‘‘दालै खाने जुम्ली सिमी त झन गजब स्वादिलो छ । स्वाद पाएका सबैका लागि प्रिय बनिरहेको जुम्ली सिमी सहरी भान्सासम्म रमाएको छ । त्यहाँको खाएकालाई अन्य ठाउँका खाँदा स्वाद नै आउँदैन ।’’ यो अनुभव कर्णालीको मास र सिमीको दाल नियमित उपभोग गर्ने काठमाडौँ सतुङलका दिनेश श्रेष्ठको हो । काठमाडौँमा खाद्यवस्तुको थोक व्यापार गर्दै आउनु भएका श्रेष्ठ आफ्नो पसलमार्फत आम उपभोक्ताको माग अनुसारका तराई तथा भारतीय बजारबाट आएका सस्ता सामान बिक्री गर्नुहुन्छ तर आफूले भने मासको दाल र सिमीका गेडा, कोदो र फापरको पिठो जुम्ला कर्णालीकै खानुहुन्छ ।
देख्दा त्यति आकर्षक नभए पनि खाँदा कर्णालीका खाद्यवस्तुको जस्तो स्वाद अन्य ठाउँको नभएको उहाँको अनुभव छ । श्रेष्ठले खाने सामान अचेल उपत्यकाकै बजारमा सहजै पाइन्छ । एक पटक कर्णालीको खाद्यवस्तुको स्वाद चाखेका उपभोक्ताले महँगो मूल्य तिर्न कत्ति पनि अप्ठ्यारो नमान्ने गरेको अनुभव काठमाडौँमा कर्णालीका सामान बिक्री गर्ने विवेक पण्डितको छ । पछिल्लो पटक त कर्णालीको ब्राण्ड दिएर चोक चोकमा बिक्री हुने नक्कली सामानको बिगबिगीले गर्दा आफूजस्ता सक्कली सामान बिक्री गर्नेका लागि ठूलो चुनौति भएको बताउनुभयो । अहिले त अधिकांश ग्राहकले कर्णालीकै हो भनेर प्रमाणित गर्ने प्रमाणसमेत खोज्न थालेकाले पनि आफूहरूलाई काम गर्न अझै गाह्रो भएको भोगाइ पण्डितले सुनाउनुभयो ।
स्याउदेखि मार्सी चामल, कोदोको पिठो, आलु, कागुनो, मह हुँदै ओखर र सिमीसम्म सहर चर्चामा आइपुगेका कर्णालीका उत्पादन ठूला माटदेखि अनलाइनमा किनमेल गर्न पाइन्छन् । त्यसैले त वानेश्वरका सुहृद चापागाईजस्ता धेरैको व्यापार कर्णालीकै ब्राण्डमा मौलाएका छन् । उहाँले कर्णालीका किसानसँग सिधा सम्र्पक गरेर त्यहाँ उत्पादित खाद्यवस्तु उपत्यकामा भित्राउनुहुन्छ । विगत चार वर्षदेखि चापागाईले द लोकलस्को अनलाइनमार्फत उपत्यकावासी उपभोक्तालाई कर्णालीका खाद्यवस्तुुसँग जोड्दै आउनुभएको छ । उहाँको अधिकांश समय उपत्यकावासी उपभोक्तासमक्ष कर्णालीका खाद्यवस्तुको अनलाइनमा अडर लिएर घर–घरमा पु-याउँदैमा बित्छ । उपत्यकाका तीन सय बढी उपभोक्ताले नियमितरूपमा उहाँमार्फत कर्णालीको खाद्यवस्तु किनेर उपभोग गर्दै आएका छन् ।
