logo
२०८१ जेष्ठ ३ बिहीवार



विमानस्थल सञ्चालनमा आउने भएपछि लुम्बिनीमा होटलमा लगानी बढ्यो

अर्थ |
प्रदेश |


विमानस्थल सञ्चालनमा आउने भएपछि  लुम्बिनीमा होटलमा लगानी बढ्यो


लक्ष्मण पौडेल
भैरहवा, फागुन ११ गते । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि रुपन्देहीमा पर्यटकलक्षित ठूला र स्तरीय होटलमा लगानी बढ्न थालेको छ । बुद्ध जन्मस्थल लुम्बिनी नजिक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी भएसँगै व्यवसायीले स्तरीय होटल तथा रेष्टुराँहरुमा लगानी बढाएका हुन् ।

होटल व्यवसायी संघ रुपन्देहीकाअनुसार अहिले रुपन्देहीका होटलको दैनिक क्षमता १५ हजारभन्दा बढी छ । “करिव १५ हजार पर्यटकलाई एकै रातमा राख्न सक्ने क्षमता यहाँका होटलहरुमा छ” संघका अध्यक्ष रामप्रसाद गौतमले भन्नुभयो ।

सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठकाअनुसार भैरहवामा एक रातमा चार हजार बढी पाहुनालाई स्तरीय होटलमा राख्न सकिन्छ । त्यस्तै, लुम्बिनीमा एक रातमा पाँच हजार पर्यटकलाई राख्न सकिने सिद्धार्थ होटल एशोसिएशन लुम्बिनी शाखाका अध्यक्ष मिथुनमान श्रेष्ठले बताउनुभयो ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका महासचिव माधव खनालकाअनुसार रुपन्देहीमा एक हजार बढी पर्यटकस्तरका होटल रहेको र एक रातमा १५ हजार पाहुनालाई बास बसाल्न सकिन्छ । बुटवलमा १४ सय र भैरहवामा ११६ वटा साना ठूला होटल सञ्चालनमा छन् ।

पर्यटन व्यवसायमा राम्रो सम्भावना देखेर व्यवसायीहरुले पुराना होटलको स्तरोन्नति मात्रै गरेका छैनन्, विदेशी पर्यटकलक्षित रेष्टुराँ, क्लब र क्यासिनोमा समेत लगानी बढाएका छन् । भैरहवा र लुम्बिनीमा थप आधा दर्जन तारे होटल निर्माणको चरणमा छन् । हाल रुपन्देहीको भैरहवा, लुम्बिनी, तिलोत्तमा, बुटवल र आसपास ठाउँमा साना–ठूला गरी करिब एक हजार दुईसय होटल तथा छ सय रेष्टुराँ सञ्चालनमा छन् ।

बुटवल–भैरहवा सडकखण्डको कोटिहवाबाट एक किलोमिटर पश्चिम बाउन्नकोटी सामुदायिक वन नजिकै पाँच अर्ब बढी लगानीमा टाइगर प्यालेस पाँचतारे होटल सञ्चालनमा छ । यो रुपन्देहीकै पहिलो पाँचतारे होटल हो । त्यस्तै, लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर भैरहवा–लुम्बिनी सडकखण्डमा पवन हलुवाईसहितको तीन अर्ब लगानीमा अर्को पाँच तारे होटल पवन प्यालेस इन्टरनेसनल पनि सञ्चालनमा आइसकेको छ ।

रुपन्देहीको मणिग्राममै रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा पूर्वाधार थपेर एक अर्ब बढी लगानी गरी चारतारे स्तरको बनाइएको छ । भैरहवा–परासी सडकखण्डको बसन्तपुरमा एक अर्ब बढी लगानीमा सञ्चालित बोधी रेड सन होटल पनि स्तरोन्नति गरेर चारतारे स्तरको बनाइएको छ ।

मणिग्रामका ट्याक्टर व्यवसायी बालकृष्ण भुसालले एक अर्बभन्दा बढी रुपियाँ लगानीमा बेलहियामा तारे होटल मेघा निर्माण गरिरहनु भएको छ । काठमाडौँ रिद्धिसिद्धी समूहले गौतमबुद्ध विमानस्थल नजिक चार तारे होटल बनाइरहेको बताएको छ । भैरहवाकै आशा गुरुङले भैरहवामा अर्गानिक परिकारको विशेषतासहित चार तारे होटल निर्माण गर्नुभएको छ । कृष्ण घिमिरेको समूह भैरहवा बुद्धचोकमा पाँचतारे होटल बनाउने तयारीमा छ ।

लुम्बिनीमै डेढ अर्बभन्दा बढी विदेशी लगानीमा होटेल बुद्धमाया गार्डेन सञ्चालनमा छन् । लुम्बिनीमै जापानी नागरिक नोर्बु कासाईले डेढ अर्ब बढी रुपियाँ लगानीमा पाँच तारे होटल कासाई सञ्चालन गर्नुभएको छ । लुम्बिनीभित्रै एक अर्बभन्दा बढी लगानीका होटल होक्के, लुम्बिनी गार्डेन र न्यु क्रिस्टल होटल पनि सञ्चालनमा छन् ।

भैरहवा र लुम्बिनीमा मात्रै पर्यटकस्तरका ११३ होटल सञ्चालनमा रहेका छन् । यिनमा ३० अर्ब बढी लगानी भएको सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष श्रेष्ठको भनाई छ । तर जिल्लाभरको लगानी भने करिव ५० अर्व रुपियाँ पुगेको संघको अनुमान छ ।

लुम्बिनीमा थप ११ वटा होटल बन्ने क्रममा छन् । सम्भावना राम्रो देखेपछि होटल व्यवसायमा स्थानीय मुस्लिम समुदायका उद्यमीले पनि लगानी गर्न थालेका छन् । रुपन्देहीमा सञ्चालित होटेलमा हालसम्म करिब बीस हजारले रोजगारी पाएको संघका महासचिव खनालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?