logo
२०८१ बैशाख १५ शनिवार



चामल किन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी

अर्थ |


चामल किन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी


काठमाडौँ, माघ २९ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले डेढ लाख क्विन्टलभन्दा बढी चामल खरिद गर्ने भएको छ । लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि कम्पनीले चामल खरिद गर्न लागेको हो । कम्पनीका अनुसार चामल खरिद गर्न कम्पनीले टेन्डर आह्वान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले यस पटक एक लाख ६२ हजार क्विन्टल चामल खरिदका लागि टेन्डर आह्वान गरेको जानकारी दिनुभयो ।

कम्पनीले धनगढीबाट ३९ हजार क्विन्टल, नेपालगञ्जबाट २९ हजार क्विन्टल, वीरगञ्जबाट २० हजार क्विन्टल, लहानबाट १५ हजार क्विन्टल चामल खरिदका लागि टेन्डर आह्वान गरेको छ । यस्तै, बिर्तामोडबाट पाँच हजार, विराटनगरबाट सात हजार, भैरहवाबाट नौ हजार, काठमाडौँबाट आठ हजार पाँच सय र तुलसीपुरबाट पाँच हजार क्विन्टल चामल खरिदका लागि टेन्डर गरेको छ ।

कम्पनीका कार्यकारी अधिकृत चन्दका अनुसार खुला प्रतिस्पर्धाबाट चामल खरिद गरिनेछ । यसअघि धान खरिद गरी चामल कुटाएर बिक्री गर्दै आएकामा गुणस्तरयुक्त धान नपाएपछि चामल खरिद गर्न लागिएको उहाँले बताउनुभयो ।

सरकारले तोकेको धानको समर्थन मूल्यभन्दा सस्तो वा महँगोमा धान खरिद गर्न कम्पनीले नसक्ने भन्दै कार्यकारी अधिकृत चन्दले खाद्य कम्पनीको किसानको मेहनत मूल्य दिने र उपभोक्तालाई सस्तोमा चामल उपलब्ध गराउने दोहोरो दायित्व हुने हुँदा निजी क्षेत्रले जस्तो गर्न सक्दैनौँ भन्नुभयो ।

सरकारले गत भदौमै चालू आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा प्रतिक्विन्टल धानको मूल्य गत वर्षभन्दा १७ रुपियाँ बढाएर न्यूनतम समर्थन मूल्य तोकेको थियो ।

मन्त्रालयका अनुसार मोटा धानका लागि प्रतिक्विन्टल मूल्य दुई हजार ७५२ रुपियाँ र मध्यम धानको मूल्य दुई हजार ९०२ रुपियाँ तोकेको छ । सरकारले किसानको उत्पादन लागत, नाफा २० प्रतिशत र ढुवानीसमेत जोडेर धानको समर्थन मूल्य गत वर्षभन्दा वृद्धि गरेको थियो ।

कम्पनीका अनुसार अहिलेसम्म विभिन्न जिल्लाबाट सात हजार ४४२ क्विन्टल धान खरिद गरेको छ । चालू आर्थिक वर्षमा तीन लाख २० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेकोमा अहिले कम्पनीले लक्ष्यभन्दा कम परिमाणमा धान खरिद गरेको छ ।

व्यवसायीले किसानबाट धान थन्क्याउने समयमै खरिद गरिसकेपछि बजारमा अभाव भएको हो । सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार हाल एक लाख ६६ हजार ३४६ क्विन्टल खाद्यान्न मौज्दात रहेको छ । सुगम जिल्लामा ६० हजार ६५२ क्विन्टल चामल, २४ दुर्गम जिल्लामा २३ हजार क्विन्टल चामल मौज्दात रहेको छ । दुर्गम र सुगम जिल्लामा गरेर ८३ हजार ६९३ क्विन्टल चामल मौज्दात रहेको कम्पनीले जानकारी दिएको छ । यस्तै कम्पनीसँग ७९ हजार ३१५ क्विन्टल धान र तीन हजार ३३७ क्विन्टल गहुँ मौज्दात रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हालसम्म सुगम जिल्लामा ४४ हजार १२० र दुर्गम २४ जिल्लामा ५७ हजार क्विन्टल खाद्यान्न वितरण गरेको छ । दुर्गम जिल्लामा नियमित रूपमा खाद्यान्न ढुवानी भइरहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले मार्सी चामल, गहुँ, कर्णालीको सिमीलगायतका अन्य खाद्यान्न बिक्री गर्दै आएको छ । उपभोक्तालाई राहत दिनका लागि बजार मूल्यभन्दा सस्तोमा खाद्यान्न बिक्री गरिरहेको कम्पनीको दाबी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?