logo
२०८१ बैशाख १७ सोमवार



पर्यटक नआउँदा होटलमा गरेको लगानी जोखिममा

अर्थ |
प्रदेश |


पर्यटक नआउँदा होटलमा गरेको लगानी जोखिममा


राजन रावत
हुम्ला, फागनु ७ गते । आम्दानी बृद्धि गर्ने भन्दै जिल्लाका होटलमा लगानी गरेको बीस करोडभन्दा बढी रकम जोखिममा परेको व्यवसायीले बताएका छन् । दुर्गममा सुबिधा सम्पन्न होटल स्थापना गरी सञ्चालनमा ल्याए पनि विभिन्न कारणले चल्न नसकेपछि लगानी जोखिममा परेको व्यवसायीहरुको भनाइ छ ।

होटेल मानसरोवरका सञ्चालक रिन्जिन लामाले पर्यटन प्रवर्द्धन गर्न र आम्दानी स्रोत बृद्धि गर्न ठूलै लगानी गरेर स्थापना गरिएको होटेल चल्न नसक्ने अबस्थामा आएको बताउनुभयो । रोजगारी सृजना गर्ने, आम्दानी बढाउने उद्देश्यसाथ होटल स्थापना गरिएको भए पनि कोरोनाको कारण सिजनल रुपमा चल्ने होटल बन्द गर्नुपरेपछि लगानी जोखिममा परेको उहाँको भनाइ छ ।

होटल निर्माण गरेर सञ्चालन गरेको दुई वर्षसम्म राम्रै आम्दानी गरेका होटलले कोरोनाकालमा कमाइ गर्न नपाएको गुनासो उहाँले सुनाउनुभयो । पाहुनाको पर्खाइमा होटल कुरेर बस्नुको विकल्प ब्यबसायीसँग नरहेको उहाँले बताउनुभयो ।

होटल संघ हुम्लाका अध्यक्ष मीनबहादुर लामाले हुम्लाका स्थानीय युवाहरुले होटलमा लगानी गरेको बीस करोडभन्दा बढी रकम जोखिममा परेको बताउनुभयो । युवाहरुले मानसरोवर कैलाश दर्शनका लागि २०७३ सालपछि भारतीय पर्यटकहरु धेरै आउन थालेपछि हौसिएर लगानी गरेको भए पनि दुई वर्ष लगातार सीमा बन्द हुँदा भारतीय पर्यटक आउन नसकेको उहाँले बताउनुभयो ।

हुम्ला सदरमुकाम सिमकोटमा मात्र पर्यटकीय होटलहरु दर्जन बढी छन् । वर्षौ लगाएर कमाई गरेको रुपियाँ व्यवसायीले होटलमै लगानी गरेर जोखिममा परेको पीडा सुनाएका छन् । व्यबसाय नचल्दा होटल व्यवसायीमा खिन्नता आएको उहाँले बताउनुभयो । कतिपय व्यवसायीलाई बैंकको कर्जा तिर्न समस्या भइसकेको छ, लामाले भन्नुभयो ।

सिमकोटमा पर्यटकीय होटेलहरुमा सनभ्याली, होटेल विजय, मानसरोवर, रलिङ, तिब्बतीयन, सनराईज, हुम्ला रिसोर्ट, मानसरोवर, एलिस लगायतका होटल सञ्चालनमा छन् । सदरमुकाम सिमकोटका व्यवसायीको मात्र यो समस्या भने नरहेको व्यवसायीको बुझाइ छ । चीनको सिमाना हिल्सामा पनि छ वटा पर्यटकीय होटलहरु  छन् । ती होटेल पनि दुई वर्षदेखि बन्द रहेको व्यवसायीको भनाइ छ । अहिले हिल्साका होटेलहरु कुरुवाका भरमा रहेको उहाँहरुको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?