logo
२०८१ बैशाख २२ शनिवार

  नेपालमा विद्युतीय गाडी निर्माण  



प्लान्टका लागि पूर्वाधार निर्माण शुरु, एक वर्षभित्र उत्पादन थाल्ने लक्ष्य

अर्थ |
पढ्नै पर्ने |


प्लान्टका लागि पूर्वाधार निर्माण शुरु, एक वर्षभित्र उत्पादन थाल्ने लक्ष्य


काठमाडौं, माघ २८ गते । नेपालमा पहिलो पटक विद्युतीय सवारीसाधन निर्माणका लागि प्लान्ट निर्माणको काम अघि बढेको छ । रुपन्देहीमा सुन्दर यातायात प्रालिले गाडी निर्माणमा एसेम्बल प्लान्ट सञ्चालन गर्ने गरी भौतिक संरचना निर्माण शुरु गरेको छ । यो नेपालकै पहिलो विद्युतीय सवारीसाधन निर्माण कम्पनी बन्ने भएको छ ।

तीन महिनामा एउटा ठूला बस निर्माण गर्ने लक्ष्यसहित काम अघि बढाएको सुन्दर यातायात प्रालिका इन्जिनियर शैलेन्द्र रजालीले बताउनुभयो । कम्पनीले ठूला बस र कार निर्माण गर्ने उहाँले जानकारी दिनुभयो । भौतिक संरचना निर्माणको क्रममा रहे पनि इन्जिनियरिङ काम भने पूर्ण तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । प्रालिले २०७६ मङ्सिरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरी काम शुरु गर्ने भनिए पनि कोरोना महामारीका कारण काम अघि बढाउन ढिलाइ भएको कम्पनीले जनाएको छ ।

आयातित इन्धनको मूल्य आकाशिएसँगै विकल्पमा विद्युतीय सवारीसाधन मुख्य बनेपछि कम्पनीले चीनको सिचुवान गुहाङ अटोमोवाइल्स र बीएके कम्पनीसँग सहकार्य गरी नेपालमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने गरी काम अघि बढाएको हो । हाल नेपालमा सुन्दर यातायात, साझा यातायातले सार्वजनिक बस सञ्चालन शुरु गरेका छन् भने बाँकी निजी रुपमा गाडी, कार र स्कुटरहरु गरी ४० हजारभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् । तर यी सवारीसाधन विदेशबाटै आयात गरिएका हुन् ।
कोरोना महामारीका कारण प्रभावित बनेको काम हाल भौतिक संरचना निर्माण शुरु भएको र एक वर्षभित्रमा बस निर्माण थाल्ने लक्ष्य कम्पनीले गरेको छ । कम्पनीले बजार मागको आधारमा सवारीसाधन उत्पादन गर्ने जनाएको छ । प्लान्ट निर्माणका लागि एक अर्ब लगानी लाग्ने जनाएको छ । यता मन्त्रालयसँग छलफल गरेपनि त्यसपछि विभागसँग कोही सम्पर्कमा नआएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताउनुभयो । तर विद्युतीय सवारीसाधन निर्माणसँगै प्रयोगमा बृद्धि हुनु राष्ट्रको हितमा भएको विभागले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

गत मङ्सिरदेखि नेपाल विद्युत प्राधिकरणले विद्युतको शुल्क सहुलियतमा समायोजन गरिसकेको छ भने विद्युतीय सवारीसाधन चार्जिङ गर्न सस्तो दरमा छुट्टै विद्युत मिटर राखी विद्युत उपलव्ध गराउने निर्णय प्राधिकरणले गरेसँगै विद्युतीय सवारीसाधन प्रयोगकर्तामा बृद्धि हुन थालेको भञ्सार विभागको तथ्याङ्कले देखाएको छ । प्राधिकरणले पहिलो चरणमा उपत्यकामा १५ र उपत्यकाबाहिर ३५ वटा चार्जिङ स्टेशन निर्माण गर्ने र त्यसपछि पाँच सय स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको जनाएको छ । विद्युतीय गाडीका लागि पर्याप्त चार्जिङ स्टेशन निर्माणका लागि सुन्दर यातायात प्रालि र विद्युत प्राधिकरणले काम अघि बढाएको छ भने विद्युतीय सवारीसाधन निर्माण चिनियाँ कम्पनी विवाइडिले समेत नेपालमा चार्जिङ स्टेशन निर्माणमा चासो देखाएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?