logo
२०८१ मंसिर १० सोमवार



उत्पादन क्षेत्रमा लगानी बढाउन सहकारीलाई सुझाव

अर्थ |


उत्पादन क्षेत्रमा लगानी बढाउन सहकारीलाई सुझाव


विष्णुप्रसाद पोखरेल

दमक, फागुन ८ गते । सहकारी अगुवाले सहकारी संस्था अधिकतम रूपमा उत्पादन क्षेत्रमा लागि पर्नुपर्ने बताउनुभएको छ । झापाको दमकमा रहेको मेची सहकारी संस्थाको रजत वर्षको सन्दर्भमा शनिबारदेखि आयोजित दुईदिने प्रदेशस्तरीय छलफलमा सहभागीहरुले यस्तो बताउनुभएको हो । सहकारी अभियानका अगुवा एवं पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले आर्थिक उन्नति र गरिबी निवारणका लागि सहकारीको भूमिका महत्त्वपूर्ण रहने धारणा व्यक्त गर्दै सहकारी क्षेत्रले अब उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

बाँस्कोटाले सहकारी क्षेत्रको समस्या समाधानका लागि सहकारी क्षेत्र नै बढी जिम्मेवार हुन सुझाव दिनुभयो । सहकारी क्षेत्रका समस्या यस क्षेत्रभित्रैबाट समाधान गर्नुपर्ने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “सहकारीलाई सहकारीका रूपमा नै चलाउनुपर्छ, बैङ्कका रूपमा चलाउनु हुँदैन । ” प्रदेश १ का सहकारी रजिस्ट्रार बलराम निरौलाले सहकारीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सहकारी संस्थाको कारोबार र कामलाई व्यवस्थित गर्न सहकारी ऐन र नियमावलीमा समयानुकूल रूपमा परिमार्जन आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारीलाई व्यवस्थित गर्न सरकारले प्रयास गरिरहेको पनि जानकारी दिनुभयो ।

रजिस्ट्रार निरौलाले शिक्षा, तालिम र सूचनाको माध्यमबाट सहकारीको सैद्धान्तिक र कानुनी प्रक्रियाबारे व्यापक प्रचारप्रसार गर्नुपर्ने, उत्पादनशील क्षेत्रमा सुरक्षित लगानी गर्नुपर्ने, संस्थागत संस्कार र सुशासन, सहकारी संस्थाको एकीकरण, व्यावसायिक वातावरणको सिर्जना गर्नुपर्ने कानुनमा समयसापेक्ष परिमार्जन तथा एकरूपता ल्याउनुपर्ने बताउनुभयो । सहकारी अगुवा एवं राष्ट्रिय सहकारी महासङ्घका पूर्वसञ्चालक सदस्य रामचन्द्र उप्रेतीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आवश्यक आधार भने अहिलेको ऐन, कानुनले नदिएको बताउनुभयो ।

राष्ट्रिय सहकारी महासङ्घकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङले अर्काे कार्यपत्र प्रस्तुत गर्दै नेपालको संविधान, सरकारको आवधिक योजना, नीति तथा कार्यक्रमद्वारा सहकारी क्षेत्र प्राथमिकतामा राखिनु राम्रो पक्ष भएको बताउनुभयो । पुँजी निर्माण, वित्तीय समावेशीकरण, रोजगारी सिर्जना, दिगो विकास लक्ष्य कार्यान्वयनमा पनि सहकारीको भूमिका र योगदान रहेको थाम्सुहाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल सहकारी संस्थाका सदस्यको सङ्ख्या ७३ लाख सात हजार ४६४ रहेको छ । २९ हजार ८८६ वटा प्रारम्भिक सहकारी संस्था सक्रिय रहेको र यसमा ८८ हजार ३०९ जनाले रोजगारी पाएको पनि थाम्सुहाङले बताउनुभयो । सुब्बाका अनुसार सहकारीको कुल सेयर पुँजी ९४ अर्ब १० करोड रुपियाँ रहेको छ । राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष रमेश पोखरेलले सहकारी संस्थाले उत्पादनको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिन सक्ने बताउँदै यसमा अब सहकारी संस्था र सहकारीकर्मी अग्रसर हुनुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?