरेको अदुवा विक्री नहुँदा स्टोर गरेर राखेको बताउनुभयो । उहाँका अनुसार वडाका करिब एक सय परिवारले नगदे बालीको रुपमा अदुवा खेती गर्दे आएका छन् । यसपालि उत्पादित अदुवा विक्री नहुँदा किसान समस्यामा परेका छन् ।

सल्यानका किसानले उत्पादन गरेको अदुवा विक्री नहुँदा केही कुहिएर जान थालेको छ भने केही किसानले सुठाे र चाना बनाउन थालेका छन् । छत्रेश्वरी गाउँपालिका झिम्पेका ताराप्रसाद खड्काले आफूसँग भएको ३० क्वीन्टल अदुवा विक्री नहुँदा सुठाे बनाएको बताउनुभयो ।

किसान मात्र होईन यहाँका स्थानीय संकलनकर्ता पनि अदुवा विक्री नहुँदा मारमा परेका छन् । बाहिरबाट खरिदकर्ता कोही नआउँदा र स्थानीय गल्ला व्यापारीले पनि २० रुपैयाँ प्रतिकिलोमा लिन नचाहेपछि उत्पादन गरेको धेरै अदुवा कुहिन थालेको छ ।

शिद्धकुमाख गाउँपालिका ३ ढोडचौरका स्थानीय ब्यापारी निकुञ्ज गिरीले वाहिर बाट माग नआउँदा किसानबाट खरिद गरेको अदुवा समेत विक्री नभएर त्यतिकै थन्किएको बताउनुभयो । उहाँका अनुसार खरिद भएको अदुवा कुहिन थालेको छ ।

सल्यानमा यो वर्ष एक हजार ७५० हेक्टरमा किसानले अदुवा खेती गरिएको हो । २९ हजार ६७ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत बस्नेतले गत सालको तुलनामा अदुवाको उत्पादन बढेको भए पनि अहिलेसम्म अदुवा निकासी हुन नसकेको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म कुल उत्पादनको ३५ प्रतिशत मात्र जिल्लाबाहिर निकासी भएको छ ।

अदुवा भारत निकासी हुँदै आएकोमा कोरोनाले गर्दा भारतका ठूला व्यापारी अदुवा खरिद गर्न आएका छैनन् जसले गर्दा अदुवा विक्री हुन नसकेको हो । यहाँ उत्पादित अदुवा काठमाडौं, नेपालगन्ज, बुटवल र अधिकांश भारतमा विक्री हुने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?