चापागाईले जुम्लाको सिमी, मार्सी चामल, स्याउ, जिम्बू, हुम्ला र डोल्पाको चिनो, कागुनो, कोदो र फापरको पिठो किसान वा त्यहाँका स्थानीय सहकारीमार्फत काठमाडौँ ल्याएर गरेर बिक्री गर्दै आउनुभएको छ । जुम्ला, डोल्पा, हुम्ला, कालीकोटका खाद्यवस्तु सुर्खेत वा नेपालगञ्जतिर आए भने सिमावट हुने धेरै सम्भावना हुन्छ, उहाँले भन्नुभयो ‘‘किसानसँग किनेर हामी सिधैँ काठमाडौँमा ल्याउँछौँ, जस्ताको त्यस्तै उपभोक्ताको घरसम्म पुर्याउँछौँ ।’’ द लोकलस् ब्राण्डले परिचित उहाँलाई आफ्नो ब्राण्डको साख जोगाएर राख्न कम्ती चुनौति छैन ।
त्यसैले त उहाँ कर्णालीका किसानबाट बदमासी नहोस् भनेर अरूले भन्दा महँगो दिएर किसानलाई खुसी पार्नुहुन्छ । उहाँको अनुभवमा द लोकलस्सँग जोडिएका ग्राहक गुणस्तरमा ‘नो कम्परमाइज’ तर गुणस्तरीय सामानका लागि पैसा तिर्न उहाँहरूलाई कुनै अप्ठारो छैन । द लोकलस्ले सामानको गुणस्तर र स्वाद परीक्षण गरेर मात्रै सामानको मूल्य दिने हुँदा अहिलेसम्म गुणस्तरमा समस्या नभएको चापागाईको दाबी छ ।
नक्कलीको बिगबिगी
कर्णालीका अर्गानिक खाद्यवस्तुको नाम जति प्रचलित हुँदैछ उति त्यसका ‘रैथाने ब्राण्ड’ का नाममा नक्कली बिक्री बढीरहेको छ । नामले चल्ने उत्पादनमा तोडमोड हावी भइदिँदा साँच्चै जुम्लादेखि ल्याइएका सामानमा पनि अविश्वास बढ्न थालेको उपभोक्ताको भनाइ छ । सहरका चोक चोकमा बिक्रीमा ‘अर्गानिक’ नाम दिएर राखेका सबै सिमी जुम्लाकै हुन् त ? काठमाडौंमा चोकचोकमा पाउने गरी जुम्लामा सिमी उत्पादन भएको छ ? स्थानीय व्यापारी भने सिमी, हुम्ला र जुम्ला पाइने हो अहिले उत्पादन भइरहेको सिमीको तथ्याङ्कलाई हेर्दा जुम्ली सिमी सुर्खेत, नेपालगञ्ज, पोखरा र काठमाडौंसम्म छ्यापछ्याप्ती पुग्ने गरी उत्पादन नै नभएको बताउँछन् । कर्णालीको खाद्यवस्तु यति ठूलो बजारमा खोजेजति पाउने गरी उत्पादन नभएको उनीहरूको भनाइ छ ।
रैथाने बाली संरक्षणको कार्यक्रम
कर्णाली प्रदेश सरकारले कर्णालीमा जिल्लामा रैथाने बाली संरक्षणको कार्यक्रम सञ्चालन गरेको छ । यी जिल्लामा रैथाने बाली संरक्षणका लागि पनि सङ्घीय, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो तरिकाले संरक्षणका कार्यक्रम सञ्चालनमा छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले प्रदेशका रैथाने बाली संरक्षणका लागि अर्गानिक प्रदेश बनाउने नीति कार्यान्वयनमा ल्याएको बताउनुभयो । मन्त्री शाहीको अनुभवमा कुनै समय साविकको भेरी र कर्णाली अञ्चलका जिल्लामा लटरम्म रैथाने बाली फल्थे । यस्ता बालीको उत्पादन धेरै हुन्थ्यो । कृषकको आकर्षण पनि उत्तिकै थियो । पछिल्लो समय ती बाली कमै मात्र उत्पादन हुन्छन् ।
