logo
२०८० चैत्र १५ बिहीवार



प्रणय दिवसमा रातो गुलाफको अढाई लाख स्टिक माग : दस प्रतिशत मात्रै स्वदेशी उत्पादन

अर्थ |


प्रणय दिवसमा रातो गुलाफको अढाई लाख स्टिक माग : दस प्रतिशत मात्रै स्वदेशी उत्पादन


काठमाडौँ, फागुन २ गते । प्रेमको प्रतीक मानिने रातो गुलाफ पनि आयातमै भर पर्नुपर्ने अवस्था छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का अनुसार यो वर्षको भ्यालेन्टाइन डे (सोमबार, फेब्रुअरी १४) दुई लाख ५० हजार गुलाफ खपत हुने अनुमान रहेकामा स्वदेशको उत्पादनले लगभग १० प्रतिशत मात्रै धान्ने देखिएको छ । अघिल्ला वर्ष मागको २५ प्रतिशत रातो गुलाफ नेपालको उत्पादनले धान्दै आएको थियो ।

फ्यानका महासचिव विश्वमणि पोखरेलले कारोनाको कारण विगत दुई वर्षदेखि थप लगानी नभएको तथा माघको सुरुदेखि घाम नलागेका कारण यस वर्ष रातो गुलाफ उत्पादनमा कमी आएको जानकारी दिनुभयो । उहाँका अनुसार यसपटक प्रणय दिवसका लागि आइतबारसम्म भारतबाट दुई लाख रातो गुलाफ आइसकेको छ ।

फ्यानका अनुसार गतवर्ष एक लाख ८० हजार स्टिक रातो गुलाफको बजार माग थियो भने यस वर्ष ७० हजार स्टिक थप माग हुने प्रक्षेपण गरिएको छ । अघिल्लो वर्ष बजार मागको लगभग २५ प्रतिशत स्वदेशी उत्पादन थियो । हरेक वर्ष दुई करोड रुपियाँको गुलाफको कारोबार हुने गरेको छ । यसरी ल्याइने फूलमध्ये ५० प्रतिशत काठमाडौँ उपत्यकामा र अन्य बाँकी देशका मुख्य सहरमा खपत हुन्छ । यस वर्ष गुलाफप्रति स्टिक १०० देखि १२० रुपियाँ पर्ने बताइएको छ । यो मूल्य विगतको भन्दा बढी हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?