मुना हमाल
लोकसाहित्य, लोकसंस्कृति, प्रकृति, सम्पदा र भाषाका दृष्टिले कर्णाली सम्पन्न छ । जसको जगमा टेकेर कर्णालीको पर्यटन अगाडि बढ्ने कोसिस गरिरहेको छ । सडक र सञ्चारको पहुँच विस्तारसँगै ‘कर्णालीको कहर’ अब ‘समृद्धिको अवसर’ मा बदलिँदै छ ।
इतिहासतिर घोत्लिने हो भने, कर्णाली र भेरी नदीको सेरोफेरोमा राज्य र जौटाहरू अर्थात् ‘बाइसे राज्य’ थिए । त्यो बेलाका जुम्ला, डोटी, जाजरकोट, बाजुरा, गजुर, बिसकोट, माल्नेटा, थलहरा, दैलेख, दुल्लु, डुर्याल, तुल्सीपुर दाङ, सल्यान, चिल्ली, फलाबाघ, जहारी, दर्नार, आठबीस, गोताम, मजाल, गुर्णकोट र रुकुम गरी २२ राज्यका धेरै भाग अहिले कर्णाली प्रदेशमा नै छन् । जसलाई समेटेर इतिहासका पाइला पछ्याउँदै त्यसलाई पर्यटकीय गन्तव्यका रूपमा संरक्षण र विकास गर्न सकिने प्रसस्त सम्भावना जिउँदैछन् । उच्च हिमाली र पहाडी भूभागयुक्त कर्णालीका जडीबुटीका साथै जैविक विविधता पर्यटनको अर्को महìवपूर्ण आयाम छ । वैभावपूर्ण कलाकौशलयुक्त सुर्खेतको काँक्रेबिहार होस् कि प्राकृतिक सौन्दर्यकी खानी रारा ताल पर्यटकको रोजाइमा पर्दै आएका छन् ।
सुर्खेत बुलबुल ताल
माया मै सानो हुनाले
छुट्यो मायाजाल
स्थलमार्गबाट कर्णाली प्रवेशको ढोका मानिने सुर्खेतको बुलबुले तालका बारेमा नसुन्ने सायद कमै होलान् । जसले पर्यटकीय प्रवद्र्धनमा समेत योगदान गरिरहेको छ । नेपथ्यको झम्काइ देउ झम्काइ देउ गीत होस् वा क्याराभान चलचित्र, कर्णालीको पर्यटन प्रवद्र्धन भई नै रहेको छ । सुर्खेत उपत्यकामा शताब्दी पुरानो कलाकौशलको प्रतीक काँक्रेबिहार इतिहासको एउटा कालखण्डका रूपमा जीवित छ । त्यस्तै, प्रसिद्ध धार्मिक गन्तव्य देउतीबज्यै मन्दिर, दैलेखको ज्वाला, पञ्चकोसी, दुल्लु, श्रीस्थान, नाभिस्थानलगायतका शक्तिपीठ र गुम्बाहरू आध्यात्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित छन् । तालको प्रदेशका रूपमा चिनिने कर्णालीको मुगुमा रारा ताल, डोल्पामा से–फोक्सुण्डो ताल, रुकुम पश्चिममा स्यार्फु ताल, सल्यानमा कुपिण्डे दह, सुर्खेतमा बराह तालले पर्यटक लोभ्याइ नै रहेका छन् ।
नेपालकै सबैभन्दा लामो झरना पचाल झरना, कान्जिरोवा हिमाल, सिस्ने हिमाल, छायानाथ हिमाल, चङ्खेली हिमाल र जुम्लाको सिँजा उपत्यकाले पर्यटनको अथाह सम्भावना बोकिरहेका छन् । सम्भावना कै कुरा गर्दा, नुनका लागि गुहार मागिरहने कर्णाली अब पर्यटकीय गन्तव्यको सुन बेच्न तयार छ ।
साहसिक पर्यटनको गन्तव्य
कर्णाली प्रदेशलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा पनि लिइन्छ । यहाँ प्याराग्लाइडिङ, साईकलिङ, जलयात्रा, बञ्जीजम्प, पदमार्ग, हिमाल आरोहणजस्ता सम्भावनाका अध्ययन भई नै रहेका छन् । कर्णाली नदी र भेरी नदीका पहाडी बहावमा जलयात्रा र डुङ्गा सञ्चालनमा छन् । सुर्खेतमा भेरीको जामुदेखि कर्णालीको कुहिनेसम्म -याफ्टिङ सञ्चालन भइरहेका छन् । कर्णालीको सबैजसो जिल्लामा -याफ्टिङ सञ्चालन गर्न सकिन्छ । दैलेखका तल्लो डुङ्गेश्वर, सल्यानको सल्लीबजार, कालीकोटको जितेगडा, हुम्लामा कर्णाली, डोल्पा ठूलीभेरीलगायतका ठाउँमा पनि -याफ्टिङको सम्भावना रहेको जैसी बताउनुहुन्छ ।
