logo
२०८१ मंसिर ११ मंगलवार



प्राङ्गारिक मलप्रति किसानको आकर्षण बढ्दै

अर्थ |


प्राङ्गारिक मलप्रति किसानको आकर्षण बढ्दै


ढल्केबर समाचारदाता

ढल्केबर, माघ २६ गते । रासायनिक मलको अभाव भइरहेको बेला धनुषाको एक किसानले गँड्यौलाको सहायताले प्राङ्गारिक मल उत्पादन गरेर उदाहरणीय कार्य गर्नुभएको छ । गणेशमान चारनाथ नगरपालिका–९ बरमझियाका ५० वर्षीय रामपुकार यादव आफैँले उत्पादन गर्नुभएका प्राङ्गारिक मल यस वर्ष मात्र १८ क्विन्टल बिक्री गर्नुभयो । दुई बिघा जग्गामा अन्नपात उत्पादन गर्दै आउनुभएका यादवले सुरुमा आफ्नै खेतबारीमा प्रयोग गर्न प्राङ्गारिक मलको उत्पादन सुरु गर्नुभएको थियो । विस्तारै गाउँका अन्य किसानले समेत माग गर्न थालेपछि उहाँले अहिले व्यावसायिक रूपमा मल उत्पादनमा जोड दिनुभएको छ ।

दुई वर्षअघि यूएनडीपीको आर्थिक सहयोगमा सामुदायिक सुधार केन्द्र (सीआईसी) धनुषाले सञ्चालन गरेको गँड्यौलाको सहायताले प्राङ्गारिक मल बनाउने तरिका र प्रयोग विधिसम्बन्धी सात दिनको तालिमबाट सो उत्पादनमा लाग्नुभएको हो । सोही तालिमका आयोजक संस्था सीआईसीले तालिमपश्चात प्राङ्गारिक मल उत्पादन गर्न सात किलो गँड्यौला उपलब्ध गरायो । सुरुमा एउटा भर्मी बेडबाट मल उत्पादन थालेँ । अहिले त्यसैलाई विस्तार गरेर आठवटा भर्मी बेडबाट मल उत्पादन गरिरहेको छु, यादवले भन्नुभयो । सुरुको दिनमा उत्पादित प्राङ्गारिक मल बिक्री गर्न समस्या थियो तर अब यसको महìव धेरैलाई थाहा भएपछि गाउँका मात्र नभएर टाढा–टाढाका किसान मल लिन यहाँ आउने गरेको उहाँले बताउनुभयो ।

कतिपय किसानले त मल बनाउने विधि सिकाइदिन समेत भनिरहेको बताउँदै उहाँले भ्याएसम्म उहाँहरूको घरमै गएर सिकाउने गरेको बताउनुभयो । प्राङ्गारिक मलको प्रयोगले माटोको उर्वराशक्ति निरन्तर कायम रहन्छ र अन्नपात उत्पादनमा समेत वृद्धि भएको उहाँले भन्नुभयो । छिट्टै आफ्नै एउटा कम्पनी दर्ता गराएर प्राङ्गारिक मल बिक्री केन्द्र खोल्न योजनामा रहेको यादवले जानकारी दिनुभयो ।

सामुदायिक सुधार केन्द्र (सीआईसी) धनुषाका अध्यक्ष सञ्जय साहले गाउँघरमा गाईभैँसीको गोबर तथा पातपतिङ्गर प्रशस्त पाउने र मल बनाउन सजिलो हुने हुँदा गणेशमान चारनाथ नगरपालिकाका किसानलाई प्राङ्गारिक मल बनाउने तालिम दिएकोे बताउनुभयो । रासायनिक मलको परनिर्भरता कम गर्ने हुँदा नेपाल सरकारले प्राङ्गारिक मल उत्पादन तथा प्रवद्र्धन कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्ने उहाँले भन्नुभयो ।

नेपालमा प्राङ्गारिक मलको प्रयोगस्थित कमजोर अवस्थामा छ । रासायनिक मलको प्रयोगबाट समेत अपेक्षित उत्पादन भइरहेको छैन । त्यसैले प्राङ्गारिक मल उत्पादनमा जोड दिन तालिम तथा प्राविधिक सहयोग गरेर किसानमा जागरुकता पैदा गर्ने प्रयासमा लागेको अध्यक्ष साहले भन्नुभयो । रासायनिक मल तथा विषादीको बढ्दो प्रयोग तथा बाली चक्र नअपनाउने जस्ता कारणले माटोमा अम्लीयपना घटबढ हुन गई उर्वरा शक्तिमा ह्रास आउने गरेको अध्यक्ष साहले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?