logo
२०८१ मंसिर १० सोमवार



कर्णालीको आशा नलगाड जलविद्युत् आयोजना

अर्थ |


कर्णालीको आशा नलगाड जलविद्युत् आयोजना


सहदेव बस्नेत

विकासको प्रमुख पूर्वाधारमा सडक, बिद्युत र सञ्चारलाई लिइन्छ । मुलुक सङ्घीयतामा गएपछि विकास पूर्वाधार निर्माणले समेत फड्को मार्ने प्रयास गरिरहेको पाइन्छ । सोही क्रममा कर्णाली प्रदेशको समृद्धिको महत्वपूर्ण पाटोका रुपमा नलगाड जलविद्युत आयोजना अगाडि बढेको छ । यो आयोजना जाजरकोटबासीका लागि समेत एउटा आशाको दीयो बनेको छ । ४१७ मेगावाट क्षमताको जलासययुक्त नलगाड आयोजनाको निर्माण कार्यसँगै जाजरकोट वासीका लागि रोजगारीको अवसर प्रदान गरेको छ । नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावल भन्नुहुन्छ, “आयोजनाले नागरिकमा आसा र भरोसा ल्याएको छ ।”

यस जलविद्युत आयोजनाको पहिचान सन् २००० तिरै भएको हो । जलासय आयोजना पहिचान सम्भाव्यता अध्ययनको सिलसिलामा (सन् १९९९–२००१) जलासययुक्त आयोजनाहरू ९३ वटा पहिचान भएका थिए । त्यसमध्य नलगाड जलासय आयोजनालाई पहिलो प्राथमिकता राखिएको थियो । आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन सन् २०१२ मा नेपाल विद्युत प्राधिकरणले गरेको थियो । यस आयोजनालाई थप कार्यान्वयनको चरणमा लैजान विक्रम सम्वत् २०६९ सालमा विकास समिति गठन गरिएको थियो । २०७४ वैशाख ७ गतेको मन्त्रिपरिषद् बैठकले विकास समिति विघटन गरी कम्पनी मोडेलमा आयोजना विकास गर्ने निर्णय गरेको थियो । सोही अनुसार २०७४ जेठ १४ मा नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडको स्थापना भयो ।

अष्ट्रेलियन कम्पनी स्मेक, अष्ट्रेलियाको एमडब्लुएच र नेपालको उदय जेभीले (संयुक्त उपक्रम) ले नलगाड (४१७ मेगावाट) को विस्तृत अध्ययन, टेण्डर डकुमेन्ट तयारी र डीपीआर निर्माणको कार्य गरिरहेको छ । सो आयोजनाको विद्युत गृहका लागि नलगाड नगरपालिका–७ दल्लीमा प्रस्ताव गरिएको छ । त्यस्तै, बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको बाँधस्थल प्रस्तावित छ ।

आयोजनाको जलासयको उचाइ २१० मिटर र चौडाई ५४५ मिटर फराकिलो रहनेछ । छ वर्ष छ महिनाभित्र पूरा गर्ने लक्ष्य लिइएको आयोजनाको जलासयको उचाइ दुई सय १० मिटर र चौडाई पाँच सय ४५ मिटर रहनेछ । जलासय भरिदा चार सय ७४ करोड घनमिटर पानी भण्डारण हुनेछ । आठ हजार तीन सय मिटर लामो भूमिगत सुरुङ निर्माण गरी ४१७ मेगावाट विद्युत् उत्पादन हुने डिपिआरमा उल्लेख छ । नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत विद्युतगृह निर्माण गर्ने प्रस्ताव छ । बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म ८.५ किमी लामो मुख्य सुरुङ र २ देखि ३ किलो मिटरसम्मका तीनवटा सहायक सुरुङ बनाउनुपर्ने हुन्छ ।

आयोजनाको उपआयोजनाको रुपमा कालीमटी खन्टाकुरा, सिर्केहुँदै अधेरीखोलासम्मको २२ किलोमिटर र कालीमटी, खारा, लैखमहुँदै अधेरीखोलाको १० किलोमिटर सडक निर्माण कार्य सम्पन्न भइसकेको छ । त्यस्तै, कालीमाटीदेखि लैखमसम्म जोड्ने ११ किमी सडक आयोजनाले कालोपत्रे गरेसँगै वारेकोटवासीले सडक सञ्जालमा जोडिने मौका पाएका छन् । सडक सञ्जालको विकाससँगै जिल्लामा उत्पादित कृषि उत्पादन तथा वहुमुल्य जडिवुटीलाई बजार लैजान सहज भएको छ । वर्षेनी करोडौंको जडिबुटी व्यापार हुने सो क्षेत्रका वासिन्दाको आर्थिक उपार्जनमा यसले मद्दत पुर्याउने विश्वास स्थानीयको छ ।