कर्णाली प्रदेशमा अधिकांश रैथाने बाली लोपोन्मुख अवस्थामा छन् । तीबे संरक्षणका लागि पनि अर्गानिक नीति आवश्यकता महसुस गरेर कार्यान्वयनमा ल्याइएको उहाँको भनाइ छ । तर भौगोलिक विकटता, जलवायुु परिवर्तन, कानूनी, आर्थिकलगायतका कारणले उक्त कार्यक्रम जति सफल हुनुपथ्र्यो त्यति हुन नसकेको स्वीकार गर्दै मन्त्री शाहीले भन्नुभयो, ‘‘त्यसो भन्दैमा कर्णालीभर नै अर्गानिक उत्पादन हुन छोडेको भने होइन, अहिले पनि जुम्ला, हुम्ला, डोल्पा, कालीकोटलगायतका माथिल्लो भेगका जिल्ला पूर्ण अर्गानिक छन् । त्यहाँ सिमी, आलु, जिम्बू, चिनो, कागुनो, ओखर, स्याउ अर्गानिक हुन् ।’’ मन्त्री शाहीका अनुसार, प्रदेश कृषि मन्त्रालयले प्रत्येक जिल्लामा रैथाने बाली संरक्षणका कार्यक्रम सञ्चालन भएका छन् । उहाँले पछिल्लो पटक जलवायुु परिवर्तनको असरले देखा परेको बढ्दो तापक्रमले गर्दा कतिपय ठाउँमा रैथाने बाली फल्नै छोडिसकेका तिनको संरक्षणमा चुनौती थपिएको बताउनुभयो । अर्कोतिर कृषककै अरुचिका कारण खाद्य सुरक्षा र पोषणका दृष्टिले महत्वपूर्ण मानिने बालीको संरक्षण हुन नसकेको उहाँको भनाइ छ ।
प्रदेशलाई अर्गानिक प्रदेश भनेर घोषणा गरियो, कृषि आधुनिकरणसँगै भित्रिएका कृषि औजार, प्रविधि, मल र बिउबिजनका कारण रैथाले बाली हराउन अवस्थामा छन् । यसलाई नियन्त्रण गर्न सकेका छैनौँ । छोटो समयमा धेरै उत्पादन हुने बीउप्रति किसानको लगानी र आकर्षण बढ्दै जाँदा पनि रैथाने बाली लोभ हुने अवस्था छन् । प्रदेश सरकारले यस प्रदेशमा कृषि प्रवद्र्धन गर्नका लागि मात्रै आठ अर्ब विनियोजन गरेको छ । कर्णालीमा उत्पादन हुने खाद्यवस्तुको बजार सुर्खेत, नेपालगञ्ज र त्यसपछिको ठूलो बजार काठमाडौं उपत्यका हो । यही मागले होला अचेल कर्णालीका किसानको घरसम्मै पनि व्यापारीहरू सिमी, आलु, स्याउ, मास, ओखर, कोदो र फापर किन्न पुग्न थालेका छन् ।
अहिले कर्णालीको सिमीमा उपत्यकाको बजारमा प्रतिकेजी २५० देखि ३०० रुपियाँसम्ममा बिक्री भइरहेको छ । जुम्ला, हुम्ला र डोल्पामै सिमीको प्रतिकेजीको १६० देखि १८० रुपियाँ पर्छ । जुम्ला हुम्ला, डोल्पामा अधिकांश क्षेत्रमा सिमी खेती हुन्छ । बैशाखमा रोपेको सिमी असारमा उत्पादन हुन्छ । साउनमा रोपेको सिमी असोजमा उत्पादन हुन्छ । ती जिल्लामा एक दर्जन रैथाने जातका सिमी उत्पादन हुन्छ । ती सिमी कतिपय तरकारी र दाल दुवै रुपमा त कतिपय दालका रुपमा प्रयोग हुन्छन् ।
उत्पादन विदेश निर्यात