प्याराग्लाइडिङका पाइलट सानुबाबु सुनुवारका अनुसार साहसिक पर्यटनको गन्तव्यका रूपमा कर्णाली अगाडि बढिरहेको छ । उहाँ भन्नुहुन्छ, “साहसिक पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेको प्रदेश कर्णाली हो ।”
प्याराग्लाइडिङ मार्फत कर्णालीका नौवटा जिल्लामा उडिसकेको सुनुवार भन्नुहुन्छ, “सबैभन्दा लामो झरना र नदी पनि यहीँ छ । नेपाली भाषाको उद्गमस्थल कर्णाली प्रदेश नै हो । यसकारण हामीले यहाँ पर्यटनका नयाँ गन्तव्यहरू पहिल्याउन सक्छौँ ।”
सुर्खेतमा प्याराग्लाइडिङ र जलयात्राको रोमाञ्चक अनुभूति गर्न सकिन्छ । कठिन भौगोलिक परिवेश भएको कर्णालीले साहसिक यात्रा र अविस्मरणीय अनुभूतिको प्रशस्त अवसर पर्यटकलाई दिएको छ । त्यसैले पनि कर्णालीलाई साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना जिउँदो छ ।
शिखर आरोहण, लोपोन्मुख वन्यजन्तुको अवलोकन, ऐतिहासिक र पुराताìिवक स्थलको भ्रमण तथा कर्णाली नदीको जलयात्रा गर्न सकिन्छ । खासगरी धार्मिक तथा साहसिक यात्राका लागि आन्तरिक पर्यटकका साथै भारतीय र तेस्रो मुलुकबाट समेत आउने गरेका छन् ।कर्णालीमा हिमाल आरोहणको सम्भावना पनि उत्तिकै छ । कर्णालीका हिमाल आरोहणका हिसाबले नयाँ छन् । त्यस्ता हिमालको पहिचानसमेत आवश्यक छ । कान्जिरोवा हिमाल, सिस्ने हिमाललगायतका हिमालहरू आरोहणका लागि प्रवद्र्धन गर्न सकिन्छ । यसवर्ष कर्णाली प्रदेश सरकारले हिमाल आरोहण आफ्नै खर्चमा गराउँदै पनि छ । यसका लागि ६० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । कर्णालीको हिमाल प्रवद्र्धनका हिसाबले यो महìवपूर्ण अभियान हुने अपेक्षासमेत राखिएको छ ।कर्णालीले पहिलो पटक कान्जिरोवा हिमालको आरोहण गराउने योजना अगाडि सारेको छ । आठ हजार माथिका कर्णालीका हिमाल आरोहण गर्ने आरोहीलाई सरकारले सम्पूर्ण खर्च बेहोर्ने योजना छ । उद्योेग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोसीले कर्णालीको पर्यटनलाई साहसी गन्तव्यको रूपमा चिनाउन खोजिएको बताउनुहुन्छ ।
पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि
कर्णालीमा पर्यटन क्षेत्रबाटै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । पर्यटन क्षेत्रबाटै समुदाय स्तरमा रोजगारी सिर्जना हुने भएकाले ग्रामीण अर्थतन्त्रमा सुधार गर्न सकिन्छ । कर्णालीका उत्पादन पर्यटकसम्म पहुँच पुग्छ । उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही पर्यटन क्षेत्रबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुहुन्छ । पर्यटन क्षेत्रमा संरक्षण, प्रवद्र्धनसँगै निजी क्षेत्रको लगानी भिœयाउन सके कर्णालीका नागरिकले आफ्नै ठाउँमा रोजगार पाउने शाही बताउनुहुन्छ । शाहीकै नेतृत्वमा सुर्खेतमा प्याराग्लाडिक सुरु भएको छ । उहाँ भन्नुहुन्छ, “पर्यटन क्षेत्रबाटै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । यस कारण यहाँको पर्यटन प्रवद्र्धन र विकास गर्न जरुरी छ ।”
