logo
२०८१ मंसिर ८ शनिवार



कपडा पेल्ने मेसिनले राम्रो आम्दानी

अर्थ |
समाज |


कपडा पेल्ने मेसिनले राम्रो आम्दानी
कपडा पेल्ने मेसिनले कपडा पेल्दै धुनियाँहरु । तस्विर - माला कर्ण



माला कर्ण
कल्याणपुर, फागुन १० गते । सिरक र डसना बनाउनको लागि धुनिया खोजेर ल्याउनुपर्नै बाध्यतालाई सहज गरिदिएको छ, चलता फिरता मेसिनले । अहिले घर घर पुगेर पुराना फालिएका कपडाहरु पेलेर नयाँ र आकर्षक सिरक डसना बनाइदिने गरेको छ, यो मेसिनले । त्यही मेसिनको प्रयोगबाट मानिसको जीवनयापन पनि सहज भएको छ । मेसेनरी उपकरणकै प्रयोगबाट धेरैले राम्रो कमाई गरिरहेको उदाहरण पात्र हो नेपालको गौर नजिकै भारतीय बजारका बासिन्दा अहमद अकसर ।

अकसरसँगै सहरुम मिँया र अन्य तीन जनागरी पाँच जनाको टीमले सप्तरीको गाउँगाउँमा पुगेर पुराना कपडाबाट डसना, सिरक र तकिया बनाएर राम्रो आम्दानी गरिरहेको छ । उहाँहरु भारतीय नागरिक हुनुहुन्छ । उहाँको घर भारत बिहार राज्यको पूर्वीचम्पारण जिल्ला पचभिडिया गाउँमा हो जुन नेपालको गौर छेउमा पर्दछ । तर अहिले उहाँहरु सप्तरीको कल्याणपुर बजार, राजविराज, कठौनालगायतका बजार तथा गाउँहरुमा गएर आफ्नो मेसिनको प्रयोग गरी राम्रो आम्दानी गरिरहेका छन्।

एकसातादेखि सप्तरीको खडक नगरपालिकाको कल्याणपुर, विसनपुर, रंजितपुर, खरचुहियालगायतका बजार तथा गाउँहरुमा मेसिन लगेर सिरक, डसना बनाउँदै आएको छ । मेसिनबाट पुराना कपडाहरुको धुलाई गरी रुई बनाएर डसना, सिरक र तकिया बनाएर लोभलाग्दो आम्दानी गरिरहेका छन् । गाउँ गाउँमा उहाँहरु मेसिन लगेर जानुहुन्छ र पुराना कपडा धुलाई गर्नेहरुको भीड बढ्छ । धुनियाले यो कामबाट प्रत्येक जनालाई दैनिक चार हजारदेखि पाँच हजारसम्म आम्दानी भइरहेको बताउनुभयो।

करिब २० वर्षदेखि यो मेसिन राखेर काम गरिरहेको र यसबाट राम्रो आम्दानी भइरहेको अकसरले बताउनुभयो । दैनिक बिहानदेखि बेलुकासम्म गाउँ गाउँमा मेसिन लगेर जान्छन् । त्यहाँका स्थानीयहरुको घरमा भएका र कामै नलाग्ने पुराना कपडाहरु पेलेर रुई बनाउने मात्रै होइन त्यसै रुईबाट जाडो छल्ने सिरक र डसना बनाउने गरेको र त्यसको लागि आवश्यक पर्नै कपडा पनि सँगै लिएर बेच्ने गरेको उहाँले बताउनुभयो ।

पुराना कपडाहरुको सदुपयोग भएपछि स्थानीय बासिन्दाहरुले पनि आफूसँग खुसी व्यक्त गर्ने गरेको उहाँले सुनाउनुभयो । पुराना थोत्रा कपडा मेसिनमा पेलेर रुई बनाएवापत प्रतिकिलो रु. २० र सिलाइवापत् डसना र सिरकको साइज हेरी रु. पाँच सयदेखि आठ सयसम्म लिने गरेको र कपडाको दाम छुट्टै लिने गरेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?