logo
२०८१ मंसिर ११ मंगलवार



भारतीयलाई क्यूआरबाटै भुक्तानी सुविधा

अर्थ |


भारतीयलाई क्यूआरबाटै भुक्तानी सुविधा


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ६ गते । भारतीय नागरिकले नेपालमा रहँदा भारतीय भुक्तानी सेवा प्रदायककै क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सक्ने भएका छन् । यसका लागि युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआई नेपाल) सञ्चालनका लागि सम्झौता भएको छ ।
नेपालको गेटवे पेमेन्ट सर्भिस प्रालि र भारतस्थित एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको हो ।

अब आगामी तीन महिनाभित्रै भारतबाट आउने नागरिकले क्यूआर स्क्यान गरेर नेपालमा भुक्तानी गर्न सक्ने गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेश मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली नागरिकलाई पनि भारतमा स्क्यान गरेर भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराउन पाउने तयारी भइरहेको छ । “राष्ट्र बैङ्कका सम्पूर्ण प्रावधानसहित छ महिनाभित्र नेपालीलाई पनि भारतमा नेपालकै भुक्तानी सेवा प्रदायकको क्यूआर प्रयोग गर्ने सुविधा उपलब्ध हुनेछ,” उहाँले भन्नुभयो ।

सुरुमा भने यो सुविधा भारतबाट आउने नागरिकले मात्र पाउनेछन् । सम्झौतासँगै विभिन्न बैङ्क तथा पेटीएम, गुगलपे, फोनपेजस्ता भुक्तानी सेवा प्रदायकमार्फत नेपालस्थित कुनै पनि बैङ्क खाता वा वालेटमा रकमान्तर गर्न सक्ने मानन्धरले जानकारी दिनुभयो । अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित भुक्तानीको सन्जाल यूपीआई भारतमा एनपीसीआईले सञ्चालन गरिरहेको छ ।

कम्पनीसँगको सम्झौताले नेपालमा पनि नगदरहित समाजमा रूपान्तरण गर्न ठूलो सहयोग पुग्ने उहाँले बताउनुभयो । सम्झौतामा नेपाली कम्पनीका तर्फबाट अध्यक्ष कमलनाथ प्रधान र भारतमा एनपीसीआई इन्टरनेसनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा मनम इन्फोटेकका नागाबाबु रामिनेनीले हस्ताक्षर गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?