logo
२०८१ मंसिर ८ शनिवार



कालीगण्डकी खोँचमा साहसिक पर्यटन

अर्थ |
पर्यटन |


कालीगण्डकी खोँचमा साहसिक पर्यटन


नवीन शिशिर विक

मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत जिल्लालाई फन्को मारेर स्याङजाहुँदै तराईतिर झर्ने कालीगण्डकी शालीग्रामका लागि प्रसिद्ध छ । हिन्दु सम्प्रदायमा शालीग्रामको धार्मिक महत्त्वसमेत ठूलो छ । त्यसैले कालीगण्डकी नदी धार्मिक र सांस्कृतिक दृष्टिले पवित्र, प्रसिद्ध र महत्त्वपूर्ण मानिन्छ । धार्मिक पर्यटनका हिसाबले कालीगण्डकी क्षेत्रको आफ्नै विशेषता पनि छ । सो क्षेत्रमा आन्तरिक तथा विदेशी हजारौँ पर्यटकले भ्रमण गर्ने गरेका छन् । कठिन भौगोलिक बनोट र चिसो हावापानीका कारण कालीगण्डकी क्षेत्रको भ्रमण साहसिक यात्रासमेत हो । अहिले सो क्षेत्र सहासिक पर्यटकीय गन्तव्यको रूपमा समेत विकास भएको छ । नदीले निर्माण गरेका गहिरो खाँचो, गल्छीहरू साहसिक पर्यटकीय गन्तव्य बनेका छन् । साहसिक पर्यटनमा लगानी बढाउन व्यवसायी उत्साहित छन् भने पर्यटकहरू जोखिमको आनन्द लिन रुचाइरहेका छन् ।

विश्वकै लामो झोलुङ्गे पुल
कालीगण्डकीमा साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित गोल्डेन ब्रिज निर्माण गरिएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने गण्डकी गोल्डेन ब्रिजको लम्बाइ ५६७ मिटर रहेको छ । विश्वकै लामो झोलुङ्गे पुलका रूपमा गोल्डेन ब्रिजलाई दाबी गरिएको छ । बागलुङ नगरपालिकाको पहलमा नेपाल सरकारले निर्माण गरेको यो पुलले स्थानीयवासीलाई कालीगण्डकी वारपार गर्नसमेत सहयोग पुगेको छ । सो पुल निर्माणपछि पाङ अदुवाबारीमा साना ठूला होटल तथा रेष्टुरेन्ट खुलेका छन् । कालीगण्डकीको डिलमा जडान गरिएका पिङले साहसिक पर्यटकलाई आकर्षित गरिरहेको छ । कालीगण्डकीको खोँचमाथि जडान गरिएको पुल पार गर्नसमेत पर्यटक जाने गरेका छन् । पुल हेर्नकै लागि बागलुङ बजारमा रात बिताउने गरी पर्यटक आउने क्रम सुरु भएको होटल व्यवसायी तालबहादुर कुँवरको भनाइ छ ।

खाँेचमाथि अर्बाैंको लगानी
कालीगण्डकीले बनाएका डरलाग्दा खोँच स्थानीयका लागि सधैँ खतरा मात्र थियो । पर्यटन क्षेत्रमा नयाँ आयाम थपिएसँगै त्यो अवसरमा बदलिएको छ । निजी क्षेत्रहरू साहसिक पर्यटनका क्षेत्रमा लगानी गर्न उत्साहित भएका छन् । पर्वत र बागलुङको बलेवा क्षेत्र साहसिक पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदैछ । कालीगण्डकीका डरलाग्दा खोँचमाथि निजी क्षेत्रले अर्बांै लगानी गरिरहेका छन् । पर्वतमा निजी क्षेत्रकै लगानीमा कुश्मा बलेवा यान्त्रिक पुल सञ्चालनमा छ । विश्वकै दोस्रो अग्लो बञ्जिजम्प, विश्वकै अग्लो स्वीङ र क्यानोनिङ, जिपलाइनले साहसिक गन्तव्यका रूपमा परिचित गराउँदै छ ।

साहसिक बञ्जी

युवा पुस्तामा साहसिक र जोखिमपूर्ण कार्यप्रति रुचि बढ्दो छ । जसलाई पर्यटन व्यवसायीले आकर्षित गरिरहेका छन् । त्यही आकर्षणको केन्द्र बनिरहेको छ, कालीगण्डकीका डरलाग्दा खोँच । कालीगण्डकीको डिलमा उभिएर खोँचतिर हेर्नसमेत नसकिने ठाउँमा अहिले हाम्फालेर मज्जा लिनेको भीड लाग्छ ।

