logo
२०८१ बैशाख १८ मंगलवार



हाँस पालेर दाजुभाइले गरे राम्रो आम्दानी

अर्थ |
प्रदेश |


हाँस पालेर दाजुभाइले गरे राम्रो आम्दानी


जीबछ यादव
लहान, फागुन ८ गते । सखुवानन्कारकटि गाउँपालिका –५ महेश्वारीका पशुपति यादव र अमित यादवले हाँस पालेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । विदेशबाट आएका दुबै दाजु भाइले आफ्नै गाउँठाउँमा केही गरेर कमाइ गर्नुपर्छ भन्ने उद्देश्यले हाँस, माछा र बाख्रा पालन शुरु गरेर राम्रो आम्दानी गर्न सफल हुनुभएको हो ।

सोह्र सय हाँस पाल्नुभएका पशुपति यादवकाअनुसार ६ महिनासम्म हाँसले अण्डा दिन थालेका छन् । सबै खर्च कटाएर पाँच हजारको दरले दैनिक बचत भइरहेको यादवले बताउनुभयो । “६ महिना हाँसले अण्डा नदिँदा माछा र बाख्रा पालनबाट आउने आम्दानीले हाँसको दाना खुवाउन पुग्छ” उहाँले भन्नुभयो ।

गाउँमा पर्याप्त जग्गा जमीन भएर पनि आफूहरु विदेश गएको उहाँहरुको भनाई छ । विदेशबाट आएर आफ्नै जग्गा जमिनमा केही गरौं भन्ने सोच बनाएर एक विघा जग्गामा माछापालन, दशबटा उन्नत जातको बाख्रा, हाँस पालेर दुई वर्षमा अनुभव बटुलेको उहाँहरुको भनाई छ । अब भैसी र गाई समेत पालन गर्ने सोच बनाइ सकेको उहाँहरुले बताउनुभयो ।

ठूलो कृषि फर्मको रुपमा विस्तार गर्न लहानस्थित कृषि विकास बैंकबाट ऋणका लागि आवेदन दिएपछि बैंकले पालेको हाँस, माछा र बाख्रा पालन देखेर मागेजति ऋण दिइने अश्वासन पाएको पशुपति यादवले बताउनुभयो ।

“पोखरीबाट उत्पादित् माछा, हाँसको अण्डा र खसी बिक्री गर्न बजार जानु पर्दैन, ब्यापारीहरु घरैबाट नगदमा खरिद गरेर लग्ने गरेका छन्” यादवले भन्नुभयो, “हामी दाजुभाइले त रोजगारी पायौं नै, अरुलाई पनि रोजगारी दिन सफल भएकोमा खुसी लागेको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?