आयोजनाका कार्यकारी प्रमुख रामकाजी थापाका अनुसार सन् २०१६ मा तीन वर्षमा डीपीआर सक्ने गरी नलगाड जलविद्युत कम्पनी र स्मेक, एमडब्लुएच जेभी उदयबीच सम्झौता भएको थियो । हालसम्म ८५ प्रतिशत परियोजना कार्य सम्पन्न भएको छ । परियोजनको कार्य तथा निर्माणस्थलमा सडक, क्याम्प, जग्गाको मुअब्जा वितरण, सुरक्षा व्यवस्थापन कार्यसमेत गरि पाँच अर्ब रकम खर्च भइसकेको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाका अनुसार नलगाड जलविद्युत आयोजनाबाट ९४५ परिवार प्रभावित हुन्छन् । उनीहरूलाई करिव दुई अर्ब ७६ करोड ३१ लाख १२ हजार ७९८ रुपियाँ मुआब्जा वितरण गरिसकिएको छ । आयोजनाका कारण यति ठुलो रकम स्थानीयले प्राप्त गर्नुले पनि स्थानीय अर्थतन्त्रमा प्रभाव पार्ने भनाई उहाँको छ ।

आयोजनाले अहिलेसम्म चार हजार रोपनी जग्गा अधिग्रहण गरिसकेको छ  । परामर्शदाता कम्पनीले चार वर्षअघि ३० महिनामा डीपीआर सम्पन्न गर्ने गरी जलविद्युत् कम्पनीसँग एक अर्ब ११ करोड रुपैयाँमा सम्झौता भको थियो । कोरोना महामारी, बिस्फोटक पदार्थको अभाव, सडक पहुँच नपुगेकाले सामान ढुवानीमा कठिनाईका कारण डीपीआरको काममा थप ढिलाइ भएको आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर पदम थापाका अनुसार कम्पनीले डीपीआर अन्तर्गतका अरू काम पूरा गरे पनि पावरहाउस क्षेत्रको रक मेकानिकल टेस्ट र बाँधस्थलको टेस्ट अडिट अझै पूरा गरेको छैन । हालसम्म साइटमा तीन सय २० मीटर टेस्ट टनेल खन्ने काम सम्पन्न भएको र ५५ मिटर टनेल खन्ने काम बाँकी रहेको थापाको भनाई छ । परामर्शदाता कम्पनी स्मेक तर्फका आयोजना प्रमुख बाबुराम भारद्वाजले आयोजनाको काममा केही प्राविधिक कारणले ढिलाई भएको बताउहुन्छ ।

सन् २०१२ को मूल्य अनुसार आयोजनाको अनुमानित लागत एक खर्ब आठ अर्ब २६ करोड रुपैयाँ छ । यसको प्रतिकिलोवाट लागत एक हजार आठ सय अमेरिकी डलर पर्ने सन् २०१२ को अध्ययनले देखाएको थियो । त्यतिबेला अध्ययन हुँदा यसको जडित क्षमता ४१० मेगावाट भनिएको थियो । जलासययुक्त आयोजना भएकाले ४१ करोड ९६ लाख घनमिटर पानी जम्मा पार्ने पोखरी बनाउनुपर्ने छ । त्यस्तै चार सय केभीको ११२ किलोमिटर डबल सक्र्यूट प्रसारण लाइन बाँकेको कोहलपुर सवस्टेसनसम्म बनाउनुपर्ने भएकाले यो आयोजना महङ्गो भएको बताइन्छ ।

यस आयोजनाबाट उत्पादन भएको बिजुली उपभोक्तासम्म पुग्दा प्रतियुनिट औसत १६ रुपैयाँ नौ पैसा पर्ने अध्ययनले देखाएको छ । नलगाड जलविद्युत् निर्माण भएमा यसले कूल वार्षिक ऊर्जा एक अर्ब ४० करोड युनिट उत्पादन गर्न सक्छ । यसमध्ये सुख्खायामको ऊर्जा ६३ करोड ४२ लाख युनिट छ ।

यस आयोजनामा लगानी गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले चासो देखाएको छ । त्यस्तै, विश्व बैंक तथा एशियाली बैंक जस्ता बहुराष्ट्रिय लगानीकर्ताहरू जलविद्युत आयोजनामा लगानी गर्न रुची एवं चासो देखाउन थालेका छन् । त्यस्तै देश भित्रका विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसमेतले जलविद्युत क्षेत्रमा लगानी गर्न उत्सुकता देखाएका छन् ।