कर्णालीको पर्यटन प्रवद्र्धनका लागि सरोकार निकायले ध्यान दिनुपर्ने धारणा उहाँको छ । कर्णालीको पर्यटन विकासका लागि पर्यटन पूर्वाधारको विकासमा समेत राज्यले लगानी बढाउनुपर्ने माग उहाँको छ । विमानस्थलको सुधार, सडकको स्तरोन्नति, स्तरीय होटल तथा रेष्टुराँमा लगानी वृद्धि, होमस्टेको विकासजस्ता कार्यमा सरकार र सरोकार निकायको ध्यान जानुपर्ने धारणा उहाँको छ । हुम्लाका पर्यटन व्यवसायी रिनजिन लामा कर्णालीमा पर्यटनको सम्भावना भए पनि कमजोर पूर्वाधारले गर्दा सोचेअनुसार अघि बढ्न नसकेको बताउनुहुन्छ । पैदलमार्गबाट कैलाश पर्वत जाने ढोकाका रूपमा हुम्ला जिल्लालाई चिनिन्छ । कैलाश जाने भारतीय नागरिक कर्णालीहुँदै त्यसतर्फ जान्छन् । भारतबाट कर्णालीहुँदै वार्षिक नौ हजारदेखि १५ हजारसम्म भारतीय पर्यटक आउँछन् । जति पर्यटक आउँछन्, उत्तिनै यहाँका मानिसहरूको जीवनशैलीमा सुधार भएको व्यवसायी लामाको बुझाई छ ।
पर्यटन प्रवद्र्धनका गुरुयोजना
कर्णाली प्रदेश सरकारले १० वर्षे पर्यटन गुरुयोजना तयार गरेको छ । कर्णालीको गन्तव्य स्थल भनेर सूची तयार गरेको छ । गुरुयोजनामा रणनीतिक पर्यटकीय क्षेत्रसमेत तोकिएका छन् । डोल्पो पर्यटन क्षेत्र, मध्यभेरी पर्यटन क्षेत्र, मध्य कर्णाली पर्यटन क्षेत्र, रारा–जुम्ला–कालीकोट पर्यटन क्षेत्र, हुम्ला लिमी हिल्सा पर्यटन क्षेत्र तोकिएका छन् । यद्यपि, कर्णाली प्रदेशमा पर्यटनको धेरै सम्भावना भए पनि यसको विकास र प्रवद्र्धनमा सोचेअनुसार लगानी हुनचाहिँ सकेको छैन । गुुरुयोजनामा अल्पकालीन र मध्यकालीन (आर्थिक वर्ष २०७७/७८ देखि ८०/८१) तथा दीर्घकालीन (आर्थिक वर्ष २०८१/८२ देखि २०८६/८७) दुई चरणको अवधारणा अघि सारिएको छ । अल्पकालीन र मध्यकालीन चरणमा सुदृढीकरण, योजना, सचेतना जगाउने, विकास गर्ने, बजार विस्तार र विविधीकरण गर्ने योजना रहेको छ । त्यस्तै, दीर्घकालीन योजनामा सञ्चालन विशिष्टीकरण, सुधार विस्तार, सम्भार र बजार व्यवस्थापन गर्ने योजना रहेको छ ।
गुरुयोजनामा आन्तरिक पर्यटक आगमनको दर वार्षिक औषत १२ दशमलव छ प्रतिशतले वृद्धि हुने उल्लेख गरिएको छ । कर्णालीमा सन् २०२९ सम्म १५ लाख आन्तरिक पर्यटक आउने अनुमान गरिएको छ । भारतीय र तेस्रो मुलुकका पर्यटक २७÷२८ प्रतिशतले वृद्धि हुने लक्ष्य राखिएको छ । दस वर्षमा भारत र अन्य मुलुकबाट दुई/दुई लाख पर्यटक आउने लक्ष्य लिइएको छ । प्रदेश गुरुयोजनामा कर्णालीमा सन् २०२९ सम्म एक लाख ५० हजारले पर्यटन क्षेत्रमार्फत रोजगारी पाउने अपेक्षा गरिएको छ । सन् २०२९ सम्ममा प्रादेशिक गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पु¥याउने लक्ष्य गुरुयोजनाले लिएको छ । १० वर्षसम्म सुुविधासम्पन्न एक हजार सात सय ५० वटा होटल तथा रिसोर्टहरू बन्ने अपेक्षा छ । १० वर्षमा अन्तर्राष्ट्रिय विमानस्थल एक, क्षेत्रीय दुई र स्थानीय आठवटा विमानस्थल बनाइने लक्ष्य छ । मन्त्रालयका सचिव जोसीका अनुसार, गुरुयोजनाको सेरोफेरोमा रहेर प्रदेश सरकारले पर्यटनसम्बन्धी गतिविधि सञ्चालन गरिरहेको छ ।