खोटाङ समाचारदाता
खोटाङ, फागुन ५ गते । खोटाङको सदरमुकाम दिक्तेलस्थित रत्नपार्कमा सपिङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क निर्माण सम्पन्न भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्त रूपमा उद्घाटन गरेर पार्क सञ्चालनमा आएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको साझेदारीमा सपिङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क निर्माण भएको हो । पर्यटन मन्त्रालयको दुई करोड ५७ लाख र नगरपालिकाको एक करोड ८० लाख ८४ हजार ७५१ रुपियाँ गरी चार करोड ३७ लाख ८४ हजार ७५१ रुपियाँमा पार्क निर्माण गरिएको हो ।
२०७८ वैशाख २६ गते भएको सम्झौताअनुसार २०७९ वैशाख २६ गते निर्माण सम्पन्न गर्नुपर्ने थियो तर निर्माण कम्पनीले सम्झौता भन्दा तीन महिनाअघि नै संरचना निर्माण गरेर नगरपालिकालाई बुझाएको हो । गत वर्ष जेठ ५ गते कोरोना कहरकै समयमा पार्कको शिलान्यास गरिएको थियो ।
सपिङ कम्प्लेक्सका लागि बनाइएको भवनको पहिलो तलामा १४ वटा सटर र माथिल्लो तलामा रेस्टुरेन्ट हल र स्टलका लागि पाँचवटा कोठा रहेका छन् । चिल्ड्रेन पार्कमा बालबालिकाका लागि विद्युतीय पिङ, सामान्य पिङ, घोडा सवार, कोलम्बस, पौडी पोखरीलगायतका संरचना निर्माण भएको छ ।
सपिङ कम्प्लेक्सको केही सटरमा कोसेली घर, नगरपालिकाको तरकारी, कृषि उपज सङ्कलन केन्द्रलगायतका स्टल राखेर अन्य कोठा व्यावसायिक प्रयोजनकै लागि भाडामा लगाउने नगरको योजना छ । चिल्ड्रेन पार्कमा न्यूनतम शुल्क लिएर बालबालिकालाई मनोरञ्जन दिलाइने नगरपालिकाले जनाएको छ ।
सपिङ कम्प्लेक्सको एउटै छानामुनि नुनदेखि सुनसम्मका व्यवसाय सञ्चालन गर्ने सकिने नगरप्रमुख रिजालले बताउनुभयो । सपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कलाई पाँच वर्षका लागि भाडामा दिन नगरपालिकाले सोमबार न्यूनतम दुई लाख ९७ हजार रुपियाँमा ठेक्का आह्वान गरिसकेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २०७७ साल भदौ २ गतेको सूचनामार्फत माग भएको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि नेपाल सरकार मन्त्रीस्तरकोे निर्णयअनुसार साझेदारी आयोजनाका रूपमा सपिङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क छनोट भएको हो । सो संरचना नगरपालिकाको मातहतमा रहनेछ ।
सञ्चालनमा आएको सपिङ कम्प्लेक्ससहितको चिल्ड्रेन पार्क दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आन्तरिक आम्दानीको स्रोत बन्नेमा नगरपालिका ढुक्क छ । यसबाट वार्षिक ५० लाख रुपियाँभन्दा बढी आम्दानी हुने नगरप्रमुख रिजालले बताउनुभयो ।