कृषक लक्षित आजआर्जन परियोजना
आयोजनालाई लक्षित गर्दै स्थानीय कृषकहरूलाई आयआर्जनका कार्यक्रम थालिएको छ । स्थानीयस्तरमा उत्पादन हुने मह, तरकारी, सुन्तला, मकैं, धान, कागती, टिमुर, आलु, प्याज, लसुन, अलँैची जस्ता मसलाबाली, बाख्रा, भेडा, भैँसी, गाई जस्ता पशुपालन, स्याउ, ओखर, नास्पातीलगायत फलफुल तथा बालीबस्तुको पकेट क्षेत्र घोषणा गरी लगानी विस्तार गरिएको छ ।

आयोजनाले जिल्लाको समग्र विकासका साथै समावेशी, सशक्तिकरणका विविध क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने अपेक्षा स्थानीयको छ । सांसद शक्तिवहादुर बस्नेत नलगाड जलविद्युत आयोजना निर्माणसँगै कर्णालीका जनताको आर्थिक तथा सामाजिक जीवनमा आमुल परिवर्तन आउने बताउनुहुन्छ । आयोजना निर्माणसँगै हरेक जाजरकोटी जनताले कर्मचारीले पेन्सन पाए सरह शेयर वापत रकम वुझ्न पाउने सांसद बस्नेतको भनाई छ ।

कर्णाली प्रदेस सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेश प्रसाद सिंह यस जलासययुक्त आयोजनाले पर्यटनको विकासमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गर्नुहुन्छ । आयोजना निर्माणपछि सो क्षेत्रमा निर्माण हुने भौतिक पूर्वाधारको अवलोकनका लागि आन्तरिक पर्यटक आकर्षित हुने जसले स्थानीय अर्थतन्त्रको विकासमा टेवा पुग्ने अपेक्षा उहाँको छ ।

नलगाडका प्रमुख टेकबहादुर रावल कर्णाली प्रदेशको विकासको पूर्वाधारका रुपमा रहेको महत्वपूर्ण यस आयोजनालाई राष्ट्रिय प्राथमिकतामा राखेर काम गर्न सरकारसँग माग र पहल गरिरहेको बताउनुहुन्छ । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कमानवहादुर खड्का नलगाड विद्युत आयोजना निर्माणहुदै गर्दा यहाँका उद्योग व्यापारले समेत फड्को मार्ने बताउनुहुन्छ । आयोजना निर्माणका लागि करीव पाँच हजार जनशक्ति परिचालन हँुदा यहाँका होटल व्यापार लयायतको क्षेत्रमा निकै फाइदा पुग्ने खड्काको भनाई छ ।

जीविकोपार्जनका लागि कालापहाड तथा खाडी मुलुकमा जानु पर्ने वाध्यतामा रहेका जाजरकोटवासीका लागि यस आयोजनाले रोजगारीको समेत सिर्जना गरेको छ । यस आयोजनाले सो क्षेत्रमा पार्ने सामाजिक र आर्थिक विकासप्रति स्थानीय आशावादी रहेका छन् । स्थानीय युवा इन्द्र प्रसाद शर्मा भन्नुहुन्छ, “हजारौं युवाले यस आयोजनामा आफ्नो सीप र दक्षता अनुसारको रोजगारमा आवद्ध हुने आसा राखेका छन् ।”

आयोजनाले आर्थिक गतिविधिसमेत बढाउने भएकाले यसबाट रोजगारी सिर्जनासमेत हुने धारणा उहाँको छ । नलगाड नगरपालिका–४ का वडा अध्यक्ष लक्ष्मी रावल नलगाड जलविद्युत आयोजनाको डिपिआरकै क्रममा कृषकहरूले आफ्ना उत्पादन बेचेर फाइदा लिएको बताउनुहुन्छ । कृषकले आफ्ना उत्पादनहरू दही, दुध, घिउ, मह, तरकारीलगायत खाद्यवस्तु बेचेर आम्दानी लिएको उहाँको भनाई छ । आयोजना नै सञ्चालनमा आएपछि कृषि उत्पादनको बिक्रीमा बृद्धि हुने अपेक्षा उहाँको छ । जिल्ला समन्वय समिति जाजरकोटका संयोजक मनवहादुर रावल यस आयोजनाले स्थानीयस्तरमा सेयर जारी गरेपछि स्थानीय पुँजी परिचालन हुने बताउनुहन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?