जुम्ली मार्सी चामल, जैविक सिमी, ओखर, कोदो र फापरको पिठोलगायत कृषिवस्तुका माग अन्तर्राष्ट्रिय बजारमा बढ्न थालेको छ । कर्णालीबाट हरेक वर्ष १८ हजार केजी खाद्य सामग्री क्यानाडा निर्यात हुँदै आएको छ । यी खाद्यवस्तुलाई ब्राण्डिङ गरेर विदेश निर्यात गर्ने काम अर्गानिक एण्ड सुपरफुडका सञ्चालक राज शाहीले गर्दै आउनुभएको छ । उहाँको अनुभवमा कर्णालीका खाद्यवस्तु राम्रा गुणस्तरीय हुन् भनेर विदेशमा निर्यात गर्न सजिलो छैन । यसका प्रक्रिया असाधै झनझटिला छन् तर पनि उहाँको निरन्तरको प्रयासले गत वर्षदेखि कर्णालीका उत्पादन क्यानडामा निर्यात हुँदै आएको छ । कृषिमा अध्यायपनसमेत गराउने उहाँले कर्णालीका खाद्यान्न अन्तर्राष्ट्रिय बजारमा पु-याउने आफू पहिलो व्यक्ति भएको दाबीसमेत गर्नुभयो । उहाँले क्यानाडामा रहेका नेपालीसँगको समन्वयमा यो वर्ष आठ हजार केजी सिमी, पाँच हजार मार्सी चामल, ओखर, फापर र कोदोको पिठो पाँच हजार केजी गरी १८ हजार केजी सामान पठाउने तयारी गरेको जानकारी दिनुभयो ।
व्यवसायीकरणको खाँचो
नेपालको कर्णालीका ५ जिल्ला मुगु, कालीकोट, हुम्ला, जुम्ला, डोल्पामा रैथाने बाली पाइन्छन् । यी जिल्लामा मुख्य गरी कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, सिमीजस्ता रैथाने बाली पाइन्छन् । कृषकले रैथाने बालीको व्यवसायीकरणमा झेल्नु परेको प्रमुख समस्या भनेको उक्त बालीको बीउ सहज उपलब्ध नहुनु रहेको बताउँदै आएका छन् । कृषकलाई रैथाने बालीको बीउ सहज उपलब्ध गराउन सरकारले कृषक समूह र सहकारी मातहतका फार्म केन्द्रहरू तथा अनुसन्धान केन्द्रहरूमार्फत यी बालीहरूको बीउ उत्पादनमा जोड दिनुपर्ने सरोकारवालाको जोड रहेको छ । रैथाने बालीको व्यवसायीकरण गर्दा वातावरण, मानव स्वास्थ्य तथा माटोमा पर्न सक्ने नकारात्मक प्रभावको पूर्व मूल्याङ्कन गरी सोही बमोजिम दिगो र सन्तुलित व्यवसायीकरण गरिनुपर्छ । आज रैथाने बाली लगाउने र उपयोग गर्ने कर्म निकै कम भएको पाइन्छ ।
गरीबको आहारा धनीको रोजाइ
पोषण विज्ञ डा. अरुणा उप्रेतीका अनुसार पहिले भारतलगायत अन्य मुलुकबाट खाद्यवस्तु आयात नहुने भएकाले पनि किसान यी बालीका उब्जानीलाई विशेष प्राथमिकतामा राखी उत्पादन गर्ने गर्दथे तर हाल खाद्यवस्तुको सहज आयातले किसान रैथाने बाली लगाउनुभन्दा आयात गरिएको खाद्यवस्तु उपभोग गरिरहेका छन् । उहाँले पछिल्लो पटक केही व्यक्ति सचेत भएर चामलको तुलनमा चिनो र कागुनोमा सबै खाले पोषण तत्व पाइने भन्दै रैथाने बालीको शहरी क्षेत्रमा दिनदिनै माग बढ्दै गएको बताउनुभयो ।