द क्लिप कम्पनीले कालीगण्डकी नदीमाथि २२८ मिटर अग्लो बञ्जी जम्प निर्माण गरेको छ । कम्पनीले एड्भेञ्चर परियोजनाका रूपमा विश्वकै अग्लो स्वीङ, स्काई साइकलिङ, गुलेली पिङ, फेमिली पिङ, स्काई रिसोर्ट, क्रस ब्रिज, स्काई चियर र हर्स राइडिङ जस्ता पर्यटन पूर्वाधार तयार गरेको छ । स्काई रिपोर्टमा दुई जना बसेर खाना मिल्ने गरी व्यवस्थापन गरिएको छ । त्यहाँ स्काई साइकलको माध्यमबाट खाना र पानी पु-याउने गरिएको सञ्चालक राजु कार्कीको भनाइ छ । कम्पनीका अध्यक्ष राजु कार्कीका अनुसार सो क्षेत्रमा हालसम्म ४८ करोड रुपियाँ लगानी भइसकेको छ । एक दशक अघिसम्म पर्यटक नदेखिने सो क्षेत्रमा अहिले साहसिक पर्यटकको रोजाइ बन्दै गएको छ । सो क्षेत्रमा अहिले ४८ वटा साना ठूलो रेष्टुरेन्ट र होटल खुलिसकेका छन् ।

‘सुपरम्यान’ जीपलाइन
सहासिक पर्यटनमा रमाउन चाहने पर्यटकको लागि कालीगण्डकी नदी वारपार गर्न मिल्ने गरी तयार गरिएको ‘सुपरम्यान’ शैलीको जीपलाइन अर्काे आकर्षक गन्तव्य हो । हार्नेस प्रालिद्वारा निर्माण गरिएको जीपलाइन कालीगण्डकीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुन्छ । सुरुवाती गति प्रतिघण्टा १३० किलो मिटरको रफ्तारमा बग्न सकिन्छ । एक हजार ४८० मिटरको दूरी पार गर्दा कालीगण्डकी नदी दुई पटक पार गर्दै एडभेन्चर रिसोर्टमा पुगिन्छ ।

यान्त्रिक पुल
कालीगण्डकी नदी माथि करिब सात वर्षअघि निर्माण भएको कुश्मा बलेवा यान्त्रिक पुल पनि साहसिक पर्यटनको नमुना हो । निजी क्षेत्रको करिब छ करोड लगानीमा निर्माण भएको यान्त्रिक पुलले कुश्मा र बागलुङ जिल्लाको बलेवा क्षेत्रका बासिन्दाको दैनिक आवतजावतमा समेत सहयोग पुगेको छ । पुल निर्माणपछि आन्तरिक पर्यटकको आवागमन बढेको स्थानीय बताउँछन् ।

साहसिक खेल क्यानोनिङ
पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित महभीर झरनामा साहसिक खेल क्यानोनिङ सुरु भएको छ । साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल धौलागिरि क्षेत्रमै पहिलो पटक सञ्चालन गरिएको हो । ११० मिटर अग्लो झरनामा एक दशकको प्रयासपछि व्यावसायिक रूपमा क्यानोनिङ सुरु भएको हो । दुर्लुङ क्यानोनिङ एण्ड क्याभिङ प्रालिले झन्डै दस लाख रुपियाँको लागतमा यो खेल सुरु गरेको हो । पर्वत सहासिक पर्यटनको ‘हब’ बन्दै गएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको भनाइ छ ।

शालीग्राम सङ्ग्रहालय
विष्णु भगवान्को रूपमा पुजिने शालीग्राम पाइने एक मात्र नदी हो, कालीगण्डकी । हिन्दु धर्मशास्त्रमा शालीग्रामको ठूलो महिमा गाइएको छ । कालीगण्डकी नदी उत्खननले शालीग्रामको अस्तित्व नै सङ्कटमा पारेपछि सङ्ग्रहालयको अवधारणा अगाडि बढाइएको छ ।
बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गबेङटेस मुक्तिनाथ मन्दिर परिसरमा भूमिगत ‘स्वामी श्रीधराचार्य शालीग्राम सङ्ग्रहालय’ निर्माण गरिएको छ । करिब छ करोड रुपियाँ लागतमा निर्माण गरिएको शालीग्राम सङ्ग्रहालय अवलोकनका लागि आउने पर्यटकसमेत वृद्धि भइरहेको छ ।

कालीगण्डकी नदीमा शालीग्राम सहजै पाइन्न । सहजै पहिचान गर्नसमेत कठिन हुन्छ । त्यसैले शालीग्राम शीलाको महìव र त्यसको अवलोकन गर्न चाहनेका लागि सङ्ग्रहालय आकर्षक गन्तव्य बनेको छ । सङ्ग्रहालयमा गण्डकी सभ्यताको प्रतिरूप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनी कक्षसमेत निर्माण गरिएको छ । एक सय मिटर लामो सुरुङको प्रवेशद्वार नजिकै दामोदरकुण्डदेखि त्रिवेणीसम्मको धार्मिक र सांस्कृतिक सम्पदाको नमुना तयार पारिएको छ ।

