logo
२०८१ जेष्ठ १ मंगलवार



व्यवसायले फेरियो सन्तोष चौधरीको जीवनशैली

अर्थ |
प्रदेश |


व्यवसायले फेरियो सन्तोष चौधरीको जीवनशैली
सन्तोष चौधरीले सञ्चालन गर्नुभएको कुखुरा फर्म । तस्बिर : धीरेन्द्रप्रसाद साह/राजविराज


धीरेन्द्रप्रसाद साह
राजविराज, फागुन ५ गते । गफिएर दिन बिताउँदै आउनुभएका सन्तोष चौधरीले थोरै लगानीमा व्यवसाय सुरु गरेदेखि उहाँको दैनिकी फेरिएको छ । बिना काम दिनभरि बरालिएर हिड्नेगरेको चौधरीले सुरु गरेको व्यवसायमा उहाँको परिवारका अन्य सदस्यहरु रोजगार पाउनुको साथै आश्रित हुनुभएको छ ।

सप्तरीको खडक नगरपालिका ११ स्थित साढे दुई कट्ठा जग्गामा व्यवसायिक माछापालन, कुखुरा पालन, हाँस पालन गर्नुभएको चौधरीको मसिक २५ देखि ३० हजार रुपियाँ कमाइ भइरहेको उहाँको भनाई छ । धान, गँहु मात्र उत्पादन भइरहने खेतमा सानो पोखरी र पोखरीको डिलमा कुखुरा फर्म, हाँस फर्म सञ्चालन गर्नुभएको छ ।

उन्नत जातको साठीवटा हाँसबाट दैनिक ४१ वटा अण्डा दिनेगरेको बताउँदै सन्तोषले भन्नुभयो, “उन्नत जातको हाँसले लगातार ६ महिनासम्म अण्डा दिन्छ । औषतमा हाँसको अण्डा र तयारी कुखुरा बिक्रीबाट दैनिक दुई हजारदेखि तीन हजार रुपियाँसम्म कमाइ भइरहेको छ ।” पछिल्लो दुई महिनामा ७० देखि ८० हजार रुपियाँ कमाइ भएको उहाँले आफ्नो व्यवसायमा श्रीमती र बुवाले साथ सहयोग गरिरहेको बताउनुभयो ।

कृषि फर्म सुरु गर्नुअघि दिनभरि जुवातास खेलेर बिताउनेगरेको अनुभव सुनाउँदै यसले घरपरिवारमा समस्या हुनेगरेको उहाँले बताउनुभयो । आफन्तको सुझाव सल्लाह र सहयोगमा सुरु गरिएको व्यवसाय अरुको सिकाइ स्रोत पनि बनेको उहाँको भनाई छ । कुखुरा फर्ममा दैनिक २० देखि २५ जना आएर व्यवसायबारे जानकारी लिनेगरेको उहाँले बताउनुभयो । व्यक्तिगत दुई लाख ३० हजार लगानीमा सुरु गरेको फर्मबाट भइरहेको कमाइले परिवार सन्तुष्ट रहेको उहाँले बताउनुभयो ।
सन्तोष चौधरीले सञ्चालन गरेको कुखुरा फर्म । तस्बिर ः धीरेन्द्रप्रसाद साह÷राजविराज

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?