कालिका मन्दिर
धार्मिक पर्यटनको आकर्षणका रूपमा रहेको कालीगण्डकी क्षेत्रमा प्रसिद्ध कालिका भगवती मन्दिर पनि छ । बागलुङ–पर्वत जोड्ने मालढुङ्गाको पुल तरेर करिब दुई किलो मिटर उकालो चढेपछि कालिका भगवती मन्दिर पुगिन्छ । मध्यपहाडी लोकमार्ग हुँदै पनि मन्दिर पुग्न सकिन्छ । कालिका मन्दिर धार्मिक पर्यटनका लागि मात्र प्रख्यात छैन, प्राकृतिक सौन्दर्यले पनि भरिपूर्ण छ ।
जङ्गलको बीच भागमा अवस्थित मन्दिर क्षेत्रको मनोरम प्राकृतिक दृश्य, अग्लाअग्ला सालका रुख, मन्दिर परिसरमा निर्माण गरिएको वन्यजन्तु पार्क, मन्दिर पछाडिको ‘भ्यू पोइन्ट’ र कलात्मक कृति एवं वास्तुकलाले पर्यटकलाई लोभ्याउने गरेको छ ।

सर्वसिद्धिधाम पञ्चकोट

पाँच कोटहरूको सङ्गमस्थल हो, पञ्चकोट । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पञ्चकोट, ताराजालकोट, कारिकोट, माझकोट, राङराङकोट र संसार कोटको गरी पाँच कोटको संयुक्त रूप नै पञ्चकोट हो । बागलुङ जिल्लाकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलका रूपमा पञ्चकोट विकास भइरहेको छ । आध्यात्मिक चिन्तन, मनन र प्रकृतिमा रमाउने पर्यटकका लागि छुटाउनै नहुने क्षेत्र हो, पञ्चकोट । बागलुङ बजारदेखि करिब छ किलो मिटरको दूरीमा पर्ने पञ्चकोटसम्म सडक मार्गको पहुँचसमेत छ । पञ्चकोट क्षेत्रबाट दर्जनभन्दा बढी हिमशृङ्खला देख्न सकिन्छ । सो मन्दिरको काष्ठकला र मूर्तिले जोसुकैलाई लोभ्याउँछ । हिमालको अगाडि ठडिएको विशाल हनुमानको मूर्ति नै पञ्चकोटको मुख्य आकर्षण बनेको छ ।

पवित्र नदी श्रीकृष्ण गण्डकी (कालीगण्डकी) को तटमा रहेको रमणीय पञ्चकोटबाट अन्नपूर्ण, धौलागिरी, निलगिरीजस्ता हिमशृङखलाको अवलोकन गर्न सकिन्छ । कालीगण्डकी नदीका नागबेली खोँच, बागलुङ बजार, उपल्लाचौर तथा कँुडुले, कुश्मा, पाङ र बलेवा क्षेत्रका फाँट, म्याग्दीको भकुण्डेदेखि राखुभगवतीसम्मका ग्रामीण परिवेश, जनजीवन, ग्रामीण बस्ती अवलोकन गर्न सकिन्छ । सो क्षेत्रमा गर्मीमा चिसो र जाडोमा न्यानो घाम पर्ने हुँदा अवलोकनका लागि कुनै निश्चित मौसम कुर्नु पर्दैन । स्वामी कमलनयनाचार्यको परिकल्पनामा कलात्मक शिखर शैलीमा निर्मित गण्डकीमाताको मन्दिर, सिसमहल, कलापूर्ण गरुडशीला, विशाल पर्वत धारण गरेका पवनपुत्र हनुमान, गणेश मन्दिर, सिंह गुफा, ध्यानकुटी, स्थानीय गौवंश संरक्षण केन्द्रजस्ता स्थल घुमघामका लागि रमणीय छन् ।

विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटको कार्यालय सचिव रामबहादुर क्षत्रीका अनुसार सो क्षेत्रमा १०८ फिट अग्लो विश्वशान्ति कलश, पाँच हजार ५५५ किलोको महाघण्टा, ध्यानकेन्द्र, योगशाला निर्माणाधीन अवस्थामा रहेको छ । उच्च शिक्षाका लागि राजधानी छिरेका युवा गाउँ फर्केर होटल, रेष्टुरेन्ट, खाजा पसल सञ्चालन गरी आफ्नै गाउँमा स्वरोजगार बन्ने प्रयास गरिरहेका छन् ।

पञ्चकोटको विकास भएपछि जिल्लाको पर्यटन क्षेत्रमा नयाँ पहल सुरु भएको छ । आर्थिक क्षेत्रमा पनि त्यसको प्रभाव देखिएको होटल व्यवसायी अर्जुन चोखाल बताउनुहुन्छ । पञ्चकोट क्षेत्रको विकास भएपछि भान्सा, सीमा र पञ्चकोट आसपासको बसाइँसराइ रोकिएको बागलुङ नगरपालिका–६ का वडाध्यक्ष खिम सापकोटा बताउनुहुन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?